काखभरिककाे दूधे बालकलाई उनी सुम्सुम्याइरहेकी थिइन्। निन्द्रामा मग्न निर्दाेष बालकलाई टुलुटुल हेरेर उनी आँसु पुछ्दै भन्दै थिइन्– बाबु मेरो छोरा।
काठमाडौंको बसन्तपुरमा बच्चालाई चुम्बन गरिरहेकी किशोरी हुन्– धनुषाकी निहारिका राजपूत। जो तीन दिनदेखि आमरण अनशनमा छिन्।
उनका शरीर थाकिसकेका छन्। बोल्न पनि सक्दिँनन्। हिँड्न झन् मुस्किल पर्छ। तर पनि उनी न्यायकाे आशामा लडिरहेकी छन्।
२०७६ सालमा आफ्नै साथीको दाइबाट बलात्कृत भएकी निहारिकाको २१ महिनै छोरा छ। जसका लागि उनी दुई वर्षदेखि न्यायको खोजीमा भौँतारिहेकी छन्।
‘म मरेपनि केही छैन तर मेरो छोरा बाँच्नुपर्छ। उसले पाउनुपर्ने अधिकार पाउनुपर्छ’, गहभरि आँसु पार्दै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘म मेरो छोराको लागि मात्र लडेकी हुँ। मलाई मेरो चिन्ता छैन तर मेरो छोरालाई बचाउनुपर्छ।’
कक्षा ११ मा अध्ययनरत हुँदा आफू बलात्कृत भएको कहालीलाग्दाे कथा मन नहुँदा–नहुँदै पनि सुनाउन बाध्य छिन्, उनी।
‘म १७ वर्षकी थिएँ, साथीकाे कोठामा पढ्न जाँदा मलाई नशालु पदार्थ पिउन दिइयाे। मैले पिएँ, त्यसपछि म बेहोस भएँ’, दुई वर्षअघिको कुरा सम्झँदै उनले भनिन्, ‘ब्युँझिँदा निर्वस्त्र थिएँ।’
बलात्कार गरेकाे कुरा अरूलाई नसुनाउन भन्दै आफूलाई ‘ब्याक मेल’ गरेको उनी सम्झिन्छिन्।
‘याे कुरालाई बाहिर ल्याइस् भने तेराे नग्न तस्विर र भिडियो फैलाइदिन्छु भनेर धम्की दियाे’, उनले भनिन्, ‘उनीहरूले मलाई मार्नेसमेत धम्की दिएका थिए।’
पीडित निहारिकाले बलात्कार भएको एक महिनापछि पत्ताे पाइन्, आफू आमा बन्ने कुरा।
गर्भवती भएकी उनलाई धेरैले सुझाव दिए, बच्चा फ्याँक्न। तर नजन्मिएको शरीरलाई गर्भमै मार्न पाप हुने साेच्दै उनले बच्चा जन्माउने निधाे गरिन्।
‘यो बच्चालाई जन्माएर बलात्कारीविरूद्ध लड्ने सोच बनाएँ। त्यसैले मेलै मेराे छाेरालाई मारिनँ’, उनले भनिन्।
बलात्कृत भएकी निहारिकालाई थप पीडा भयाे। जब परिवारले नै उनकाे साथ छाेडे।
‘म अप्ठ्याराे अवस्थामा हुँदा मेराे परिवारले नै मलाई अस्वीकार गर्याे’, परिवारकाे साथबाट बञ्चित भएकी निहारिकाले भनिन्, ‘म परिवारविहीन भएँ। जुनबेला परिवारकाे साथ चाहिन्थ्याे, त्याे बेला मलाई कसैले हेरेन।’
पीडित भएकी उनी न्याय पाउने आशमा जिल्ला अदालत धाउन थालिन्। तर कसैले उनको कुरा सुनेन। उल्टै सहमतिमा नै सबै भएकाे भनेर आराेप लगाइयाे।
बलात्कार गर्नेकाे पहुँच राजनीतिमा भएकाे कारण आफूले न्याय नपाएकाे उनकाे बुझाई छ। ‘मलाई बलात्कार गर्ने मान्छेको पहुँच राजनीतिमा थियाे, त्यसैले अपराधीलाई कारबाही भएन’, उनले भनिन्।
आफ्नाे जिल्लामा न्याय पाउने छाँटकाँट नदेखेपछि उनी काठमाडाैं आइन्, न्याय पाउने आशामा।
काठमाडाैं आएकी निहारिकाले महिला हिंसाविरूद्ध आवाज उठाउने महिलाहरूसँग नभेटेकाे भने हाेइनन्। तर कसैले वास्ता गरेनन्।
‘म सबै आयोग गइसकेकी छु तर कसैले पनि मेराे कुराकाे वास्ता गरेन’, दुःख पोख्दै उनी भन्छिन्, ‘मेराे कुरा सुनिदिने काेही भएन।’
प्रहरीले कुट्यो
अनशनकाे पहिलाे दिन उनी माइती घरमा थिइन्। बलात्कारीलाई सजाय दिनुपर्ने उनकाे माग थियाे। तर प्रहरीले काम नपाएकाे भन्दै उनीलगायत तीन जनालाई हतकडी लगाएर चाैकी पुर्यायाे। त्यतिमात्र होइन, उनीहरूलाई प्रहरीले लाठी चार्च समेत गर्याे।
‘मैले के गरेको थिएँ र मलाई प्रहरीले कुट्यो’, प्रहरीले कुटेर डाम बसेको हात देखाउँदै निहारिकाले भनिन्, ‘मलाई त कुट्यो ठिक्कै छ तर मेरो छोरालाई पनि गालै–गालामा हान्यो।’
प्रहरीले आफ्नो पीडा नबुझेको बताउँदै उनी भन्छिन्, ‘मेरो माग पूरा नभएसम्म अनशन बसिरहन्छु। मर्नु परेपनि पछि हट्दिनँ।’
माग के हो, उनकै बाेलीमा–
मेरो बच्चाको डिएनए टेस्ट गरिनुपर्याे। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन्? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो? यसको निष्पक्ष छानबिन हुनुपर्यो।
उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन। म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्याे।
मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्याे।
घटनाको सुरूवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरूवातदेखि नै अनुसन्धान गरिनुपर्याे। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिुनपर्यो। उनीहरूमाथि पनि छानबिन हुनुपर्याे।
मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्याे।