तनहुँमा जोशीलाई कैची, भट्टराईलाई पुतली चुनाव चिह्न

जिल्लाका स्वतन्त्र उम्मेद्वारहरुलाई कैची, पुतली, खरायो लगायतको चुनाव चिह्न प्रदान गरिएको छ।

शनिबार स्वतन्त्र र निर्वाचनका लागि दल दर्ता नभएका दलका उम्मेद्वारले रोजेको चुनाव चिह्व प्रदान गरिएको हो। जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचनको अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेद्वारले चुनावी चिह्न रोजेका थिए।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका कांग्रेसका महेश्वर भट्टराईले पुतली चुनाव चिह्न पाएका छन्। यस्तै, उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका जगदिश काफ्लेले हास चुनाव चिह्न पाएका छन्। जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नभएकाले उन्नत लोकतान्त्रिक पार्टीका काफ्लेलाई पनि स्वतन्त्र सरह चुनाव चिह्न प्रदान गरिएको हो। वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएको उम्मेद्वारलाई गुलाफको फुल, पुतली, मुढा, खनोपानीको धारा लगायतको चुनाव दिइएको छ।

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीले कैची चुनाव चिन्ह पाएका छन्। उनी नेपाली कांग्रेसबाट साधरण सदस्य समेत नरहने गरेर कारवाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन्। जोशी समुहले तनहुँको व्यास नगरपालिकासँगै भानु नगरपालिका र बन्दीपुर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ। तर जोशी समुहका उम्मेद्वार स्वतन्त्र चिह्नबाट उठ्ने गरेर गठबन्धनको सहमती भएको हो। चुनाव चिह्न नपाउदै जोशी व्यासमा एमालेबाट उपमेयरममा  उम्मेद्वारी दिएकी बसुन्धरा घर्तीलाई सुर्य चिह्नमा भोट माग्दै हिँडेका थिए। व्यासको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी पार्वती कार्कीले चुनाव चिह्न खरायो पाएकी छन्।

११ र १२ वैशाखमा उम्मेद्वारी मनोनयन दर्ता भएको थियो।  १३ वैशाखमा उम्मेद्वारको विरोधमा उजुरी दिने समय तोकिएको थियो।  १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय  गरियो।  १५ वैशाखमै उम्मेद्वारको नामावली प्रकाशन भएपछि १६ वैशाखमा उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको हो। शनिबार निर्वाचन चिह्न पाएपछि उम्मेद्वारहरुले अब भोट माग्न घरदैलोमा पुग्नेछन्। स्वतन्त्र उम्मेद्वार निर्वाचन चिह्न लिएर घरदैलोमा हिँड्न थालेपछि ठुला दलका उम्मेद्वारले भने घरदैलो सुरु गरिसकेका छन्। अब ३० वैशाखमा विहान ७ देखी अपरान्ह ५ बजेसम्म मतदान हुनेछ। 

शुक्रबार ११५ जनाले उम्मेद्वारी फिर्ता लिएसँगै जिल्लाको १० स्थानीय तहको ८५ वडामा अब एक हजार ६३६ जनाले प्रतिष्पर्धा गर्दैछन्। एक हजार ७५१ जनाको मनोनयन दर्ता भएको थियो।

वैशाख ३० को निर्वाचनमा मात्र ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन्।  जिल्लाका २ लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन्।

प्रकाशित मिति: : 2022-04-30 21:16:00

प्रतिकृया दिनुहोस्