उदयपुरमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झण्डै ३० मिटर तल भीर पाखामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए। घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ।
शव फेला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप पहिचानका लागि प्रहरीले हुलीया सहित तस्वीर सार्वजनिक गरेको छ। जस अनुसार मृतकले निलो आकशे रङ्गको जरीकोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, कालो सफ्ट जिन्स पाइन्ट लगाएका छन्।
त्यस्तै खैरो रङ्गको गलबन्दी घाँटीमा बेरेका छन्। मोटो शरीर ५ फिट ५ ईन्च उचाई, कपाल छोटो केही फुलेको अनुहारमा बाक्लो छोटो दारी छ। उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अनुमान गरिएको प्रहरीले जनाएको छ । हातको कान्छी औला केही सानो भई मासु टासिएर हत्केला तिर नुहीएकाले औँला सीधा नहुने हुलीया इलाका प्रहरी कार्यालय कटारीले सार्वजनिक गरेको छ।