मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको अर्काे शवको पनि पहिचान खुलेको छ। गत बुधबार उखुबारीबाट उत्खनन गरिएको ३५ वर्षीय पुरुषको पहिचान आइतबार खुलेको हो।
मृतक व्यक्ति सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसीले बताए।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो। बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा राजेन्द्र श्रेष्ठ रहेको पहिचान खुलेको थियाे।
प्रहरी उपरीक्षक जिसीका अनुसार मृतकहरू साथी हुन्। श्रेष्ठसँगै शम्भु पनि सम्पर्कविहीन थिए। श्रेष्ठसँगको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो।
शम्भुका आफन्तले आइतबार बिहान शवको पहिचान गरेका हुन्। ‘उनीहरू सँग-सँगै रहेको देखिन्छ,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘हामी सूक्ष्म रूपमा थप अनुसन्धान गर्दै छौं।’
धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय श्रेष्ठ र शम्भुनाथ नगरपालिका–४ का चौधरी साझेदार हुन्। उनीहरू जग्गा कारोबारमा संलग्न देखिएको प्रहरीले बताएको छ।
उनीहरूकाे सँगै हत्या भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ। ‘दुवै शव नुन हालेर गाडिएको थियो, श्रेष्ठको शवमा बढी नुन हालेका कारण धेरै गलेको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो,‘ शङ्कास्पद व्यक्तिमाथि सोधपुछ जारी छ।’
उनीहरू मङ्सिर पहिलो साता काठमाडौँबाट सँगै विराटनगर आएको प्रहरी अनुसन्धानबाट देखिएको छ। बुधबार उखु काट्ने क्रममा शङ्कास्पद खाल्डो देखेपछि कामदारले प्रहरीलाई खबर गरेका थिए।
खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो। शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेका अर्काे खाल्डोमा श्रेष्ठको शव गाडिएको अवस्थामा फेला परेको थियो।