आर्थिक वृद्धिका लागि लगानीको वातावरण चाहिन्छ। आर्थिक गतिशीलता पकड्ने सामथ्र्य चाहिन्छ।
आर्थिक विकास कुनै पनि मुलुकको अभीष्ट हो। यो त्यत्तिकै प्राप्त हुँदैन। यसका लागि दृढ इच्छाशक्तिसहितको कठोर कार्यानुशासन चाहिन्छ।
सबैखाले विचारदर्शन बोक्ने सरकारहरू आर्थिक विकास नै आफ्नो प्राथमिकता भएको कुरा गर्न पछि पर्दैनन्। के भएमा आर्थिक विकासको आधार बन्छ र यसको गति तीव्र हुन्छ भन्ने पक्षमा ध्यान दिँदैनन्।
नेपालले आर्थिक विकासका लागि उच्च, फराकिलो, समावेशी र दिगो आर्थिक वृद्धिको लक्ष्य राखेको छ। आठौंबाहेक कुनै पनि आवधिक योजनामा
आर्थिक वृद्धिको लक्ष्य हासिल भएको छैन। किन आर्थिक वृद्धि भएन भन्ने गम्भीर राष्ट्रिय बहस गरेर मत्यैक्यमा पुग्ने काम अहिलेसम्म भएको छैन।
आर्थिक वृद्धिका विषयमा अर्थशास्त्री र अनुसन्धाताका शास्त्रीय सिद्धान्त र तर्कहरू होलान्। कुनै बौद्धिक कुरा नगरी सामान्य मानिसले बुझ्ने गरी आर्थिक बृद्धिका पाँच कारकहरू यहाँ उल्लेख गरिएको छ। जसको अभावमा हामीले खोजेको विकास टाढिँदै आएको छ।
अरू अकल्पनीय प्रगति चुमिरहेको एक्काइसौं शताब्दीमा पनि हामी भने स्वस्थ, शिक्षित र सुरक्षित जीवनयापनका सामान्य कुराका लागि संघर्ष गरिरहेका छौं। पहिलो सर्त राजनीतिक स्थिरता हो। राजनीति व्यवस्थित समाजको केन्द्रबिन्दुमा रहन्छ। अन्य प्रणालीहरूलाई निर्दिष्ट गर्छ, अन्तिम जिम्मेवारी र अभिभावकत्व लिन्छ।