हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं, आजबाट राप्रपाको मान्छे भएर जानेछौंः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन्।

विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले सम्पन्न निर्वाचन आन्तरिक प्रतिस्पर्धा मात्रै रहेकाले आफ्ना शुभचिन्तक तथा कार्यकर्तालाई विजय जुलुस ननिकाल्नसमेत आग्रह गरेका छन्।

‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं। कोही कुनै पक्षका छैनौं,’ उनले भने, ‘आजबाट कुनै गुट छैन। कोही कसैको मान्छे छैन। हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं। आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं।’

राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने उनको भनाई रहेको छ।

‘तपाईंहरूले विश्वास गरेर हामीलाई यो जिम्मेवारी दिनुभएको छ। तपाईँको विश्वासमा कुठाराघात र धोका हुन्न। थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोरै छ भन्ने मौका दिनेछैन’, अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘तपाईँको शीर झुक्ने काम गर्दिनँ।’

लिङ्देनले मतदाताको शीर झुक्ने काम नगर्ने बताएका छन्। उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौं। एकीकरण गरेको दुई वर्ष बित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन। यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन। त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो।’

यसैबीच उनले आफ्नो विजयमा जुलुस ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे। ‘कुनै जुलुस निकाल्न पर्दैन। नाराबाजी गर्नुपर्दैन। माला बोकेर आउनुपर्दैन,’ लिङ्देनले भने, ‘यो आन्तरिक चुनाव हो, आजबाट सकियो।’ 

प्रकाशित मिति: : 2021-12-05 12:22:00

प्रतिकृया दिनुहोस्