विवादमा फस्यो 'निर्मल निवास', पूर्वराजाको भूमिकामाथि राप्रपा नेताले उठाए प्रश्न

महाधिवेशनको क्रममा 'निर्मल निवास' को भुमिकालाई लिएर राप्रपाभित्र देखिएको विवाद बिस्तारै भुसको आगोको रुपमा बढ्दै गएको छ।

जिल्ला कार्य समिति, मकवानपुरद्वारा हेटौँडामा आयोजित स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजसंस्थाको भूमिका  सर्वस्वीकार्य हुन नसकेको बताए।

'हामीले साझा संस्था र अभिभावकको रुपमा परिकल्पना गरेको संस्थाको भूमिका सर्वस्वीकार्य हुन सकेन', उनले भने, 'हामी काङ्ग्रेस ,कम्युनिस्ट सबैलाई मान्य हुने संस्थाको कुरा गर्ने तर त्यो संस्थाले राप्रपा पार्टीभित्रै खेल्न खोज्नु दुर्भाग्यपूर्ण हो। केन्द्रीय समिति बैठकमा हामीले यो विषयलाई गम्भीरतापूर्वक उठाएका छौँ। निवर्तमान अध्यक्षले निर्वाचित अध्यक्षलाई पत्र प्रेषित गर्नुभएको छ। पार्टी कति गम्भीर छ, हामी पार्टी निर्णयको पर्खाईमा छौ।'

यहाँ कुनै ब्यक्तिको हार जीतको विषय नभएको भन्दै बर्तौलाले प्रजातान्त्रिक विधि पद्धति अनुसार पार्टीभित्र छलफल बहस हुनुपर्ने जिकिर गरे। उनले नेतृत्व यति धेरै अकर्मण्य हुँदैन भन्ने विश्वास पनि व्यक्त गरे।

आफूहरुले बोकेको मूल्य , मान्यता बिश्वास धर्मराउने विषयलाई सामान्य रुपमा लिन नसकिने भन्दै एकथरी मान्छेहरुले हार पचाउन नसकेको भन्ने टिप्पणी षडुयन्त्र ढाकछोप गर्ने जाली तर्क भएको उनको भनाइ थियो।

सिद्धान्त र विचार प्रतिपादन गर्ने व्यक्तिमाथिको षड्यन्त्र र घेराबन्दीको सशक्त प्रतिवाद हुने समेत बर्तौलाले बताए।

जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय निर्वाचन केन्द्रित भएर गतिविधि अघि बढाउनेसमेत निर्णय गरेको छ।

प्रकाशित मिति: : 2021-12-19 13:27:00

प्रतिकृया दिनुहोस्