दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा भएको छ।
नेपालमा १३ वटा उपमहानगरपालिका रहेकोमा घोराही बालमैत्री उपमहानगर घोषणा हुनेमा पहिलो उपमहानगर हो।
आज (बधुबार) एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरे। घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गर्दै मुख्यमन्त्री केसीले घोराही एक नमुना उपमहानगर रहेको बताए।
उनले घोराहीले थुप्रै राम्रा काम गरेको भन्दै मुख्य दुई वटा राम्रा काममा एक वडा एक ताल र बालमैत्री नगर घोषणा गर्नु निकै महत्वपूर्ण काम भएको बताए।
‘घोराहीले थुप्रै राम्रा काम गरेका छन्। जसमा उपमहानगरबाट केही ताल, पोखरी संरक्षणमा अब्बलता सावित गरेको अहिले प्रदेशभरी छ। अर्को उपमहानगरलाई बालमैत्री बनाउन शाहस गर्नुभयो यो निकै महत्वपूर्ण काम हो,’ केसीले भने।
उनले बालमैत्री उपमहानगर घोषणा गर्दा जे सूचांकहरु छन्, ति सूचांकहरुलाई घट्न नदिएर माथि बढाउन पनि आग्रह गरे।
कार्यक्रममा घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटै सूचक पूरा गरिएको र यसको निरन्तर कार्यन्वय हुँदै जाने प्रतिबद्धता व्यक्त गरे। नगर उपमप्रुमख सीता सिग्देल न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विभिन्न टोलविकासका प्रतिनिधि, सरोकारवाला विभिन्न व्यक्तिले शुभकामना व्यक्त गरेका थिए।