तनहुँका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। जिल्लाका १० मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो। दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेले बताए।

शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेतृत्व चयन हुन नसकेको उनको भनाई छ। सहमतिबाट नेतृत्व छान्ने प्रयास भइरहेको न्यौपानेले बताए। माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भए पनि सकभर सर्वसम्मत नेतृत्वको टुंगो लगाउने रणनीति बनाएको छ। आकांक्षी धेरै हुँदा पनि मतदान प्रक्रियामा जान सकेको छैन। ‘सर्वसम्मत गर्ने प्रयास गरिरहेका छौं  । सहमतिमा नेतृत्वको टुंगो नलागे अन्तिम अस्त्र प्रयोग गर्दै मतदान प्रक्रियामा जान्छौं’, न्यौपानेले भने।

बन्दीपुर गाउँ कमिटीको नेतृत्व चयन गर्न शनिबारदेखि छलफल जारी छ। शुक्लागण्डकी नगरपालिकामा १८ मंसिरसम्म सहमति गर्ने म्याद निर्वाचन समितिले दिएको छ। यहाँ शनिबार नै ६५ सदस्यीय नगर कमिटी चयन गरिएको थियो।

एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरेर सात जना पदाधिकारी मात्र चयन गर्न बाँकी रहेको माओवादी केन्द्र तनहुँकी सहइञ्चार्ज आशा कोइरालाले बताइन्। सातै पदमा सर्वसम्मत गराउन लामो रस्साकस्सी भए पनि उम्मेदवार ब्याक हुन नखोजेपछि १८ मंसिर सम्मलाई अधिवेशन स्थगित गरिएको छ। उम्मेदवारी आन्तरिक तयारीमा जुटेका छन्। नेता उम्मेदवारलाई ब्याक गराउन कसरत गर्दैछन्।  ‘निर्वाचन समितिले दिएको समयसम्म सर्वसम्मत गराउन प्रयास गर्नेछौँ। नभए त्यही दिन मतदानमार्फत पदाधिकारीको टुंगो लाग्नेछ’, कोइरालाले सुनाइन्।

नगर कमिटीको सात पदमा १६ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्। मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) ले उम्मेदवारी दर्ता गराएका छन्। गुरुङ हाल नगर कमिटीका सचिव हुन्। सापकोटा वाइसिएल तनहुँ इन्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन्।

नगर कमिटी उपाध्यक्षमा रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा एक महिला सहित तीन जना निर्वाचित हुनेछन्। सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल, मिलन महतको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा पहलसिं विक, झ्यामकुमारी थापाले उम्मेदवारी दिएका छन्।

जिल्लाको व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत भएको छ। व्यासमा रामचन्द्र सापकोटाको अध्यक्षतामा नगर ६५ सदस्यीय कमिटी गठन भएको छ। दुई दिन लामो छलफलले आइतबार साँझ व्यास नगर कमिटीको छिनोफानो गरेको हो। कमिटीको उपाध्यक्षमा देवीका बुर्जा मगर, ईश्वर बस्याल र गोपाल सुर्खाली चयन भए। सचिवमा वसन्त दरै, सहसचिवमा हर्कबहादुर थापा र कोषाध्यक्षमा केहरसिंह आले चयन भएका हुन्।

भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल सर्वसम्मत भए। कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थापा चयन भएका छन्।

ऋषिङ गाउँ कमिटीको अध्यक्षमा वीरबहादुर थापा चयन भएका छन्। गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाइएको छ। उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला आले, वसन्त सदाशंकर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका छन्।

नेकपा माओवादी केन्द्रको म्याग्दे गाउँ कमिटी अध्यक्ष दिलबहादुर नेपाली बनेका छन्। उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, दण्डमान श्रेष्ठ रहेका छन्। सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशंकर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भए।

चुननारायण श्रेष्ठको अध्यक्षतामा घिरिङ गाउँ कमिटीले नयाँ नेतृत्व पाएको छ। उपाध्यक्षमा गोविन्दराज काफ्ले, बिनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन्।

आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा खगराज गौली सर्वसम्मत भए। उपाध्यक्षमा बाबुराम शर्मा, गणेश थापा, दुर्गा अर्याल, सचिवमा  गंगाराम कोइराला, सहसचिवमा श्रीप्रसाद गुरुङ चयन भए। कोषाध्यक्ष गाउँ कमिटीले चयन गर्ने जनाइएको छ।

भानु नगरपालिका र देवघाट गाउँपालिकामा भने शनिबार अधिवेशन सुरु हुन सकेन। १८ मंसिरमा यी दुई स्थानीय तहमा अधिवेशन गरिने माओवादी केन्द्र तनहुँले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-28 20:21:00

प्रतिकृया दिनुहोस्