प्रकाशमानले सभापतिमा देउवालाई समर्थन गर्ने, शेखरलाई गम्भीर धक्का [भिडियो]

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो। दुवै नेताबीच लिखित सहमति भएको छ।

सिंहले आफ्नो निवास चाक्सीबारीमा त्यस्तो घोषणा गर्दा देउवा र सिंहको प्यानलबाट उपसभापति उम्मेदवार सुजाता कोइराला साथमै उभिएका थिइन्।

'हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिएका हौँ। तर देशभरिकै महाधिवेशन प्रतिनिधिको अधिकांशको बहुमतमा शेरबहादुरजीकै स्वीकार्यता देखियो,' नेता सिंहले भने।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए। देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन्।

भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन्।

त्यस्तै, नेता सिंहकाे शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समेत समर्थन जनाएका छन्।

शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।

‘सर्वसम्मति सर्वोत्तम! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो। सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन्।

प्रकाशित मिति: : 2021-12-14 11:30:00

प्रतिकृया दिनुहोस्