३७ डिग्री तापक्रम। उखरमाउलो तराईको गर्मी। ६५ वर्षीय सुरेन्द्र यादव छटपट गर्दै यताउति गरिरहेका छन्। घामबाट जोगिन टाउकोमा गम्छा ओढेका छन्। तर, मन बेचैन छ। नयाँ मान्छे देख्यो कि पछि कुदिहाल्छन्। उनको यो छटपटी कामको खोजीका लागि हो। तर, पनि काम दिने ‘साहुजी’ फेला पर्दैनन्। भन्छन्, ‘साहुजी खोज्दैमा दिन जान्छ। काम छैन। साँझ रित्तो हात घर फर्कनुको विकल्प छैन।’
सम्पत्तिका नाममा सुरेन्द्रको परिवारसँग विन्दावासिनी – ३ झावामा चार धुरको घडेरीमात्रै छ। त्यहीँ ठाउँमा फुसको सानो छाप्रो छ। ६ जनाको परिवार सुरेन्द्रको कमाइमै निर्भर छ। तर, आजभोलि काम पाउन कठिन छ। कमाइ नहुँदा परिवारका सदस्यलाई साँझ बिहान मुखमा माड लगाउनै समस्या भइरहेको सुरेन्द्र दुःखेसो पोख्छन्।
कामको खोजीमा एकाबिहानै घरबाट निस्कने गरेको सुरेन्द्र बताउँछन्। रामगढस्थित सिर्सिया पुल क्षेत्रमा ‘काम दिने कोही आइहाल्छ कि’ भनेर कुर्दैमा उनको दिन बित्छ। काम नपाएकै कारण साँझ परिवारको मुखमा कसरी माड लगाउने चिन्ता हुन्छ। ‘परिवारमा कमाउने भनेको म मात्रै हुँ,’ सुरेन्द्र भन्छन्, ‘तै पनि काम पाइन्न र परिवार कसरी पाल्ने भन्ने चिन्ता हुन्छ।’ प्रायजसो दिन काम नपाएर साँझ निन्याउरो मुख लगाई घर फर्किनु परिरहेको उनको दुःखेसो छ। ‘दुईचार पैसा कमाएर घरपरिवार र बालबच्चालाई खुसी पार्न सकिन्छ कि भन्यो, कामै पाइँदैन,’ सुरेन्द्रले अन्नपूर्णसँग दुःखेसो पोखे, ‘साँझ रित्तै घर फर्किनुपर्दा साह्रै नरमाइलो लाग्छ।’