आज नेपाली मिडियाहरु निहारिका राजपुतको विषय उठाएर माहोल तताउने जमर्कोमा देखिन्छन्। समय समयमा यसरी संवेदनशील विषयहरु उठाएर नेपालीहरुको दिमागमा घण्टी बजाउने काम मिडियाहरुको अवश्य छ। कति यस्ता विषयहरु छन्, जुन उठाइयो भनेर मानिसहरु आतङ्कित हुन्छन् तर त्यसको वास्तविकता अर्कै पट्टी रहन्छ।
यथार्थ, तथ्यपरक सन्दर्भभन्दा बढी प्रचारात्मक व्यापार पट्टी लाग्नाले कहिलेकाहीँ हाम्रा सञ्चार माध्यमहरु आलोचित र तिरस्कृत पनि हुने गरेका छन् भने अर्कोतिर प्रचार सामाग्री विकाउनकै निमित्त समाजभित्रका कमजोर पात्रलाई उचालेर सार्वजनिक होहल्ला पनि धेरै सञ्चार माध्यमले गराउने र गर्न लगाएर आफ्नो व्यवसाय फस्टाउने पट्टी पनि लाग्ने देखिन्छ।
कमजोर पात्रको निरिहतालाई टाठाबाठाको कौडी बनाइनु निक्कै दुःखको कुरा हो भने सबै सञ्चार माध्यमहरुले व्यवसायिक फाइदाका लागि मात्र पनि त्यस्ता पात्रहरुलाई उठाएको पाइन्न। हाम्रो समाजमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तनका पछाडि सञ्चार माध्यमको भूमिका एक नम्बरमै आउँछ भन्ने स्पष्ट तथ्य पनि भुल्न हुन्न। धेरै उठाइएका विषयहरुमध्ये निहारिका राजपुतको विषय आजभोलि एउटा तरङ्ग उत्पन्न गर्ने विषय बनेको छ। सम्बन्धित निकायले सुन्न र सत्यतथ्य छानबिन गर्न सकेको छैन होला, तर पनि एकपटक नसुनी धरै नपाइने गरी यो विषय सडकमा छरपष्ट चाहिँ भएकै छ।
के निहारिका साच्चिकै बलाकृत महिला हुन्? के उनले जन्माएको सन्तान बलात्कार पछाडि नै जन्मिएको हो? उनले बलात्कार गर्यो भनेको व्यक्तिले साँच्चिक्कै बलात्कार गरेको हो? निहारिका राजपुतको सन्तान र उनले आरोप लगाएको व्यक्तिको डीएनए टेष्ट गर्दा म्याचिङ्ग सफल हुन्छ त? या यो आरोप मात्रै हो कि सत्य घटना हो? यसको निष्कर्ष के हुन सक्छ? प्रमाणित हुन्छ या हुदैँन? भएमा के गरिन्छ र नभएमा के गरिन्छ? के निहारिका राजपुत र शिवराज श्रेष्ठको मिलन हो त? निहारिकाले किन यसरी सडकदेखि राष्ट्रपति कार्यालयसम्म संघर्ष गरिरहेकी छिन्? यी र यस्ता कयौँ प्रश्नहरुको जवाफ खोज्दै आज उनको विषयमा सुन्ने, देख्ने हरेक व्यक्तिहरु छलफल गरिरहेको अवस्था छ।
बलात्कार ठहर हुनलाई कानुनमा के–के व्यवस्था छ त? थोरै टिप्पणी- अपराध संहिता २०७४ को दफा २१९(१) मा जबर्जस्ती करणी गर्न नहुने भनि व्यवस्था गरिएको छ भने दफा २१९(२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ भनी व्यवस्था गरिएको छ।
उपदफा (२) को (क) मा व्यवस्था छ, ‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक बनाइ दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।’ उपदफा (२) को (ख) मा व्यवस्था छ, ‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।’ त्यस्तै उपदफा (२) को (ग) मा ‘गुद्द्दार वा मुखमा लिङ्ग पसाएमा, गुद्द्दार, मुख वा यौनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जर्वजस्ती करणी गरेको मानिनेछ’ भनी व्यवस्था गरिएको छ।
त्यसैगरी बलात्कारकै अर्को व्याख्यामा उपदफा (४) मा ‘पतिसँग मानो छुटिइ अंश मुद्दा चलेको, पतिसँग अंश लिइ छुट्टै बसेको र पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थामा बाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गर्न हुँदैन’ भनी व्यवस्था गरिएको छ। अन्य दफाहरुमा करणीसम्बन्धी थप व्यवस्था भए पनि करणी वा बलात्कार के हो त भन्ने सवालमा माथि उल्लेखित दफाहरु नै प्रर्याप्त छन्।
जहाँसम्म निहारिका राजपुत र शिवराज श्रेष्ठको विषय हो- सामाजिक सञ्जालमा जसरी टिकाटिप्पणीहरु उठेका छन् र व्याख्या गरिराखिएको छ कि कतै उनीहरुको पूर्व सम्बन्धका तस्वीरहरु बाहिरिएका छन् त कतै सम्बन्धलाई पुष्टि गर्ने गरी पीडक वा पीडित भनिएकाहरुबाटै प्रष्ट आवाज दिइएको छ। यसबाट के तथ्य पुष्टि हुन्छ भने निहारिका र शिवराजबीच प्रेम सम्बन्ध वा मित्रताको सम्बन्ध वा पार्टनरको सम्बन्ध त रहेछ नि।
मुख्य प्रश्न शारीरिक सम्बन्धको रह्यो। आजको दुनियाँमा विज्ञान र प्रविधिले फड्को मारेको र युवा पुस्तालाई विकृत बनाएको स्थितिमा निहारिका र शिवराजले शारीरिक सम्बन्ध नराखी साथी मात्रै भएर सम्बन्ध बनाए होला त? सम्बन्ध बन्नु वा नबन्नुमा कुनै एउटा पक्षको मात्रै जिम्मेवारी हुन्छ? उहाँहरुको हाउभाऊ र तस्वीरहरु हेर्दा त उहाँहरुबीच सम्बन्ध बन्नुमा दुवै जनाको उत्तिकै जवाफदेहिता देखिन्छ।
मन मिलेको बेला सम्बन्ध बनाउन, बस्न, रमाउन त हरेक नेपालीलाई छुट छ नै र आफ्नो जीवनलाई आफ्नो ढङ्गले व्यतित गर्ने हक सबैमा छ। तर मिल्दा सबैथोक नमिल्दा कानुनी बाटो, यो अहिलेको युवा पुस्तामा देखिएको भयङ्कर असरात्मक बेथिति हो। यही बेथितिलाई बेथिति भनी व्याख्या गर्न छोडेर कमण्डलु बनाएको देख्दा अचम्म मान्नुपर्ने पनि हुनसक्छ।
सम्बन्ध थियो, जे भयो, के भयो कसैलाई थाहा छैन। यसको साँच्चो स्पष्टोक्ति उहाँहरुलाई नै थाहा होला। तर यति भनेर निहारिका र शिवराजको विषय टुङ्गिन्न। सवाल के हो भने जसले जसरी निहारिकालाई उचाले, पछारे पनि एउटा छुट्न नहुने र छुटाउन नहुने प्रश्न भनेको बच्चाको हो। निहारिकाले मेरो सन्तान भनिरहँदा त्यो सन्तानको बुबा को हो त? आमाबाट मात्रै सन्तान जन्मन्छ? फेरि यो बच्चाको बुबा फलाना हो भनी डिएनए टेष्टकै माग गर्दा पनि यो महिला नै दोषी भन्नु चाहिँ त्यति उचित देखिन्न।
अर्कातर्फ शिवराज श्रेष्ठले डिएनए टेष्ट गर्न म तयार छु, मेरो बच्चा भए म स्वीकार गर्न नि तयार छु सम्म भनी सकेपछि त कमसेकम यो समस्याको समाधान एउटै सानो परीक्षण त रहेछ। आधिकारिक रुपमा सरकारले वा सम्बन्धित निकायले डिएनए परीक्षण गराइदिए त भयो नि! शिवराज बलात्कारी हो कि होइन वा निहारिका बलात्कृत हो कि होइन भन्ने छर्लङ्ग हुन्न र? फेरि उनीहरुबीच भावनात्मक सम्बन्ध रहेछ नि त!
धेरै विश्लेषण गर्नै नपर्ने सवाललाई पनि नेपालको जिम्मेवार निकायले समाधान गर्न नसकेको देख्दा घृणा लागेर आउँछ। के मलाई बलात्कृत गर्यो, बच्चा पनि छ भन्न कोही पनि युवती वा महिलालाई रहर लाग्छ होला? राष्ट्रपति कार्यालय अगाडि गएर पेट्रोल छर्किन रहर लाग्छ होला? सडक-सडक चिच्याउँदै हिँड्न रमाइलो लाग्छ होला? सोच्नुपर्ने विषय यो हो। व्याख्या गर्नुपर्ने विषय यो हो।
अपराध संहिता करणीको पुष्टि गर्ने दफाहरुले प्रमाण भेटाउलान्, नभेटाउलान् तर अविवाहित युवतीले काखमा बच्चा बोकी हिँड्नु बलात्कारको सबैभन्दा ठूलो प्रमाण हो। चाहे त्यो शिवराजले बलात्कार गरेको होस् चाहे त्यो अर्को कोही परपुरुषले होस्। कि त निहारिका विवाहित भएर वा अनुचित सम्बन्ध राखेर बच्चा जन्मेको हुनुपर्छ र यो पीडितको नाटक मञ्चन गरेको हुनुपर्छ, नत्र भने यिनको विषय बलात्कारको विषय हो।
यसलाई यसरी पनि पुष्टि गर्न सकिन्छ कि शिवराजसँगै विवाह नै गर्ने गरी वा प्रेमीप्रेमिकाको रुपमा सम्बन्धको विकास गर्दै गर्दा शारीरिक सम्बन्ध हुन गइ गर्भवती भएको पनि हुनसक्छ। पछि गएर विवाह गर्ने सवालमा नातासम्बन्ध वा परिवारबाट अस्वीकार गरिएको र निहारिका अविवाहित आमा बन्नु परेको हुन सक्छ। अथवा गर्भवती बनाएको आन्तरिक स्वास्थ्यसम्बन्धी जानकारी शिवराजलाई नभएको पनि त हुनसक्छ र उसले अस्वीकार गरेको पनि हुनसक्छ।
निहारिकालाई अर्काे युवक वा पुरुषले बलात्कार गरी गर्भवती पनि बनाएको हुनसक्छ। यी सबै सवालहरुलाई एक-एक कोणबाट पढ्ने हो भने जहाँ जसले बलात्कार गर्यो, जसरी गर्यो, थाहा पाएर गर्यो, नपाएर गर्यो ,जुन अवस्थामा गर्यो, विवाह नभएकी युवतीबाट बच्चा जन्मिनु नै बलात्कार हो।
यदि शिवराजबाट त्यस्तो घटना भएर अस्वीकृत भएकाे हो भने त्यो निहारिकामाथिको अत्यन्त ठूलो आघात हो। समाज र कानुनले हदैसम्मको दण्ड दिनुपर्ने कुकर्म हो। व्यक्तिमात्र नभएर आम महिलाहरुलाई नै एउटा नयाँ र गतिलो चुनौती हो। यसर्थ शिवराज दोषी भए पनि नभए पनि निहारिका बलात्कृत हुन्। कसले कहाँ र किन बलात्कार गरी बेवस्ता गर्यो, यसको सत्यतथ्य निर्क्याैलमा पुगेर निहारिका र उनको बच्चाको उद्दार गरिनुपर्छ।