नेपाली मूलका अमेरिकी राज्य विधायक डा. ह्यारी (एच.बी.) भण्डारी साताव्यापि नेपाल भ्रमणमा निस्केका छन्।
मंगलबार विहान काठमाडाैंका लागि उड्नुअघि उनले फेसबुकमा 'मैले नेपाल छोडेको छैन, अरू बिस्तारित गर्दैछु' शीर्षकमा एक लामो भावुक स्टाटस लेखेर यसको जानकारी गराएका हुन्।
उनले २००६ मा अमेरिका आएपछि २००७ र २०१५ मा दुई फरक स्टाटसमा नेपाल गएको सन्दर्भ उल्लेख गर्दै यो आफ्नो तेस्रो भ्रमण अरू विशेष भएको उल्लेख गरेका छन्। उनले खुला हृदयले आफू नेपाली-अमेरिकी भएको स्विकार गर्दै अगाडि लेखेका छन्, 'म कुनै हिनताबोध बिना म जन्मले, संस्कारले र मनले नेपाली भए पनि नागरिकताले अमेरिकी हुँ भन्न चाहन्छु। मैले भाग्यले पाएको मेरो जन्म देश नेपाल हो भने मैले रोजेर बनाएको देश अमेरिका हो। मैले यी दुबै महान देशहरूप्रति गर्व गर्न सक्नुपर्छ।'
उनले आफू अमेरिकी- नेपाली हुनुलाई आफ्नी दिदी विवाह गरेर माइतीघरबाट आफ्नो घरमा जादै गरेको परिस्थितसँग तुलना गर्दै अगाडि लेखेका छन्, 'मेरी दिदी जतिबेला विवाह गरेर जन्मघरबाट कर्मघरमा जानु भएको थियो उहाँको परिस्थिति पनि मेरो जस्तै थियो। उहाँ विवाहका अनेक प्रकिया पूरा गरेर आफ्नो घर जानु भएको थियो, म पनि नागरिकताका अनेक प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक भएको थिएँ। जसरी विवाहपछि उहाँको गोत्र, थर परिवर्तन भएको थियो, मेरो पनि लगभग त्यस्तै किसिमले नागरिक स्टाटस परिवर्तन भएको थियो। तर, मेरी दिदीका ती सबै स्टाटस परिवर्तन हुँदा पनि उहाँको माइतीघर कहिल्यै पराइ भएन, उहाँका लागि माइतीघरको ढोका सधैं खुल्ला भयो। मेरो लागि पनि नेपाल अब दिदीको माइतीघर जस्तै भयो। जसरी मेरी दिदीलाई विवाहपछि माइतीघरको विशेष स्थान रह्यो, अरू बढी प्रिय भयो त्यसरी नै मेरो लागि पनि मेरो जन्मदेश नेपाल पहिलाभन्दा अरू प्रिय र विशेष भएको छ।'
उनले बढो मार्मिक ढंगले आफूले कहीँ र कतै पनि नेपाली नछोडेको उल्लेख गर्दै बरू नेपालीलाई विस्तारित गरेको दाबी गरेका छन्। त्यसका लागि उनले एक दृष्टान्त प्रस्तुत गरेका छन्, 'म पर्वतको थापाठानामा जन्में, त्यही हुर्के, बढें। जब एसएलसी पास गरेर क्याम्पस पढ्न पोखरा आएँ, मैले मेरो जन्मगाउँ थापाठाना र जिल्ला पर्वतको परिचय बोकेर नै आएँ। मलाई पोखरामा पर्वत थापाठानाको भनियो। त्यसपछि म उच्च शिक्षाका लागि काठमाडौं आएँ, त्यतिबेला मेरो त्यो परिचय कायम मात्रै थिएन, बिस्तारित भएको थियो, पोखराबाट आएको पर्वत थापाठानाको विद्यार्थी। जब म अमेरिका आएँ, मेरो ती सबै परिचय तपसिलमा रहेर म एक नेपाली भएँ। अहिले मेरो परिचय खुम्चिएको छैन, बरू अरू बिस्तारित भएर नेपाली-अमेरिकन भएको छ। अर्थात् मैले नेपालको विशेषण नेपाली कहिल्यै छोडेकै छैन, बोकेकै छु र निरन्तर रूमा अरू बढी बिस्तारित गरिरहेको छु।'
आफू नेपालीबाट नेपाली-अमेरिकी हुनु भनेको नेपाली बिस्तारित हुनु हो भन्दै उनले अगाडि लेखेका छन्, 'यसरी नेपाल बिस्तारित गर्ने म एक्लो व्यक्ति हैन। न पहिलो हुँ, न अन्तिम। आज अमेरिकामा म जस्तो परिचय बोकेका नेपाली-अमेरिकीको संख्या लगभग ६० हजार पुगिसक्यो। र, यो क्रम बर्सेनी बढ्दो छ। नेपालको राष्ट्रिय परिप्रेक्ष्यबाट हेर्दा यो सुन्दर आँकडा हो कि हैन, त्यसमा वहस हुन सक्ला। तर, जे भए पनि यो आजको यथार्थ हो र यो यथार्थलाई हामी चाहेर पनि रातारात सच्याउन सक्ने परिस्थितिमा छैनौ। ‘बसुधैव कुटूम्बकम्’ मा विश्वास गर्ने हामी नेपाली बढ्दो विश्व भूमण्डलीकरणको युगमा छौं। त्यसैले मलाई यो सैद्धान्तिक रूपमा अब सच्याइ रहनुपर्ने विषय जस्तो पनि लाग्दैन।'
आफूलाई ठूला कुराभन्दा पनि सानो काम गर्ने र त्यसैमा रमाउने एक अकिञ्चन भूइँमान्छे भएको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ' पर्वतको थापाठानाको माटोमा जन्मी हुर्केको एक अबोध बालक जीवन-यात्राको क्रममा आज अमेरिकामा पुगेको हुँ। र, आज म जे बनेको छु, त्यो सबै नेपाली माटोको अभिप्रेरणा हो। म त्यसैका लागि कृतज्ञता व्यक्त गर्न पनि नेपाल जान लागेको हुँ।'
भनाइ नै छ, नसोध देशले तिमीलाई के दियो, सोच देशलाई तिमीले के दियौ? पर्वतको थापाठानामा जन्मेको एक नेपाली सन्तानले अमेरिकामा नेपालको परिचय बिस्तारित गर्यो र पहिलो नेपाली-अमेरिकी विधायक दियो। यसोभन्दा मलाई गर्वको अनुभूति हुन्छ। त्यही अनुभूति विनम्रतापूर्वक बाँढ्न म मेरो जन्मदेशको यात्रामा निस्कदैछु।
- डेलिगेट डा. ह्यारी भण्डारी
आफू अमेरिका आएर यहाँ बस्ने निर्णय गरेसँगै नेपाली समुदायलाई अमेरिकाको मूलधारमा समाहित गर्न आफू अमेरिकाको राजनीतिमा लागेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, 'अमेरिकामा रहेका आम नेपाली-अमेरिकीको प्रगति जोख्ने ढक मूलत: आर्थिक-भौतिक छ। म त्यसलाई अत्यन्तै सम्मान गर्छु। तर, म त्यो बाटो हिडिँन किनकि मलाई उही बाटो हिडेर फरक गन्तव्यमा पुगिन्छ भन्ने कुरामा कहिल्यै विश्वास भएन। त्यही विश्वासका कारण मैले अमेरिकामा फरक गन्तव्य निर्धारण गरें, फरक बाटोमार्फत् मैले त्यसलाई पछयाएँ। र, आज पनि म आफ्ना मानक उपलव्धीहसँगै प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छु। म चाहन्छु, धेरैभन्दा नेपाली अमेरिकी यो बाटोमा हिडुन् र जतिसक्दो चाँडो नेपाली सुमदायलाई मूलप्रवाहमा समावेश गराउन योगदान दिउन्। किनकि, योभन्दा फरक बाटो हिडेर हामी र हाम्रा सन्तति अमेरिकाको मूलधारमा उभिन सक्दैनन्।'
पर्वत थापाठानास्थित आफ्नो जन्मघर पुग्ने नै आफ्नो यात्राको मूलध्येय रहेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, 'मेरा हजुरबुबाले त्यही घरमा अन्तिमपटक दशैमा टीका लगाउँदै ‘नेपालको नाम राखेस्’ भन्दै आशीष दिनु भएको थियों। उहाँ यो संसारमा नहुनु भए पनि उहाँको आत्मा त्यही घर वरिपरि छ भन्ने मेरो विश्वास छ। म त्यो घरमा पुगेर भन्नेछु, ‘हजुरबुबा, म अमेरिकामा नेपाली-अमेरिकी विधायक भएँ, मैले त्यहाँ नेपालको नाम राख्न कुनै कसर बाँकि राखेको छैन।‘ हुन त यो एक किसिमको भावनाको कुरा हो। तर, मलाई लाग्छ, मेरो हजुरबुबाको आत्माले यो सुन्नेछ र मलाई अरू थप गर्न आशीर्वाद प्राप्त हुनेछ। मैले पहिला अमेरिका आउँदा ल्याएको माटो अलि पुरानो भएको छ, केही आलो माटो ल्याएर त्यसमा थप्नेछु। मलाई जहिले पनि त्यही माटोले केही गर्न प्रेरणा दिइरहेको हुन्छ।'
'नसोध देशले तिमीलाई के दियो, सोच देशलाई तिमीले के दियौ?' भन्ने बहुचर्चित भनाइका साथ आफ्नो स्टाटसको बिट मार्दै उनले अगाडि लेखेका छन्, 'पर्वतको थापाठानामा जन्मेको एक नेपाली सन्तानले अमेरिकामा नेपालको परिचय बिस्तारित गर्यो र पहिलो नेपाली-अमेरिकी विधायक दियो। यसोभन्दा मलाई गर्वको अनुभूति हुन्छ। त्यही अनुभूति विनम्रतापूर्वक बाँढ्न म मेरो जन्मदेशको यात्रामा निस्कदैछु।'