के स्वतन्त्रले जित्दैमा लोकतन्त्र डुब्छ ? हर्क, बालेन र गोपालहरू यही लोकतन्त्रको मलिलो माटोमा मौलाएका होइनन् ?
अन्नपूर्ण पोस्ट्ले गएको वैशाख ३ गते विशेष संस्करण निकालेको थियो, ‘राजनीतिको रसातल।’ दलका नेताहरूका कुकृत्यले राजनीति कसरी धरातलमा झर्यो भने त्यसको सन्देश थियो। त्यसमा मैले लेखेको थिएँ, ‘राजनीति राज्य सञ्चालनको मियो हो।
यसको वरिपरि दाइँ गरिरहेका नेताहरू आचारहीन बन्दै गए। जनताले लडेर प्रजातन्त्र ल्यायौं। उन्नत लोकतन्त्र बनायौं। देशलाई गणतन्त्रसम्म पुर्यायौं।
संविधानसभाबाट उत्कृष्टतम् संविधान पायौं। संघीयता, समावेशिता र समानता अक्षरमा लेख्यौं। तर, सुशासन देखेनौं। प्रजा र शासित नै भइरह्यौं। सार्वभौम नागरिक हुनुको अनुभूति गर्न पाएनौं। किन ? के अझै उत्तर नखोजेर प्रश्नमै अल्झिइरहने ? देश चुनावी संघारमा छ।
राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो। पाँच वर्ष पहिलाका आश्वासन एवं वाणी खोतल्ने साइत यही हो। नत्र हामी नागरिक सधैं रैती भइरहने छौं। भोटका नाममा छक्किइरहने छौं।’