सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।
जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सहायक नदीमा पनि पानीको सतह बढेसँगै सप्तकोसीमा पानीको बहाव बढेको हो।
नदी पानीको बहाव बढेसँगै सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अर्थात ‘हाई अलर्ट’ जारी गरेकाे छ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ।
नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोतसाधन तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
बराह क्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएका उनले बताए।