प्रेरणादायी महिला

‘बेवारिसे’ की सहारा पूजा (भिडियाेसहित)

यतिबेला पुजा विश्वकर्मा र बेवारिसे लास एकअर्काका पर्यायवाची बन्न थालेका छन्। कुनै बेला पुजा आफै बेवारिसे भएर अर्काको घरमा ज्यालादारी काम गर्थिन। तर, अहिले सडकमा बेवारिसे बनेका मानवहरूको उद्दार गर्दै उनी सबैको स्नेहको पात्र बन्न थालेकी छिन्। 

अहिले पुजाको दैनिकी नै बनेको छ, सडकमा बसोबास गर्ने बेवारिसे मानिस तथा बेवारिसे लासको व्यवस्थापन गर्ने। तीन महिनायता उनले पाँच वटा बेवारिसे लासलाई दागबत्ती दिइसकेकी छिन्। हाल उनी साताको एकपल्ट जस्तै बेवारिसे शवको सद्गद् गर्दै आइरहेकी छिन्। 

उनी बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र बाँके शाखाकी अध्यक्ष पनि हुन्। बाँकेमा केन्द्रले बेवारिसेको व्यवस्थापन, उद्धार, उपचार र शव  जलाउने काम गर्छ, उनकै नेतृत्वमा।  
 
केन्द्रले बाँकेमा छोटो समय मै लोकप्रिय काम गरिरहेको छ। नेपालगञ्जमा ‘बा–आमा घर’ पनि केन्द्रले नै सञ्चालनमा ल्याएको हो। जहाँ सडकबाट उद्धार गरिएका बसोबास गर्छन। उनीहरूको खानपिनको व्यवस्था पनि केन्द्रले नै गर्दै आइरहेको छ। 
 
यस केन्द्रमा हाल तीन जना बेवारिसे बसोबास गर्छन। जसमा दुई पुरुष र एक बृद्ध महिला छन्। उनलाई पहिले कैलालीबाट उद्धार गरेर भेरी अस्पतालमा उपचार गरेपछि ‘बा–आमा घर’मा सहारा दिइएको हो। कोहलपुर र नेपालगञ्जका पुरुष पनि यही बसोबास गर्छन। पुजाको टिमले उनीहरुको रेखदेख गर्छ। 

नेपालगञ्जस्थित भेरी अस्पताल केन्द्र कै सक्रियतामा आधा दर्जन बढिको उपचार सम्पन्न भइसकेको छ। हालै पाँच वटा बेवारिसे लासलाई दागबत्ती दिएर सद्गद् गरिएको छ। बाँकेमा पहिलो पटक बेवारिसे लासको विनयजंग बस्नेत र पुजाले संयुक्त रुपमा दागबत्ती दिएका थिए। विनय बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष हुन्। 

अहिले भने पुजाले नै दागबत्ती दिने गरिरहेकी छन्। यसमा उनी मात्र एक्ली छैनन्। उनको यो अभियानमा दिदी र भाई पनि जोडिएका छन्। पुजालाई अन्य थुप्रै अभियान्ताको समेत साथ छ। 

पुजा नेतृत्वको टिमलाई स्थानीय सरकार र सहयोगी मनको समेत साथ जुट्न थालेको छ। उनीहरुले भौतिक, आर्थिक तथा भावनात्मक रुपमा सहयोग गरिरहेका छन्। अहिले स्वतस्फूर्त रुपमा आर्थिक सहयोग समेत जुट्न थालेको पुजा बताउँछिन्। 

दाताबाट आएको सहयोग उनीहरुले ‘बा–आमा घर’ मा बसिरहेकाका लागि खर्च गर्छन। यतिमात्रै होइन, ‘बा–आमा घर’ मा ‘वर्थडे सेलिब्रेसन’ गरेर सहयोग गर्नेहरु समेत आउन थालेका छन्। 

उक्त सहयोग केन्द्रको लागि निकै ठूलो हौसला र प्रेरणाको स्रोत भएको पुजाले बताइन्। ‘सबैको हौसला र प्रेरणाका कारण मेरो जीवन नै बेवारिसेको सेवामा समर्पित गरकी छु। यो क्षेत्रमा काम गर्दा थुप्रै चुनौति छन्। तर हामी चुनौतिलाई सामना गर्दैअघि बढिरहेका छौं।’

कुनैबेला आफ्नै बाबुको मृत्यु संस्कारमा उपस्थित हुन पाइनन् पुजाले। छुन पाउनु त टाढाको कुरा, भौतिक रुपमा टाढा भएर पनि संस्कारमा भाग लिन पाइनन्।  समाजमा विद्यामान कू–संस्कारका कारण थियो त्यो।

‘छोरी मान्छेले लास छुनुहुदैन’ भन्ने मान्यता हिन्दु समुदायमा विद्यामान छ। त्यसको सिकार बनिन्, पुजा। जीवनको निकै कष्टकर क्षणमा पुजाले भोग्नु परेको त्यहि घटनाले सधै घोचिरहयो, प्रश्न गरिरहयो। हामी छोरीले किन छुन नपाउने लासलाई?
 
पुजा त्यति बेला अबोध थिइन। तर उनको मानसपटलमा त्यहि कुराले जरो गाँडिरहयो। कालान्तरमा पुजा बेवारिसेको सहारा बन्न पुगिन्। यो बीच जिन्दगीका धेरै उकाली–ओराली व्यहोरेकी छन्। 
 
बाँकेको कोहलपुर स्थायी घर भएकी पुजाको परिवार अघिकांश समय भारत बस्यो। उनी भारत जन्मिइन। भारतमै हुर्किइन, बढिन, त्यतै पढिन। भारतमै रहेको बेला उनका बुबाको अकस्मात मृत्यु भयो।
 
बुबाको मृत्युपछि आफ्नो परिवार पुख्र्यौली घर फर्किएको पुजाले बिएल नेपाली सेवालाई बताइन। पहिलो पटक नेपाल आउँदा उनीहरुको सम्पतिको नाममा केही पनि थिएन। पुजाका अनुसार छोराछोरी हुर्काउनको लागि सम्पतिको नाममा रहेको जमिन र घर समेत बुबाले बेचेर भारतमा गएका रहेछन्। 

‘भारत मै बुबाको मृत्युपछि हामी नेपाल फर्कियौं। आफ्नै मातृभूमिका विषयमा अनभिज्ञ थिए। नेपाली बोल्न समेत आउँदैन्थ्यो। पछि सबै कुरा थाहा भयो,’ 
उनले भनिन्,‘हामी अंकल–अन्टीको घरमा बस्थ्यौं। आमा भने धन कमाउन भारत गइरहनु हुन्थ्यो।’ 

आर्थिक अवस्था कमजोर भएकी उनी कामको खोजिमा काठमाडौं गएकी थिइन। उनका छिमेकीले त्यहाँ काम लगाइदिने र पढाइदिने लोभ पनि देखाएका थिए। पहिलो पटक काठमाडौं छिर्दा उनी सातमा पढ्थिन्। उनले कक्षा ६ सम्म भने भारत मै पढेकी हुन्। त्यतिबेला उनी १३ वर्षकी थिइन्। काठमाडौंमा धेरै दुःख गरेको उनी बताउँछिन्।‘दिउँसो स्कूल जान्थे बिहान र साँझ भने सहयोगीको रुपमा काम गर्थे।’
 
कक्षा ११ मा पढ्दै गर्दा उनी बसिरहेको घरमा बस्ने वातावरण भएन। त्यहाँ उनी पढाई कम अन्य काम धेरै गर्थिन। उनीहरुले जे भनेपनि सहनु पर्ने। कति गाली गर्थे। कतिपटक हम्काउँथे।

लामो समय भएको थियो, दशैंतिहारमा घर नगएको। घर जान्छुभन्दा फर्किएर नआउनु भन्ने जवाफ आयो। त्यसपछि उनको सहारा कोही पनि भएन। सपनाको सहर काठमाडौंमा बेसहारा भइन् उनी।
 
त्यति नै बेला उनको भेट नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला ‘मेरी बास्सै’ का घिरौले अर्थात लेखान्त भूसालसँग भयो। उनलाई युट्युबमा काम गर्ने महिला चाहिएको रहेछ। घिरौलेले राम्रो बोल्नसक्ने महिला खोजिदिन आग्रह गरे। कामको  लागि भौतारिएकी पुजाको लागि ‘ढुंगो खोज्दा देउता भेटिए’झैँ भयो। 

उनले  हिम्मतका साथ भनिन्, ‘दाई म गर्छु काम। मलाई काम चाहिएको छ। मलाई अवसर दिनुहोस्।’ उनले घिरौलेलाई विश्वास दिलाइन।
 
उनले काम पाइन्। कसैले सिकाएको पनि थिएन। महिनाको १० हजार तलब दिनुहुन्थ्यो। पछि एउटा कोठा भाडामा लिए। एउटा कोठाको मासिक भाडा मात्रै ७ हजार थियो। उनी भन्छिन्, ‘महिनामा जम्मा ३ हजार बज्थ्यो। राम्ररी  खान पनि पुग्दैन थियो। भोकभाकै भए पनि काम गर्न जान्थे। कोठामा खानेकुरा हुदैन थियो। एक प्लेट मम किनेर बिहान र बेलुका दुई छाक गरेर खान्थे।’
 
केटी मान्छे। काठमाडौंमा कतिदिन भोको बसे मलाई पनि थाहा छैन भन्दै निकै भक्कानिइन् उनी। काम चलिरहेको थियो। पछि होस्टलमा बस्न थालिन्। त्यहाँ केही राम्रो भयो।

त्यति नै बेला रिर्पोटिङको शिलशिलामा पशुपतिमा जाँदा विनयजंग बस्नेतसँग भेट भएको उनले जानकारी दिइन। ‘पछि सधै जसो भेट हुन थाल्यो। उहाँले आफ्नो कामको बारेमा बताउँनुभयो। मलाई आफ्नै बहिनी जस्तै व्यवहार गर्नुहुन्थ्यो। कतिपटक लास जलाउने ठाउँमा सँगै लिएर जानुभयो। सँगै काम गरौ भन्नु भएको थियो। मलाई नराम्रो लाग्थ्यो। आफै लास जलाउनुहुन्छ। मलाई काम गरौ भन्नुहुन्छ। खासमा मलाई उहाँको काम नै मन पर्दैन थियो।’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्।
 
पछि उनीहरूको काम बुझ्दै गइन् र यसको महत्व बुझेपछि काठमाडौं छोडेर नेपालगञ्ज फर्किइन्। 
  
पछि विभिन्न मिडियामा आवद्ध भएर पुजाले काम गरिन्। यहाँ काम गरिरहेकै बेला एकदिन विनयजंग बस्नेतले पुजालाई फोन गरे। संस्थाको शाखा विस्तारको लागि आउन लागेको कुरा अवगत गराए। संस्थाको नेतृत्व गर्न पनि आह्वान गरे। त्यो कुरा सुन्दा पहिला उनले असहमति जनाइन्। आफूले नसक्ने  बताइन्। तर विनयले उनलाई कन्भिन्स गराए। फलस्वरुप बाँके जिल्लामा उनको नेतृत्वमा महिलाहरुको मात्रै समिती बन्यो। त्यो समूहमा किशोरीदेखि अपाङ्गता भएका व्यक्तिसम्म छन्।
 
यसरी सुरु भएको थियो, पुजाको बेवारिसे व्यवस्थापनको यात्रा। ‘धेरै उतारचढावपछि म यहाँसम्म आइपुगेको छु। अहिलेको कामदेखि निकै सन्तुष्ट छु। धेरैले हौसला दिइरहेका छन्। अब मेरो जीवन बेवारिसेको लागि समर्पित भइसक्यो,’ उनले गर्वका साथ भनिन्।

प्रकाशित मिति: : 2020-12-08 13:56:00

प्रतिकृया दिनुहोस्