माओवादी कार्यकर्तासामु किन निरीह छन् रोल्पाका डिएसपी !

Breaknlinks
Breaknlinks

प्रहरी संघठनभित्रकै मान्छे कुटिँदा पनि रोल्पाका डिएसपी विनोद घिमिरे चार दिनदेखि कानमा तेल हालेर बसेका छन्।

बिदामा घर जान लागेका प्रहरी हवल्दार रामकुमार बाँठालाई मंगलवार रोल्पाको दार्बाेटका स्थानीय गुण्डा नाइके खिम बाबुराजा डिसीको समूहले आक्रमण गरेर घाइते बनाएका छन्।

घाइते हवल्दार चार दिनदेखि न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धाउँदा पनि डिएसपी घिमिरेले उल्टै डिसीको पक्षपोषण गर्दैआएका छन्।

पीडितले जाहेरी दिन खोजेपछि डिएसपी घिमिरेले भने उल्टै माओवादी कार्यकर्ताको संरक्षण गर्दै जबरजस्ती मिल्न दबाब दिँदैआएका छन्।

किन निरीह छन् डिएसपी !

हवल्दारलाई कुट्ने डीसी माओवादी केन्द्रका कार्यकर्ता हुन्। उनी गत निर्वाचनमा वडाध्यक्षमा पराजित भएका व्यक्ति हुन्।

उनले दार्बाेट प्रहरी चौकीलाई समेत प्रयोग गरी दादागिरी मच्चाउदै आएका थिए। उनलाई संरक्षण गर्न माओवादी नेताहरुले फोन गरेपछि डिएसपी घिमिरे आफ्नै संगठनभित्रको सदस्यलाई न्याय दिन छोडेर माओवादी नेताहरुको एस् म्यान बनेका हुन्।

माओवादी नेताहरुले प्रयोग गर्न सजिलो होस् भनेर नै यो डिएसपीलाई रोल्पा लगेको प्रहरी अधिकारीहरुको भनाई छ। ‘सुरुमा रोल्पा सरुवा हुँदा नै त्यो डिएसपीको नियत खराब थियो,’ एक जना उपल्लो दर्जाका प्रहरी अधिकारीले भने, ‘उ त मन्त्रीको झण्डावाला गाडीमा चढेर गएको हो।’ जिल्लाको प्रहरी प्रमुख मन्त्रीको झण्डावाला गाडीमा हिड्न नमिल्ने उनको भनाई छ।

डिएसपीको अनुसन्धान गर्न अर्काे प्रहरी अधिकारी खटाइने

जिल्ला प्रहरी प्रमुख डिएसपी घिमिरेले माओवादी नेताहरूको दबाबमा आएर पीडित हवल्दारको जाहेरी नलिएपछि प्रदेश प्रहरी कार्यालयले डिएसपी घिमिरेको अनुसन्धान गर्न अर्काे प्रहरी अधिकारी रोल्पा खटाउने भएको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्। ‘त्यो घटना मैले नियालिरहेको छु,’ डिआइजी उपाध्यायले भने, ‘अब घटना अनुसन्धान गर्न बाहिरी जिल्लाका डिएसपी पठाउने तयारीमा छु।’

प्रहरी हवल्दारले भन्दा पनि जिल्ला प्रहरी प्रमुखका गतिविधि अनुसन्धान गर्न छिट्टै एक जना डिएसपी रोल्पा खटाउन लागेको डिआइजी उपाध्यायको भनाई छ।

‘डिएसपी घिमिरेले हवल्दार नै फटाहा छ भन्दै आउनुभएको छ,’ उपाध्यायले भने, ‘अर्कोतर्फ प्रहरी हवल्दारले आफूलाई जबर्जस्ती डिएसपीले मिल्न दबाब दिएको कुरा पनि मैले जानकारी पाएको छु।’ त्यसैले छिट्टै एक जना डिएसपी खटाएर सुक्ष्म रूपमा रोल्पाका डिएसपीका गतिविधिबारे अनुसन्धान हुने उनले बताएका छन्।

शनिबार फेरि छलफल हुने

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी घिमिरे भने जसरी पनि घटनालाई मिलाउन खोजिरहेका छन्। उनले दुवै पक्षलाई शनिबार बिहान ११ बजे फेरि छलफलमा बोलाएका छन्। प्रहरी हवल्दार बाँठाले शनिबार पनि छलफलका लागि आफूहरूलाई बोलाइएको जानकारी दिएका छन्।

‘शुक्रवार पनि डिएसपी साबले मिल्नु पर्छ भन्ने कुरा गर्नुभयो र मेरो जाहेरी दर्ता गर्नै मान्नु भएन,’ बाँठाले भने, ‘शनिबार फेरि छलफलमा बोलाउनुभएको छ।’

एउटा प्रहरी माथि भएको आक्रमणबारे न्याय माग्न जाँदा प्रहरी अधिकारीबाटै आफूले सहयोग नपाएको बाँठाको गुनासो छ।

कुटपिटमा संलग्न व्यक्तिहरूले पनि अभद्र व्यवहारसम्बन्धी जाहेरी दिन आएकोले दुवै पक्षबीच छलफल भइरहेको डिएसपी घिमिरे बताएका छन्।

प्रकाशित मिति: : 2022-07-23 08:31:00

प्रतिकृया दिनुहोस्