एसपीपी सम्झाैता: ‘रअ’का अधिकारीको धम्कीले पछि हटे देउवा

Breaknlinks
Breaknlinks

झण्डै चार वर्षअघि सम्झाैता भएको अमेरिकी रणनीतिक साझेदारी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम’को विवादले पछिल्लो हप्ता नेपाली राजनीतिक वृत्त एकाएक तरङ्गित भयो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आलोचना र दबाब बढिरहेकै थियो। तर पनि प्रधानमन्त्री देउवा र सत्ता पक्षका केही नेताहरूले त्यसको बेवास्ता गर्दै बसेका थिए। उनीहरू जसरी भएपनि अमेरिकाले राखेको ‘स्टेट पार्टनरसिप प्रोग्राम’को उक्त प्रस्ताव पास गर्ने पक्षमा थिए। 

अमेरिकी कार्यक्रम एसपीपी पारित भएको अघिल्लो हप्तासम्म प्रधानमन्त्री देउवा र उनीनिकट कतिपय नेताहरू एसपीपी सम्झौताको पक्षमा खुलेरै अभिव्यक्ति दिइरहेका थिए। 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पटकपटक जवाफका लागि बोलाए पनि प्रधानमन्त्री देउवा उपस्थित भएनन्। बरू, बैठकबाट पन्छिन खोजिरहेका थिए। 

सांसदको आक्रोश छल्न निर्धारित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका देउवा गैरआवासीय नेपाली संघको चियापान समारोहमा पुगेर समय कटाएका थिए। 

त्यसको केही दिनपछि उनै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठकमार्फत एसपीपी अस्वीकार गर्ने ‘बोल्ड’ निर्णय लिएका छन्। 

अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्नुअघि ठूलो ‘प्रेसर’ थेगेको देउवानिकट स्रोतले बिएल नेपाली सेवालाई बताएको छ।

उच्च स्रोतका अनुसार मन्त्रीपरिषद्ले उक्त निर्णय लिनुअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का पूर्व प्रमुख जयदेव राणादे नेपाल आएका थिए। 

राणादेको नेतृत्वमा आएको समूह असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकाे थियाे। टाेली त्यहाँबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार छिरेको थियो।

राणादे नेतृत्वको टोली प्रधानमन्त्री देउवासँग झण्डै दुइ घण्टा भेटवार्ता गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेको थियो।

‘देउवालाई भेटेपछि रअका अधिकारीको एउटा टोली प्रचण्ड निबासमा पुगेको थियो। उनीहरूले डेढ घण्टाजति अध्यक्ष कमरेडसँग वार्ता गरेका थिए। के–कति कुरा भयो, त्यो चाहिँ ठ्याक्कै प्रचण्ड कमरेडले बताउनुभएन। तर, उहाँले नारायणकाजीसँग भेट्न आग्रह चाहिँ गर्नुभएको थियो, त्योबेला,’ प्रचण्डको सचिवालयका एक सदस्यले बिएल नेपाली सेवासँग भने। 

प्रचण्डको सल्लाह अनुसार उनीहरूले माओवादी भित्र एमसीसी र एसपीपी विरूद्ध कडा अडान लिएका नारायणकाजीसँग पनि भेटेका थिए। 

भेटपछि माओवादी र समाजवादीका शीर्ष नेताहरूले अरूबेला अमेरिकी कित्तामा उभिने भारत यसपालि किन बेग्लै भूमिकामा देखियो भनेर 'रअ'का अधिकारीसामु जिज्ञासा राखेका थिए। 

स्रोतका अनुसार ‘रअ’ अधिकारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका थिए। 

प्रचण्ड र नेपालसँगको गोप्य वार्ता ‘बिफ्रिङ’का लागि उनै राणादे असार ४ गते दोश्रो पटक प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। 

तर, प्रधानमन्त्री देउवाले उल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति राजेन्द्र क्षत्रीको थाप्लोमा एसपीपी सम्झौता थुपार्दै हच्किने छाँट देखाएनन्। लगतै सचिवालयमार्फत् पुरानाे सम्झाैता अमेरिकी दूतावासबाट निकालेर मिडियासामु फैलाउन एक सदस्यलाई जिम्मा दिए।

त्यसपछि राणादेले देउवाकैअघि ‘रअ’का प्रमुख सामन्त गोयललाई फोन गरेका थिए। देउवाले थप कुरा गर्न नचाहेपछि उनी त्यहाँबाट ‘सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पनि याद गर्नु’ भन्दै निस्किएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्।

उनले भारत सरकारले नेपाललाई दिँदै आएको सहयोग र देउवा सरकारप्रतिको समर्थनपनि टुटाउन सक्ने धम्की दिएका थिए। लगतै प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवकुमार नेपाललाई बालुवाटार बोलाएकाे देउवाकाे सचिवालय बताउँछ।

राणादे अन्तिममा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजीलाई भेटेपछि पाेखराबाट भैरहवा हुँदै असार ६ गते नयाँ दिल्ली फर्किएका थिए। 

उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकी अधिकारीसँग पनि परार्मश गरेका थिए। 

भारतीय अधिकारीहरूको धम्की र दबाबका कारण प्रधानमन्त्री देउवा एसपीपी सम्झौताबाट पछि हटेका हुन्।

अमेरिकी सैन्य गठबन्धन कार्यक्रम इण्डो–प्यासिफिक स्ट्राटेजीमा एसपीपी पनि समेटिएको हुँदा यसले भारतलाई असर गर्नसक्ने भारतीय अधिकारीहरूको दाबी छ। 

नेपाली सेनाले एसपीपीबाट पछि हट्न सरकारलाई विगतमै पत्र लेखिसकेको बताएको थियो। 

देउवाले अमेरिकासँग झुकेर स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गर्नसक्ने माओवादी नेताहरूले आशंका व्यक्त गरेका थिए। उनी सम्झौताबाट पछि हट्न तयार पनि थिएनन्। 

तर, सन् २०१९ मा एसपीपीलाई इण्डो–प्यासिफिक सैन्य गठबन्धनमा मिसाउने कुरा आएपछि भारतीय पक्ष तर्सिएको बताइएको छ।

प्रकाशित मिति: : 2022-06-23 20:07:00

प्रतिकृया दिनुहोस्

    देउबा अमेरिकि योजनामा चल्ने ब्यक्ती हुन उनी अहिले ब्याक भएपनी भेडाको थुबाले पछि हटेर फेरि झम्टेझै उपयुक्त समयको पर्खाइमा छन यिनिहरु देशको भलोमा कहिल्यै हुन्नन सत्त र पैसामा मात्रै हो ।

    • 2 बर्ष अगाडि
    • पुष्प गौतम