वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाे बेला जुम्लामा गठबन्धनका नेताहरुबीच चुनाव लक्षित छलफल भएकाे छ।
चुनावलाई केन्द्रमा राखेर राजनितिक दलहरुले गाउँमा आमसभादेखि मतदाता भेटघाट, घरदैलो, पार्टी प्रवेश लगायतका गतिविधि गर्दै आएका छन्। यही बीचमा स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा गठवन्धनका जिल्ला स्तरका शीर्ष नेताहरुले छलफल भएकाे हाे।
सत्ता साँझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका जिल्ला स्तरका शीर्ष नेताहरुले स्थानीय तहको चुनाव केन्द्रित छलफल गरेका हुन्।
नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठवन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुवँर र नेकपा एकिकृत समाजवादी पार्टी जुम्लाका उपाध्यक्ष नन्दराम रोकाया बीच चुनाव केन्द्रीत छलफल भएको हो।
जुम्लामा एक नगरपालिका र ७ वटा गाउँपालिका छन्। नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनाैट गर्न गठवन्धनका दलहरुलाई निकै सकस पर्ने देखिएको छ।
गठवन्धनभित्रका दलहरुभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएकालाई उम्मेदवार छनौट सकस भएको जनाइएको छ।
दलको पार्टी भित्रको आन्तरिक नेतृत्वहरुसँग बृहत छलफल गर्ने र दलहरुले आ-आफ्नो स्पष्ट धारणा निर्माण गर्ने बैठकले निर्णय गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायत (गोल्डेन)ले बताए।
‘यसका लागि थप समय आवश्यक भएकोले चैत २५ गते पुन: बैठक बस्ने गरी छलफल भएकाे छ,' उनले भने,‘अर्काे बैठकमा आवश्यक विषयमा छलफल गर्ने र निर्णय गर्दै जाने पनि निर्णय भएको छ।'