काँकडभिट्टा–लौकही सकडः आकाशे पुल र अन्डर पास

बिएल संवाददाता

काँकरभिट्टा
File Photo
File Photo

काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ।

दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिएका छन्। उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सङ्क्षिप्त जानकारी पनि दिएका हुन्।

बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन्। एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रु २८ अर्ब १७ करोड रहेको छ भने निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ।

‘एसियन हाइवे स्ट्याण्र्डड’को बन्ने यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ। झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिएका छन्।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ। तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्।

तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ।

आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ। यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ।

प्रकाशित मिति: : 2022-08-08 06:20:00

प्रतिकृया दिनुहोस्