गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन 

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ। गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो।

२१ असारसम्म दरखास्त म्याद दिएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको गाउँपालिकाले जनाएको छ। बढ्दो बेरोजगारीको समस्याले गाउँ प्रहरीका लागि पनि अधिक आवेदन परेको हो। गाउँपालिकाले खुल्ला प्रतियोगीताद्धारा समाबेसी प्रावधानअनुसार करारमा गाउँ प्रहरी भर्ना गर्न लागेको हो। गाउँ प्रहरी छनौटका लागि आगामी २८ साउनमा परीक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन्।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवासुविधा पाउनेगरी १४ फागुन ०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो। तर, कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गर्न लागिएको हो। हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन्। गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ। हलेसी तुवाचुङ नगरपालिकामा सुरक्षागार्ड नियुक्त गरिएको छ।

प्रकाशित मिति: : 2022-08-10 16:36:00

प्रतिकृया दिनुहोस्