झन्डै ६ देखि १० हजार वर्षयताबाट सभ्यताको विकास भएसँगै मानव जाति पृथ्वीकै विवेकशील प्राणीको रूपमा दरिएको छ। त्यही मानव जातिले नै प्रारम्भिक दिनदेखि नै आफ्नो उत्पत्तिबारे सोच्न थालेका हुन्, अचम्म मानेका हुन्।
हामी जब प्रागैतिहासिक अवस्थाका बारेमा सोच्छौं, तब अनौठो र असाधारण जीवजन्तु र वनस्पतिहरूको समूह घुम्न थाल्छन्। नियन्डरथल मानिस, महाकाय जीव म्यामथ्स, डायनोसोर, एमोनाइटस, ट्राइलोबाइट्सलगायतका कयांै जनावरको आकृति हाम्रो सामु आउँछन्। कुनै समय यो धर्तीमा जीवनशून्य थियो भनेर पनि सोच्न पुग्छौं। यस्तै केवल चरम सरलताको सूक्ष्म जीव आदिम महासागरमा तैरिरहेका आकृतिहरू पनि छन्।
मानव समुदायमा सदैव उठ्ने एउटा प्रश्न हो, हामीलगायत सूक्ष्म जीवदेखि भीमकाय जीव, र फरक–फरक प्रजातिका वनस्पतिहरू यो धर्तीमा अलग–अलग रूपमै अस्तित्वमा आएका हुन् वा उनीहरू सबै एउटै पुर्खाका वंशजहरू हुन् ? पुरातन ग्रीक तथा रोमन विद्वान्हरूले यो विषयलाई निकै महत्त्व दिए। विभिन्न विचार अघि सारे। ३२२ ईशापूर्वअघि अरस्तुलगायत अधिकांश चिन्तक स्वतः स्फुरित वंश प्रणालीको विकासजस्ता विचारमा केन्द्रित थिए।