अफगानमा उस्तै छ तालिबान त्राश, ६ हजार ४ सय पत्रकारको जागिर गुम्यो

ijnet.org

अफगानिस्तानमा तालिबान समूहले सत्ता सम्हालेपछि हालसम्म ६ हजार ४ सय पत्रकारले रोजगारी गुमाएको एक सर्वेक्षण–रिपोर्टले जनाएको छ।

रिपोटर्स विदआउट बोर्डस (आरएसएफ)ले गरेको सर्वेक्षणअनुसार तालिबान समूहले २ सय ३१ वटा सञ्चारगृह बन्द गर्न निर्देशन दिएपछि ती पत्रकारहरूको जागिर गुमेको हो।

पाँच महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरूमा ८० प्रतिशत महिला छन्। जागिर गुमाउनेमध्ये अधिकांश हेरात प्रान्तका १८ वटा सञ्चारकेन्द्र र परवान प्रान्तका १० सञ्चार केन्द्र सम्वद्ध पत्रकारहरू रहेकाे रिपोर्टमा उल्लेख छ।

अफगानिस्तानमा तालिबान सत्तामा आउनुअघि सञ्चालनमा रहेका हरेक दशवटा सञ्चारमाध्यमका चारजनाभन्दा बढी बेपत्ता पत्रकार भएका छन् भने ६० प्रतिशत पत्रकारले काम गर्न सकेका छैनन्।

गृष्म ऋतुको सुरूसम्ममा अफगानिस्तानमा जम्मा ५४३ वटा सञ्चारमाध्यम सञ्चालनमा रहेको र नोभेम्बरको अन्त्यमा २०० भन्दा बढी बन्द भई ३१२ सञ्चारमाध्यम मात्र सञ्चालनमा छन्। रिपोर्टअनुसार तीन महिनाको अन्तरालमा ४३ प्रतिशत अफगान सञ्चारमाध्यम बन्द भएकाे आरएसएफको अध्ययनले देखाएको छ।

चार महिनाअघि नै अधिकांश अफगान प्रान्तहरूमा कम्तीमा पनि दशवटा निजी स्वामित्वमा रहेका सञ्चारमाध्यमहरू थिए। तर अहिले केही क्षेत्रहरूमा स्थानीय सञ्चार माध्यमहरू पटक्कै छैनन्। आरएसएफले रिपोर्टमा भनेको छ, 'पर्वतीय उत्तरी प्रान्त परवानमा पहिले १० वटा सञ्चार माध्यमहरू थिए तर अहिले तीनवटा मात्र काम गरिरहेका छन्। पश्चिमी शहर हेरात (देशको तेस्रो ठूलो) र आसपासका प्रान्तमा ५१ वटा सञ्चार माध्यममध्ये १८ वटा मात्र सञ्चालन भइरहेका छन्। यो सङ्ख्याका हिसाबले ६५ प्रतिशतले कमी हो।'

पाँच महिनाअघि सबैभन्दा बढी सञ्चारमाध्यम रहेको काबुलको मध्यभागमा पनि तालिबानको दवावले अत्यधिक सञ्चारकर्मी र कार्यरत कर्मचारी विदेश पलायन भएका छन्। कतिपय निष्कृयरूपमा देशमा नै बसेका छन्।

तालिबानले अगस्तमा देशलाई आफ्नो कब्जामा लिएपछि समूहको पहिलो समाचार सम्मेलनमा सरकारी अधिकारीहरूका लागि महिला अधिकार, सञ्चार स्वतन्त्रता र आममाफीको प्रतिज्ञा गरेको थियो। तर, कार्यकर्ता, पूर्वसरकारी कर्मचारी र पत्रकारले भने प्रतिशोधको सामना गरिरहनुपरेको रिपोर्टहरू अहिले पनि आइरहेका छन्।

प्रकाशित मिति: : 2021-12-25 05:58:00

प्रतिकृया दिनुहोस्