हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग

बुटवलमा प्रहरी हिरासतमा रहेका एक युवकले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन्। वडा प्रहरी कार्यालय रामनगर बुटवलको हिरासतमा रहेका बुटवल–११ देवीनगरका रुद्रबहादुर नेपालीले सोमबार आत्महत्याको प्रयास गरेका हुन्।

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

उनलाई शनिबार साँझ प्रहरीले तामाको तार चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो। बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले नेपालीलाई तीन किलो तामाको तार कवाडीलाई बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोही घटनाको अनुसन्धानका क्रममा नेपालीलाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। तीनदेखि हिरासतमा रहेका नेपाली एक्कासि घाँटी रेटिएको अवस्थामा फेला परेको डीएसपी केसीले बताए।

हिरासतमा एक्लै रहेका नेपालीले आत्महत्या गर्ने उद्देश्यले शौचालयको साइफन फुटालेर घाँटी रेटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। शौचालयको साइफन फुटेको र त्यसको टुक्रा नभेटिएको केसीले जानकारी दिए।

घाँटीमा गहिरो चोट लागेका नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ। उनको परिवारले भने हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला पर्नु गम्भीर विषय भएको बताएको छ। नेपालीकी दिदी मनकुमारीले हिरासतभित्र जिउ ज्यानको सुरक्षाको जिम्मा प्रहरीको रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिन्। घाइते नेपालीले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइकर्मीको रूपमा कार्यरत थिए।

प्रकाशित मिति: : 2022-04-05 17:23:00

प्रतिकृया दिनुहोस्