संघीय संसद्को हिउँदे अधिवेशनमा उठाउने विषयमा छलफल गर्न हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्यो।
बनस्थलीस्थित घण्टीघरमा डाकिएको बैठकमा हिउँदे अधिवेशनभन्दा पनि गत पुस २८ गतेको ‘पोखरा रक्सी प्रकरण’ र केन्द्रीय सदस्य ज्वाला संग्रौलाको विषयमा बढी नै चर्चा भयो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगी र पूर्वमन्त्री सुमना श्रेष्ठलगायतले केन्द्रीय सदस्य संग्रौलाको पछिल्लो ‘हर्कत’प्रति बैठकमै आपत्ति जनाएको रास्वपाका एक नेताले जनाएका छन्।
‘ज्वालाजीको कारणले पार्टी र सभापतिज्यूको छवि बिग्रिँदै गएको सत्य होइन र!,’ डाँगीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘जेपनि लेख्ने, जेपनि बोल्ने? पार्टीभित्र अनुशासन भन्ने हुँदैन? उहाँ (ज्वाला) हाम्रो पार्टीको केन्द्रीय सदस्य हो। तर फेसबुकमा अरु नेताहरूको बारेमा पनि मनलाग्दी लेख्ने? यस्तो प्रवृत्तिको गम्भीर समीक्षा गरियोस्, उपसभापतिज्यू!’
त्यस्तै, बैठकमा अर्की नेत्री श्रेष्ठले पनि संग्रौलाले केही दिनअघि फेसबुकमा लेखेको स्ट्याट्स देखाउँदै भनेकी थिइन्, ‘यो के लेखेको? हामी के बोल्ने, के लेख्ने भनेर उहाँलाई सोध्नुपर्ने हो र!’
बैठकमा केन्द्रीय सदस्य संग्रौलाको चर्को आलोचना र अनुशासनको कारबाही गर्नुपर्ने माग उठिरहेका बेला कतिपय सदस्य-सांसदहरू भने मौन देखिन्थे। उनीहरूले संग्रौलाको फेसबुक प्रोफाइल खोलेर प्रकाशित स्ट्याट्सहरू पढिरहेका थिए।
त्यस्तै, रास्वपा सचेतक डाँगी र सांसद श्रेष्ठको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्य-सांसदहरूले सहमति जनाएको एक सांसदले बताइन्। उनले केही समयअघि संग्रौलाको फेसबुक र कतिपय उनीनिकट व्यक्तिहरूले आफ्नो पनि बदनाम गर्ने उदेश्यले सामाजिक सञ्जालमार्फत स्ट्याट्स लेखेको दुःखेसो गरिन्।
हिजोआज फेरि पार्टीका संस्थापक सभापति रवि लामिछाने ‘गृहमन्त्री हुँदाको प्रसंग’ निकालेर चरित्रहत्या हुनेगरी उस्तैखालको रबैया अपनाएको भन्दै डाँगीले अनुशासनको कारबाही गर्नुपर्ने मागसमेत राखिन्।
उता, ‘पोखरा रक्सी प्रकरण’सँग प्रत्यक्ष जोडिएकी भनिएकी अर्की सांसद विनिता कठायत भने बैठकमा उपस्थित थिइनन्। उनी गंगास्नान गर्न भारतको प्रयागराजस्थित कुम्भमेलामा पुगेको रास्वपाका एक नेताले जनाए।
कठायत बैठकमा उपस्थित नभएपनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सदस्यसमेत रहेकी कठायतलाई सभापति कुसुमदेवी थापासहित नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायर र नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले अनुगमनको क्रममा ‘दारु’ खाएर दुर्व्यवहार गरेको विषयले भने प्रवेश पायो।