झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

झापाको कमल गाउँपालिका २ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या गरेको आरोपमा २३ वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो। 

उनले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ। 

दुई जनाको हत्या गरेलगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-02 08:25:00

प्रतिकृया दिनुहोस्