प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ– वर्षमान पुन

पूर्वमन्त्री वर्षमान पुनले माओवादी केन्द्रका सुप्रिमाे पुष्पकमल दाहाल 'प्रचण्ड'को टोल–टोलमा शालिक बनाएर पूजा गर्ने दिन आउने बताएका छन्। दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अवसरमा आयोजित एउटा कार्यक्रममा स्थायी समिति सदस्य पुनले राजनीतिक परिवर्तनकाे नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने समय आउने दाबी गरेका छन्।

प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको उनले बताएका छन्। प्रथम राष्टपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरू राष्टपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको पुनकाे भनाइ छ।

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताएका छन्। पूर्वमन्त्री पुनले दोरम्बा घटना मानवताविरूद्धको अपराध भएको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-16 18:53:00

प्रतिकृया दिनुहोस्