माओवादी पार्टी रहँदासम्म नराम्रो काम हुन दिन्नौँः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा माओवादी पार्टी रहँदासम्म नराम्रो काम हुन नदिने बताएका छन्।

नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले 'भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने साइनबोर्ड राखेर भित्र बाहिर भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू बताएका छन्।

उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने बताएका छन्। 

‘कैयौं प्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेका छौं, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड बाहिर टाँग्ने र त्यो साइनबोर्डभित्र बसेर भ्रष्टाचारबाहेक केही नगर्ने,’ उनले भने।

मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने उनले बताएका हुन्। निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगती, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिन्छ भन्ने आफूलाई विश्वास रहेको प्रचण्डले जनाएका छन्।

‘के कारणले भयो यस्तो? यो व्यक्तिको मात्र दोष हो कि यो प्रणालीमा कहीं खोट छ भन्ने कुरा हामी सबैले विचार गर्नुपर्ने विषय हो’, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै लक्षित गरी अध्यक्ष प्रचण्डले माओवादी, गणतन्त्र, समावेशी र समानुपातिक पद्धतिसँग उनी असन्तुष्ट रहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: : 2022-09-15 13:12:00

प्रतिकृया दिनुहोस्