साहित्य संवाद

दाजीर्लिङ, सिक्किम जस्तो मणिपुरमा साहित्यिक बजार र पाठक छैनन्: ‘रोहित’ (अन्तर्वार्ता)

हर्कबहादुर लामगादे ‘रोहित’ भारतको मणिपुर राज्यका युवा–साहित्यकार हुन्। उनको पछिल्लो पुस्तक ‘मन बल्झिन्छ’ कविता सङ्ग्रह भर्खरै बजारमा आएको छ। उनीसँग भारतेली नेपाली साहित्य र नेपालबाहिर बस्ने तन्नेरी पुस्तामा नेपाली साहित्यप्रति लेखनको रुचिका बारेमा ‘रोहित’सँग बिएल नेपाली सेवाले गरेको संवादः


सर्वप्रथम तपाईंको प्रथम कृति ‘मन बल्झिन्छ’ कविता सङ्ग्रहका लागि हार्दिक बधाई ! यो संग्रहका कविता विभिन्न भावमा लेखिएको रहेछ। यी कविता काल्पनिक हुन् या स्वयम् अनुभव गरेका भावना?

धन्यवाद ! ‘मन बल्झिन्छ’ कवितासंग्रहले अनेकन भाव बोकेका छन्। काल्पनिक थोरै र आफूले देखेका÷भोगेका अनि समाज वा  संस्थाबाट जे सिकेँ, ती नै भावलाई शब्दमा बाँधेर कविताको रूप दिन प्रयास गरेको छु।

मणिपुरमा बसोबास गर्ने नयाँ पिँढीमा नेपाली साहित्यको रुझान् कस्तो छ?

मणिपुर भारतको पूर्वोत्तरस्थित बर्मा देशको सीमान्त राज्य हो। जहाँ अनेक सम्प्रदाय, भाषा, वर्ण, भेषभूषा, जन–जातिले बसोबास गर्छन्। यो सुन्दर एवं रमणीय राज्यमा नेपालभाषी पनि आफ्नै समाज, धर्म–संस्कृति एवम् कलाले सम्पन्न भएर बसेका छन्। 

सन् २०११ को भारतीय जनगणनाअनुसार नेपालीभाषीको जनसंख्या लगभग ६० हजार थियो। यो जनसंख्या अनि यहाँको शिक्षा प्रणालीमा अंग्रेजीको अधिक चलनअनुसार, नेपाली भाषामा युवाको रुझान् सन्तोषजनक  छ। 

अहिलेको नयाँ पिँढीमा कविता, गजल, मुक्तक, कथा, निबन्ध आदि लेख्नेको खाँचो छैन। मणिपुरेली नेपालीको लोक–संस्कृति धनवान हुने भएर पनि साहित्यप्रति पनि  पुरानोपुस्तासहित नयाँ पिँढीमा यसको प्रभाव देखिइराखेको छ।

तपाईंप्रति साहित्यको लत कसरी बस्यो ? अनि पहिलोपल्ट ‘आमा’ शीर्षकमा लेखेको कवितादेखि ‘मन बल्झिन्छ’ पुस्तकसम्मको रोचक यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?

कक्षा ‘छ’ मा पढ्दा सामाजिक संस्था सूर्या फाउण्डेशनद्वारा आयोजित् शिविरमा भाग लिन असम गएको थिएँ। शिविरमा एक दिन स्वःरचित कविता लेखन प्रतियोगिताको आयोजना भयो। 

प्रतियोगिता आरम्भ हुनुअघि कविता लेखनको सानो विधि जान्ने संयोग मिल्यो– ‘क’बाट कल्पना, ‘वि’बाट विचार अनि ‘ता’बाट ताल । मैले प्रयास गरेँ। शायद् शीर्षक पनि ‘आमा’को छनोट गरेर होला– मलाई लेख्न मज्जा आयो। 

कविता लेख्ने प्रयास प्रतियोगितासम्म मात्र सीमित रहेन। मैले लेखी रहेँ। शिक्षकलाई देखाई रहेँ। शिक्षकले प्रोत्साहन दिँदा लेख्न अझ आनन्द हुँदोरहेछ।

मैले कक्षा नौ र दशमा पढ्दा धेरै कविता लेखेँ। भन्न सकिन्छ– लत नै लाग्यो। कक्षा दश सकेपछि नयाँदिल्ली आएँ। 
यहाँ साहित्य संस्था एवं साहित्यिक लेखनको वातावरण नहुँदा मेरो लेखन अवरूद्ध भयो। वर्षमा तीन–चारवटा कविता मात्र लेख्थेँ। यो क्रम सन् २०१८ सम्म चली रह्यो। 

कुनै साहित्यकार एवम् संस्थासँग भेटघाट भएन। साथै, कुनै साहित्यिक संस्थाले पनि सम्पर्क गरेनन्। म कुनै साहित्यिक संस्थासँग परिचित पनि थिइन्। कयौँचोटी यस्तो लाग्थ्यो– मैले लेख्न बिर्सिएँ होला।

सन् २०१८ मा नयाँदिल्लीमा संस्थाको कार्यक्रममा गएँ। त्यो दिन अधिवेशनमा चर्चा–परिचर्चा सुन्दा मरणासन्नमा पुगेको साहित्यिक मन पुनर्जागृत भयो। सोही रात आफूलाई स्वयम् जाँच्न एउटा कविता लेखेँ। लेख्दा पुरानो मेरो प्रवाह कलममा महसुस गरेँ। त्यस दिनदेखि कविता बेला–मौका कोरी रहेँ।

सन् २०२० मा कोरोना महामारीले लेखनमा भेल लिएर आयो। कारण, विश्व नै त्राशले घरभित्रै थुनिँदा सबैले ‘डिजिटल प्लेटफर्म’ को प्रयोग मज्जाले गरेँ।

साहित्यप्रति रुचिकर प्रायःले यही प्लेटफर्मलाई आधार बनाई अनलाइनको प्रयोग गरी साहित्यको हुरी चलाए। म पनि योगदान दिन लागेँ।
अनलाइन पत्रिका, साहित्यिक पत्रिकामा कविता, कथा, निबन्ध प्रकाशित गर्न लागेँ। मज्जाले प्रोत्साहित भएँ। साहित्यकारसँग चिनजान हुन लाग्यो। अनलाइन कार्यक्रममा निमन्त्रणा पाउन थालेँ। 

यसबीच एकचोटी घर जाँदा नेपाली साहित्य परिषद्, मणिुपरले एक दिवशीय युवा सम्मेलनको कार्यक्रम आयोजना ग-यो, जसमा मलाई विशेष आमन्त्रण थियो।

लेखनको यात्रा–गति बढी नै रह्यो। अहिले खाना खाँदा, हिँड्दा, काम गर्दा जति बेला पनि मेरो दृष्टिकोण साहित्यिक नै हुन्छ। अहिले म साहित्यको नशामा मस्त छु।

मणिपुरमा जन्मिनुभयो? साहित्य लेखन पनि त्यतैबाट सुरु भयो? पछिल्लो समय राजधानी नयाँदिल्लीमा बस्नुहुन्छ, नेपाली साहित्य लेख्न कतिको सकस र सहज छ?

नयाँदिल्ली आएपछि मेरो कलमले विश्राम लियो। विश्रममाभन्दा पनि साहित्यको परिवेश नपाउँदा कलम टुहुरोजस्तो भयो।

नयाँदिल्लीमा हिन्दी कवि सम्मेलनमा दर्शक हुँदा कता–कता लेख्न मन हुने तर आफू नेपाली भाषी र सुरुवात नेपालीबाट भएको हुनाले मनले खोजेको परिवेश पाइनँ। दिल्ली आएपछि भविष्य बनाउने अर्कै चिन्ता एवं व्यस्तताले पनि लेखनमा निरन्तरता दिन सकिनँ। लेखनमा साहित्यिक परिवेशको अधिक महत्व हुँदोरहेछ।

भारतेली नेपालीलाई पुस्तक प्रकाशन गरेर बजारसम्म लैजान कति सजिलो छ?

भारतीय नेपाली साहित्यकारलाई गाह्रो हुने भनेको पाठक एवं बजारको अभावले हो। दाजीर्लिङ, सिलगडी एवम् सिक्किममा सन्तोषजनक पाठक र बजार उपलब्ध भए पनि मणिपुरमा बजार शून्य छ।

पुस्तक प्रकाशन अघि र प्रकाशित पुस्तक पाठकसम्म पुग्दाको केही अनुभूति, सुनौँ न?

मेरो योजनामा पहिले गद्य लेख प्रकाशित गर्ने इच्छा थियो। जसलाई पूरा गर्न एक–दुई वर्ष लाग्ने सम्भावना रह्यो। साहित्यमा पहिचान एवम् गतिविधिमा नियमित प्रकारले सम्मिलित हुन कृतिको आवश्यक हुँदोरहेछ। 

मेरा शुभचिन्तक एवम् अग्रजले यहीँ सुझाव दिनुभयो कि तिमीसँग कविताको संग्रह छ। यो प्रकाशित गरे उचित हुन्छ।पाठक वर्गमा परिचित हुन्छ। र, पछि गएर गद्य प्रकाशित गर्दा व्यापक रूपमा प्रकाशन गर्न सहायक हुन्छ। 

सुझाव मलाई राम्रो लाग्यो। मेलै धेरै क्षण नष्ट नगरी कवितालाई सूचीबद्ध गरेँ अनि शुद्धीकरण एवम् मुद्रण प्रक्रिया आरम्भ गरेँ। मैले स्वयम् टङ्कन गर्नाले अनि नयाँदिल्लीमै हिन्दीभाषीले मुद्रण गर्दा सुधार आफैँ गर्नुपर्ने हुँदा व्याकरण एवम् हिज्जेमा धेरै कुरा सिकेँ। 

मुद्रण प्रक्रिया चाँडै भयो तर मेरो घर मणिपुर टाढा हुनाले प्रकाशित गर्न अलिक अधिक समय लाग्यो। पहिलो पुस्तक आफ्नो हात पर्दा आनन्द लाग्दो रहेछ।

‘मन बल्झिन्छ’ कविता संग्रह जो– अहिले पाठकको हातहातमा छ। यसमा ४७ वटा कविता समावेश छन्। कस्तो प्रतिकृया पाइरहनुभएको छ?

सामाजिक सञ्जालमा पुस्तक प्रकाशनको प्रचार गर्नु स्वभाविक हो। यो माध्यमको प्रयोग गर्नाले सबैबाट शुभकामना आइरहेको छ। परिचितको हातमा पुस्तक पाउनले वाह... वाह... भनी राख्नु भएको छ। तर उचित मूल्याङ्कन चाहिँ समालोचक एवं समीक्षकले गर्नुहुनेछ। 

पहिलो कृति भएर पनि सबैको शुभकामना, प्रोत्साहनको रूपमा पाइरहेको छु। उचित मूल्याङ्कन चाहिँ अनजान पाठकले पनि  पछि गएर दिनुहुन्छ भन्ने आशामा छु।

तपाईंका कविताहरुमा अरु क्षेत्रभन्दा समाजका पात्रहरु बढी भेटिन्छन् । यसको कारण के हो?

मनुष्य सामाजिक प्राणी हो। साहित्य समाजकै अभिन्न अंग हो। लेखनमा काल्पनिक, निजी जीवनका अनुभव या समाजमा हुँदै गरेका घटना या परिवर्तनका अंशहरू समाहित हुन्छन्।

म पनि त्यहीँ समाजले पोषित भएको प्राणी हुँ। यो कारणले पनि होला– कविता लेख्दा अरू क्षेत्रभन्दा समाजका चिर–परिचित पात्रहरूतिर मेरो ध्यान केन्द्रित हुन्छ।

कवितालाई समाजको ऐना भन्छन्। यसलाई तपाई कसरी स्वीकार गर्नुहुन्छ?

यो कथनलाई स्वीरकार्छु। लेखन चाहे गद्य होस् या पद्य, त्यसमा समाजका घटित भूत, वर्तमान र भविष्यमा आँकलन गरिएका समाजको चरित्र चित्रण हुन्छ, जसलाई साहित्यले युगौँयुगसम्म जीवन्त राख्छ।

कविता कला मात्र हो या विचार पनि ?

मेरो दृष्टिमा कविता कला अनि विचारको समाञ्जस्यले निर्माण गरेको सुन्दर सिर्जना हो। विचार धेरै छन् तर कविता लेख्ने शैली अथवा कला छैन भने कविताले रूप लिन सक्दैन। 

आफ्नो विचार, भावनालाई कलाबद्ध रूपमा ढालेपछि कविताको आकार जन्मिन्छ। रथका दुई पाङ्ग्रा समान कला र विचार कविताका पाङ्ग्रा हुन्।

तपाईंको दृष्टिमा विम्वको कवितामा कत्ति महत्व हुन्छ?

कवितामा कविले प्रायः आफ्नो नीजी कुरा प्रत्यक्ष रूपमा लेख्न सहज मान्दैन। त्यसरी नै समाजको कुनै पनि चरित्र वा घटनाको वर्णन प्रत्यक्ष रूपमा गर्न नमिल्दा कविले विम्ब अथवा तुलानात्मक ढाचामा लेख्ने गर्छ। यसरी लेख्दा कविको भावना अनि समाजले जान्नु पर्ने कुरा यथास्थान पुग्दछ। अनि बिम्बको प्रयोगले कविताको रुपमा उत्कृष्टता आउँछ। पढ्नेलाई रोचकता आउँछ। मेरा दृष्टिमा बिम्ब कविताको प्राण हो।

कस्ता लेखनहरु अमर रहन्छन्, कलात्मक या वैचारिक?

मेरो बुद्धिमतामा दुवै कुराले मिश्रित भएको कविता अमर रहन्छन्। साथमा विचार चाहिँ कुनै पनि कालमा प्रासंगिक हुनुप-यो।

साहित्य लेखनमा अब तपाईंको यात्रा?

यो पुस्तकबाट मेरो यात्रा सुरु भयो। मैले धेरै साधना, तपस्या यो जगतमा गर्नुपर्ने छ। यात्रा सफल बनाउन मैले अधिक मात्रामा अध्ययन, चिन्तन अनि साहित्यकारहरूको मार्गदर्शन लिनुपर्ने छ। 

कविता, कथा लेख्दै छु। संस्मरण लेखनमा पनि कलम अघि सारेको छु। साथै, आलेख पनि लेख्न रुचाउँछु। यी लेखहरुलाई समावेश गरी आउने दिनमा सरस्वती माताको कृपामा पुस्तक प्रकाशित गर्ने योजना मनमा उमिँदै छ। म कर्म गर्छु, फल त नियतिले दिन्छ होला।


Email adress: rohitsuryafnd@gmail.com
Facebook: www.facebook.com/rohitsuryafnd
Whatsapp No. +918882524896

प्रकाशित मिति: : 2021-08-07 19:48:00

प्रतिकृया दिनुहोस्