ओझेलमा जीवनको जग

सम्पूर्ण विकासको जग बालविकासलाई बेलैमा ध्यान दिन सकियो भने भविष्यमा मुलुकले सक्षम र दक्ष नागरिक पाउन सक्नेछ।

आवधिक निर्वाचन राजनीतिक दल तथा उम्मेदवारले आफ्नो विकास र समृद्घिको मार्गचित्र प्रस्तुत गर्ने सुनौलो अवसर हो। त्यस किसिमको मार्गचित्रमा दलहरूको सिद्घान्तको रसायन लेपन भएको हुन्छ। शिक्षित र चिन्तनशील नागरिक भएको समाजले त्यही मार्गचित्र हेरेर मतादेश दिन्छन्। हामीकहाँ पनि प्रतिबद्घतापत्र तथा घोषणापत्रका नामबाट निर्वाचनका बेलामा यस्ता काम हुने गरेका छन्। घोषणा कार्यान्वयनको अवस्था अलग विश्लेषणको पाटो हो।

केही महिनाअघि सम्पन्न निर्वाचनको बेलामा पनि दलहरूले घोषणापत्रमार्पmत विकास निर्माणका सम्बन्धमा यस्ता प्रतिबद्घता जनाउने काम गरेका थिए। त्यस किसिमका घोषणापत्रमा बालबालिकाका विषय कतिको सारगर्भित रूपमा उठेको छ भन्ने विषयले बालबालिकालाई राजनीतिक दलहरूले कतिको महत्त्व दिएका छन् भन्ने कुरा उजागर हुन्छ। यो अलग विश्लेषणको पक्ष बन्न सक्छ।

बाल्यावस्था जीवनको जग

सबै प्रौढ वयस्कहरूको जिन्दगीको जग बाल्यकाल हो। संघर्षपूर्ण जन्म र त्यस्तै प्रकारको हुर्काइबाट वयस्क तथा प्रौढ जीवनमा पदार्पण विकासको नियमित गतिसँगै अघि बढ्छ। परिपक्व अर्थात् वयस्क जीवनको आधार बाल्यजीवन हो। विभिन्न अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान तथा स्नायुविज्ञहरूको खोजले मानिसको मस्तिष्कको अधिकतम विकास आठ वर्षभित्रै भइसक्ने निष्कर्ष निकालिएको पाइन्छ। पूर्वीय दर्शन तथा पुराणहरूमा बाल्यजीवनको महत्त्व हजारौं वर्षपहिले नै उल्लेख गरिएका छन्। बालबालिकाको विकास गर्भावस्थादेखि नै प्रारम्भ हुने हुनाले त्यस अवस्थामा आमाले पाउने व्यवहारले जन्मने शिशुमा प्रभाव पार्ने गर्छ।

पौराणिक आख्यानका पात्र अभिमन्यु, अष्टाबक्र र प्रह्लाद यसका दृष्टान्त हुन्। यस कुरालाई वर्तमानमा गरिएका अनुसन्धानले पनि औंल्याउँदै आएका छन्। जन्मपश्चात् बालबालिकाले पाएको खाना, अन्तक्र्रियात्मक घरायसी र सामाजिक वातावरण खेल, सिकाइ तथा मनोरञ्जनका अवसर आदिले उनीहरूका सामाजिक तथा नैतिक, बौद्घिक, भाषिक, संवेगात्मक र शारीरिक विकास निर्धारण हुने र यी सबैको समष्टिगतस्वरूप सर्वाङ्गीण विकास हुने तथ्य स्पष्ट छ। बाल्यावस्था नै जीवनको जग भएकाले भोलिका नागरिक कस्ता बन्छन् भन्ने कुरा बालबालिकामा आज गरिएको लगानीले निर्धारण गर्छ। सबैको जीवनको प्रारम्भ त्यही अवस्थाबाट हुने भए पनि वयस्क भएपछि त्यसलाई बिर्सने गरिन्छ। बाल्यजीवन आवश्यकता बोध गर्न नसक्ने र त्यसका आवाज उठाउन नसक्ने भएकाले वयस्क तथा प्रौढहरूको विवेकमा निर्भर हुन्छ।

ओझेलमा बालबालिकाका विषय

मुलुकमा भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ। निर्वाचनका घोषणापत्रमार्पmत युवा, प्रौढ र वृद्घका खातिर कल्याणकारी काम गर्ने वाचा र प्रतिबद्घता आएका छन्। केही मुख्य राजनीतिक दलहरूले प्रारम्भिक बालविकास शिक्षाको पहुँच विस्तार, सिकाइ केन्द्रित शिक्षा, जागरुक अभिभावक बनाउने, स्थानीय तहमा पार्क बनाउने, सुत्केरी सहायता तथा मातृशिशु सुरक्षाका विषय आफ्ना घोषणा र प्रतिबद्घता पत्रमा उल्लेख गरेका छन्। गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र पौष्टिक आहारा वितरणका कुरा पनि दलका घोषणापत्रमा उल्लेख गरिएका छन् जुन वर्षौंदेखि चलिआएको छ। उल्लेख गरिएका यी पक्षहरू विषयगत रूपमा आएका छन्।

कतिपय दलहरूले घोषणापत्रमा बालबालिकाका विषयलाई खासै उल्लेख गरेका छैनन् भने कतिपयले यसलाई औपचारिकताका लागि मात्र उल्लेख गरेका छन्। बालबालिका चर्चित कार्यक्रमभित्र नपर्नुका विभिन्न कारण हुन सक्छन्। पहिलो, निर्वाचनमा बालबालिकाले मत खसाउँदैनन्। दोस्रो, उनीहरूसँग आवाज छैन। तेस्रो, उनीहरूका सर्वांगीण विकासका लागि स्थानीय निकायले के कस्ता भूमिका खेल्नुपर्ने हो ? कहाँ कहाँ के विषयमा लगानी गर्नुपर्ने हो भन्ने विषयगत ज्ञानको अभाव र चौथो बालबालिकाको विकाससँग जोडिने मतदाताको संख्या न्यून।

बालबालिकाका आवश्यकता र अवस्था

खेल, मनोरञ्जन, पौष्टिक आहारा, सुरक्षा र उचित अन्तरक्रियात्मक वातावरण प्रारम्भिक बाल्यजीवनका आधारभूत आवश्यकता हुन्। खेल शारीरिक विकासका लागि मात्र नभएर बौद्घिक विकास, नेतृत्व, सञ्चार सीप तथा सामाजिकीकरणको माध्यम हो। तर, बालबालिकाले खेल्ने स्थान पाएका छैनन्। सहरी तथा बजार क्षेत्रलाई हेर्ने हो भने बालबालिकाले निस्किने र साथी बनाएर खेल्ने ठाउँसम्म छैन।

पाँच वर्ष कटेका बालबालिकाले खेल्ने अवसर त्यतिबेला पाउँछन्, जतिबेला बन्दाबन्दी वा नेपाल बन्द हुन्छ। मनोरञ्जनको अवस्था झनै दयनीय छ। प्रौढले बालबालिकालाई आपूmले हेर्ने गीत संगीत वा भजनकीर्तनलाई नै बालबालिकाको मनोरञ्जनको साधन ठानेका छन्। परिणामतः बालबालिका प्रकृतिप्रदत्त, सामाजिक तथा सांस्कृतिक वातावरणसँग कम साक्षात्कार भइरहेका छन्। उनीहरूका प्रतिभा र सिर्जनात्मक क्षमताले उजागर हुने अवसर गुमाइरहेको हुन्छ। यो अवसर नहुनाले बालबालिकाको समग्र विकासका कुनै न कुनै पक्षलाई प्रभावित तुल्याइरहेको छ। विद्यालयको दिवा खाजा र वर्षमा एकपटक वितरण गरिने भिटामिन ए क्याप्सुललाई पर्याप्त देख्ने हाम्रो आँखा त्यतिकै जिम्मेवार छ।

जन्मपूर्व र जन्मपछिका अवस्था दुवै सुरक्षित हुनुपर्ने हो तर सुरक्षाको दृष्टिकोणले बालबालिका निकै जोखिममा छन्। सहर बजारमा बाबुआमाले बनाएका घरटहराबाट असुरक्षित छन्। गाउँघरमा नदीनाला, खहरे, पोखरी, भीरपाखा, अग्निप्रकोप आदिबाट असुरक्षित छन्। यीबाहेक पैसाका लागि गरिने अपहरण बालयौन दुराचार र करणीबाट बालिका असुरक्षित छन्। कतिपय विद्यालयमा अभैm पनि भय र दण्डबाट असुरक्षित छन्। सडकमा यातायातबाट असुरक्षित छन्। भुस्याहा कुकुरको आक्रमण र टोकाइबाट असुरक्षित छन्। अपांगता भएका व्यक्ति, अनाथ र टुहुराहरूको अझ भयावह अवस्था छ।

मस्तिष्क विकास र सिकाइसँग जोडिएको अन्तरक्रियात्मक वातावरण निर्माणमा झनै ठूलो समस्या छ। निम्न वर्गका बालबालिकाका बाबुआमा सधैं काममा हुन्छन्। सहर बजारका बाबुआमा या त आफ्नै पेसामा ज्यादा ध्यान दिन्छन् या बोल्न थालेदेखि नै अनेक नाम गरेका घोकाइ केन्द्रहरूमा पठाउँछन्। वा डिजिटल सामग्री भिडाएर अल्मल्याउँछन्। कैयौं विद्यालय पाठ्यपुस्तक घोक्ने र परीक्षाको नाममा ओकल्ने स्थान मात्र बनिरहेको छ। यस हिसाबले हेर्दा बालबालिकाले जुनसुकै भूगोल र क्षेत्रमा बसे पनि उचित अन्तरक्रियात्मक वातावरण पाउन सकिरहेका छैनन्।

स्थानीय तहको अपेक्षित भूमिका

स्थानीय तह र अन्य सरकारी निकाय बालबालिकाप्रति संवेदनशील हुने हो भने बालविकास र गर्भवती आमाको स्याहार–सुसारसँग जोडिएका र अन्तरसम्बन्धित विषयवस्तुको पहिचान गरी ती क्षेत्रको विकास कसरी गर्ने भन्ने रणनीतिक योजना बनाउनु जरुरी छ। ती कार्यक्रमलाई विस्तार गर्ने र सहज बनाउने काम स्थानीय तहले गर्दा यसको प्रभावकारिता अवश्य बढ्ने छ।

सहर बजारमा आवश्यक तर ध्यान नपुगेको अर्को पक्ष बालबालिकाका लागि उद्यान तथा पार्क हो। खेल तथा मनोरञ्जन सामग्रीसहितका यस्ता पार्कहरू टोलटोल र वडावडामा हुनु आवश्यक छ। यस्ता खेल पार्कसँग ज्येष्ठ नागरिकलाई पनि जोडियो भने एक कामले दुई लक्ष्य पूरा गर्छ। ज्येष्ठ नागरिकले बालबालिकालाई खेल तथा मनोरञ्जनका लागि त्यहाँ लैजान सक्छन्। यसले बालबालिकाको सर्वांगीण विकास मात्र होइन, ज्येष्ठ नागरिकको स्वास्थ्यलाई समेत सघाउ पुर्‍याउन सक्छ। नयाँ पुस्तालाई खेलाउने, कथा सुनाउने, हाम्रो पुरानो संस्कृति नै हो, जुन आधुनिकताले किचेको अवस्था छ। यस प्रकारको व्यवस्थाले यसलाई पुनर्जागरण गराइदिन सक्छ। यस्ता सार्वजनिक पार्कहरूले बालबालिका र प्रौढहरूको स्वास्थ्यको पक्षमा मात्र होइन, सामाजिकीकरणको पक्षमा पनि काम गर्छ।

स्थानीय तहले बालबालिकाको पक्षमा संवेदनशील भएर ध्यान पुर्‍याउनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हो घोकाइस्थल र केन्द्रहरूलाई सिकाइ केन्द्रमा रूपान्तरण गर्नु। कम्तीमा चार वर्ष उमेर पूरा भएपछि मात्र पूर्वप्राथमिक शिक्षा वा बालविकास केन्द्रमा पठाउने व्यवस्था कायम भयो भने यस प्रकार बनाइने उद्यान तथा पार्कहरूको थप महत्त्व बढ्न सक्नेछ। यस्ता उद्यान र पार्कहरू आफैं सिकाइ तथा विकास केन्द्रका रूपमा विकास हुन थाल्नेछन्। बालबालिकाका रुचिअनुसार तयार गरिने श्रव्य, दृश्य र श्रव्यदृश्य सामग्रीहरूको उपलब्धता र प्रयोग त्यतिकै महत्त्वपूर्ण छ। यसलाई उपलब्ध गराउने, प्रभावकारी ढंगले व्यवस्थापन गर्ने गराउने विषय बालविकाससँग जोडिएको विषय हो।

माथिल्ला कक्षा सञ्चालन भएका विद्यालयहरूले माथिल्ला कक्षालक्षित पुस्तकालय र पुस्तक जोड्ने तल्ला कक्षाका विशेषत प्रारम्भिक बालविकास अवस्थाका बालबालिका बेवास्तामा पर्ने गरेका धेरै उदाहरण छन्। तसर्थ पहुँच विस्तार र त्यसको सही प्रयोगका सम्बन्धमा स्थानीय तहका शिक्षा शाखाहरूलाई क्रियाशील बनाउनु पर्छ। बालबालिका र ज्येष्ठ नागरिकसमेतको सुरक्षाको विषय निकै गम्भीर छ। सम्पूर्ण विकासको जगको रूपमा रहेको बालविकासलाई बेलैमा ध्यान दिन सकियो भने भविष्यमा मुलुकले सक्षम र दक्ष नागरिक पाउन सक्नेछ।

बालसाहित्यकार खनाल बालबालिकाका क्षेत्रमा कलम चलाउँछन्

प्रकाशित मिति: : 2022-09-06 09:20:00

प्रतिकृया दिनुहोस्