आठ वर्षदेखि फरार रहेका बलात्कारका आरोपित पक्राउ

बलात्कारको आरोपमा आठ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको केराबारी गाँउपालिका ८ का ३१ वर्षीय अशोक बस्नेतलाई पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटेको प्रहरीले बिहिबार बस्नेतलाई पक्राउ गरेको छ। बस्नेतलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न प्रकाश थापालाई प्रहरीले पक्राउ गरे पनि बलात्कारका दोषी ठहर गरिएका बस्नेत फरार रहँदै आएका थिए। १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा बस्नेतसहित तीन जनालाई जिल्ला अदालत मोरङले सजाय र जरिवानाको फैसला गरिसकेको थियो। 

२०७१ साल जेठ ९ गते ती बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा सामूहिक रूपमा बलात्कार गरेका थिए। घटनामा संलग्न रहेका तीन जनामध्ये हालसम्म दुई जनालाई मात्र पक्राउ गरेको छ। एक आरोपित अझै फरार छन्। 

इलाका प्रहरी कार्यालय दर्ता गरेको जबरजस्ती करणी मुद्दामा तीनै जनालाई २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले प्रत्येकलाई १३ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रकाशित मिति: : 2022-09-16 11:07:00

प्रतिकृया दिनुहोस्