विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित

File Photo
File Photo

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले सो पार्टीका अर्का संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको घोषणा गरेको छ । पाण्डेले यसअघि नै आफ्नो नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिसकेका छन्।

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेका हुन्।

‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ’, विवेकशील साझाले लेखेको पत्रमा भनिएको छ।

पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र 

मितिः ६ पुष २०७८, मंगलबार 

श्री मिलन पाण्डे, 
काठमाडौं । 

विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे। 

विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ। 

पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टीकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ। 

तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ। 

अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। 

तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।

प्रकाशित मिति: : 2021-12-21 14:44:00

प्रतिकृया दिनुहोस्