जुन व्यवस्था आए पनि कलाकारको पीडा उस्तै (भिडियाेसहित)

हेमन्त विवश

काठमाडौं

अल्लि भाषा बुझिएन 
बम्बै टेलिफोनको खेल डेउडा बाजुरी चाल 
काँ बास्यो पातलको न्याउलो
कान बाइगो रन्को खेल डेउडा बाजुरी चाल

दुई दशकअघि रेकर्डिङ भएको हरिषचन्द्र कडायतको गीत सुनिरहेको छु। जति सुन्दा नि मन अघाउँदैन। गायिका इन्दिरा गुरुङले स्वरमा साथ दिएको उक्त गीत त्यतिखेरको निकै चर्चित गीत थियो। आज एउटा इतिहास भएको छ। शारीरिक हिसाबले गायक कडायत छैनन् हामी सामु। उनका गीत जीवीत छन्। गीतका माध्यमबाट हजारौँ वर्षसम्म जीवित रहिरहने छन्।

बाचुन्जेल समय, भाग्य र जीवन तीनैले हरेक मोडमा दुखाइरहे हरिषचन्द्र कडायतलाई। आलोपालो छल गरिरहे। उनले जीवनको आश मान्न छोडिसकेका थिए। मरेपछि प्रसंसा गर्ने चलन छदै छ हामी कहाँ। खै म कहाँबाट सुरु गरुँ, गायक हरिषचन्द्र कडायतको बारेमा। निकै कठिन हुँदो रहेछ जीन्दगीको दोफरमै बिदा भई जानेका बारेमा लेख्न पनि। हरिषचन्द्र कडायत तिनै गायक हुन् जसले आफूले गाउने अधिकांश गीत आफैं रचना गरे। जुन गीतका शब्दको गहिराइ वर्णन गर्न सजिलो छैन। आफ्नै बारेमा, आफ्नै जिन्दगीका बारेमा सिर्जना गरे जस्ता गीतहरू कैयौंको जीवनसँग मेल खान पुग्छन्। कैयौंलाई भावविह्वल बनाइदिन्छन्। र, हल्लाउछन् मनको भित्री पाटो।

मेल्लेख डाँडा बान्नी खान नबिर्स कोइ थली 
रावणले राम छल्या जन भाग्यले तुइले छली 

भन्नेले त सजिलै भनिदिन्छन् विरही गीत के सुन्नु। कति भावुक बन्नु। निराशाजनक गीत धेरै सुन्नु हुँदैन जस्ता कुराहरू। निराशाभित्र छुट्टै रस छ। विरहभित्र छुट्टै लय छ। छुट्टै भाव छ। त्यसैले त भने होलान् अंग्रेजीका महाकवि पि. बि शेल्लीले: our sweetst songs are those that tlle of saddest thought (हाम्रा मधुरतम गीतहरू तिनै हुन् जसमा गहनतम नैराश्यको कथ्य हुन्छ )। हाम्रा ठाडी भाकाहरूले पनि बढी वियोग व्यथा नै अँगाल्छन्। हरिषचन्द्रले पनि वियोग व्यथाका गीतहरू बढी गाए अर्थात् बढिजसो ठाडी भाकामै रमाए। उसो त संसारका सबै भावुक हृदयहरू प्रफुल्लताभन्दा धेरै बढी वियोग–व्यथाको गान गाउँछन्। मान्छे एक दुःखी प्राणी हो। दुःख र सघर्षमै व्यतित भइरहेको हुन्छ उसको जिन्दगी। र त एउटाले दुखको भाका सुनाउँदा अर्कोलाई आफ्नै कथा जस्तो लागिरहन्छ।

बझाङ छबिस पाथिभरा गाउँपालिका– २ जुमलधारा हो जन्मथलो। बुवा गोपिलाल र आमा डल्लीदेवीका ५ छोरा मध्येका कान्छा हुन् हरिषचन्द्र। पछिल्लो समय गौरीगंगा नगरपालिका– ६ वनभेडा कैलालीमा बसोबास गरिरहेका थिए। संघर्षमय जीवन बिताइरहेका कडायतले गायका यी शब्दहरू पछिल्लो समय मेल खान्थे उनैको जीवनसँग:

रातै भई छ लालीगुराँस रातै पड्यो रंग 
रात दिन लड्याकै छु म आफ्नै भाग्यसँग 

पछिल्लो समय भूकम्पले हल्लाएझै खुब हल्लिए उनका जिन्दगीका गोरेटाहरू। पीपलको पातझैं लुकलुक काँपिरहे, कहीँ कतै चल्न नसकेका पाइलाहरू। धनगढीस्थित सेती अस्पतालमा अन्तिमपल्ट सम्झे उनले विगतमा गाएको गीत।

आकाश उडी रानी चडी रुखमा माउ छैन् 
परानीमा सन्चो छैन् देखाउने घाउ छैन्

उनका अधिकांश गीतले उनकै जिन्दगीको कथा सुनाएझैं लाग्छ श्रोतालाई। तर, उनले कसैलाई सुनाएनन् आफ्नो कथा। देखाएनन् भित्रि घाउ पनि।
एक समय थियो, हरिषचन्द्र कडायतका ठाडी भाका निकै रुचाइएका थिए बजारमा। निकै मिठासपूर्ण थियो त्यो आवाज। बीचमा एकाएक गाउन छोडे उनले। लामो समयसम्म सुनिएन उक्त स्वर। नेपालमा माओवादी द्वन्द्व चर्किएको थियो। कमाइ नभएपछि उनले विदेशिने योजना तय गरे। मेनपावर कम्पनिले कुवेत भनेर इरान पुर्‍याइ दियो। त्यो त्यही समय थियो, जतिबेला इरानमा १२ जना नेपालीलाई लाइनै सुताएर मारिएको थियो। इरानमा ज्यान बचाउन बङ्करभित्र छिर्थे उनी। ४ वर्ष इराक बसेर आठ दश लाख कमाएका कडायत सन २००८ मा नेपाल फर्किए।

नेपाल फर्केको केही दिनमै पुन: बनाए विदेश जाने योजना। १४/१५ लाख लगानी गरेर पुगे बेलायत। जाउला बम्बै कर्म सँगै भनेझैं त्यतिबेला बेलायतमा आर्थिक मन्दी थियो। भनेजस्तो काम पाएनन्। कमाइ हुन नसकेपछि दुई वर्षमा नेपाल फर्किए। गीत गाउँदा समाजले हेर्ने दृष्टि राम्रो थिएन। काम गर्नलाई देशमा काम थिएन। विदेशमा गएर पनि खासै उपलब्धी हुन नसकेपछि बिस्तारै उनमा निराशा छाउन थाल्यो। एकलकाटे बन्न थाले। विरहका गीत रच्न थाले। क्यासेटको जमाना सिद्धियो। मास्टरकपी म्युजिक नेपाल र रीमा रेकर्डिङसँग थियो। टिकटक, युटुब आदि इत्यादिको सुरुवात भएको थिएन। त्यतिबेला भत्किन गए, कैयौं गायक गायिकाका सांगीतिक गोरेटा। त्यसपछि कतिपयले माया मारे गीत संगीतको।

गायन क्षेत्रबाट पलायन भएका हरिषचन्द्रलाई पुनः गायन क्षेत्रमा ल्याउने काम गरे विक्रम चौहानले। चौहानले आफ्नै लगानीमा गीत रेकर्ड गराउने देखि भिडियो बनाउने सम्मको काम गरेर हरिषचन्द्र कडायतलाई श्रोतासामु ल्याइदिए। त्यसपछि गायिका शोभा थापाले पनि आफ्नै लगानीमा उनलाई गाउन लगाई छायाङ्कनसहित दुईवटा गीत बजारमा ल्याइन। शोभा थापाकाअनुसार उनको स्वरमा रेकर्ड भएका दुईवटा गीत अझैं बजारमा आउन बाँकी नै छन्।

पछिल्लो समय हरिषचन्द्रलाई गुन लगाउने उदार मन भएका कलाकार तिनै विक्रम चौहान र शोभा थापा थिए। यसरी दुई/तीन वर्षको अवधिमा उनले १०/१२ वटा गीत रेकर्ड गराए। ईश्वरको वरदान नै भन्नुपर्छ उनको स्वरमा छुट्टै मिठास थियो। दुर्भाग्य त्यो मिठासपूर्ण स्वरमा धेरै गीतहरू रेकर्ड हुन पाएनन्। जति भएका थिए ती श्रोता माझ छोडेर कहिल्यै नफर्किने गरी बिदा भए गायक कडायत।

भाषण गर्दा कलाकार देशका गहना हुन् भनिरहे यो देशका सम्राटहरूले। तर, कहिल्यै बुझ्न चाहेनन् कलाकारको समस्या। बरु समय समयमा कलाकारलाई प्रयोग गरिरहे। कुनै व्यवस्थाले बुझ्न सकेन कलाकारका दु:ख। ५ वर्ष भइसक्यो देश संघीयतामा गएको। अरु प्रदेशमा प्रज्ञा प्रतिष्ठान खुले। १०/१५ जना कलाकारले ठाउँ पाए। तर, सुदूरपश्चिम प्रदेश सरकारले सकेन वा चाहेन प्रतिष्ठान खोल्न।

सुन्नमा आएअनुसार सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान सम्बन्धी नीति निर्देशिका तयार गरेको छ। जहाँ मुख्यमन्त्री कुलपति, सामाजिक विकास मन्त्री सहकुलपति र मन्त्रलायका सचिव सदस्य सचिव बन्ने प्रावधान रहेको व्यहोरा सुन्नमा आउँछ। बाँकी प्राज्ञिक पदहरूमा उमेर र योग्यताको सीमा निर्धारण गरिएको छ। कुलपति र सहकुलपति बन्नेहरूका लागि हुँदैन योग्यता र उमेरको हद तर एउटा स्रष्टालाई, कलाकारलाई त्यहाँ जान उमेरले रोक्छ। डिग्री पासको प्रमाणपत्र चाहिन्छ। राजाले शासन छोडे पछि जनताका छोरा कुलपति बनिरहेका छन् काठमाडौमा। तर, सुदूरपश्चिमले पुनः अर्को राजा खोजिरहेको छ। यो भन्दा बिडम्बना अरु के नै हुन सक्छ।

लेखक कलाकारहरूको लागि खोलिने प्रज्ञा प्रतिष्ठानमा कुलपति सहकुलपति र सदस्यसचिव जस्ता पदहरू नेता र कर्मचारीलाई नै छुट्ट्याइन्छ भने त्यो प्रतिष्ठानको के अर्थ हुन्छ ? किन जाने लेखक कलाकारहरू त्यो ठाउँमा ? यो एउटा गम्भीर प्रश्न खडा भएको छ। केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा जान न उमेरले छेक्छ न त शैक्षिक योग्यताका प्रमाण पत्रहरूले नै। तर, सुदूरपश्चिम सरकारले त्यो कुरा उल्लेख गरेको छ निर्देशिकामा।

प्रज्ञा प्रतिष्ठान बनेको भए हरिषचन्द्र जस्ता केही कलाकार लेखकहरू प्रतिष्ठानमा काम गर्न पाउँथे। त्यो क्षेत्रको गीतसङ्गीत र साहित्यमा केही काम हुन्थ्यो। अश्वस्थ हुँदा उपचार गर्न अलि सहज हुन्थ्यो होला। चाहेनन् आफूलाई लोकतन्त्रका हिमायति ठान्ने सम्राटहरूले प्रतिष्ठान बनाउन। उसो त यो दुनियाँ प्रयोगवादी हो। यहाँ हरेकले हरेकलाई प्रयोग गर्ने गरेकै छन्। देश, प्रदेश सबैले प्रयोग गरे कला क्षेत्रलाई, कलाकारलाई। राम्रोसँग उपचार समेत नपाएर बिदा हुन थाले कलाकार, लेखकहरू।

गायक, रचनाकार हरिषचन्द्र कडायतको उपचारारका लागि पनि चन्दा अभियान चलाए त्यहाँका स्रष्टाहरूले। त्यो समय धनगढी पुगेका गायक नन्दकृष्ण जोशी, रेन्द्रराज रेग्मी, राजेन्द्र शाह वीपी, सुरत रावत डोटेली कान्छा, सूर्य विरही साउँद लगायतका कतिपय कलाकारहरूले सक्दो सहयोग गरे। थुप्रै लेखक कलाकारहरू र श्रोताहरूले भगवान पुकार्दा पुकार्दै ३ छोरा १ छोरी श्रीमती सबैलाई छोडेर श्रावण ११ गते ५३ वर्षको उमेरमा धर्तीबाट बिदा भए गायक हरिषचन्द्र कडायत।

नेपाली साङ्गीतक क्षेत्रले एक असल स्रष्टा गुमाएको छ। जुन यो क्षेत्रको लागि ठुलो क्षति हो। डेउडा पारखी सबैले उनलाई सम्झिइरहनेछन्। अन्तमा प्रिय गायक हरिषचन्द्र कडायतप्रति हार्दिक श्रद्धाञ्जली। आत्माले शान्ति पाओस्।

प्रकाशित मिति: : 2022-08-04 21:00:00

प्रतिकृया दिनुहोस्