अचम्म लाग्छ, आफू ९ महिनासम्म आफैँ बसेको पाठेघरको समस्याको बारेमा कोही कसैले किन चासो दिँदैन। घर परिवार, समाज, सरोकारवाला कोही कसैलाई आमाको पाठेघरका दुख्दा किन चासो हुँदैन। वर्षौँदेखि ‘योनी’ बाहिर पाठेघर झुण्ड्यार त्यहाँ बनेको घाउबाट झम चुहाएर कष्टकर दैनिकी गुजरा गरिरहेका निर्दोष महिलाको समस्याका बारेमा न परिवारलाई दुख्छ, न त समाज र तीनै तहका सरकारले यो विषयमा छलफल गर्छन्।
यसै कारण हो दुर्गमका महिलाहरु आज पनि दर्दनाक पीडा सहेर जिल्लतको जिन्दगी जिउनु परेको तितो सत्य हाम्रोसामु रहेको छ। महिलाहरु पाठेघरको समस्या आफ्नै श्रीमान र घर परिवारलाई पनि भन्न लाज मान्ने अवस्थाका कारण समस्या घट्न सकेको छैन।
एउटा महिलाको लागि पाठेघर झर्नु भनेको त सामाजिक लाज हो भन्ने भ्रम छ। गर्भवती हुँदा, प्रसवको समयमा र सुत्केरीपछि राम्रो स्याहार, पोषिलो खाने कुरा नपाउनु र सानो उमेरमा हुने बच्चा जन्माउनु पाठेघर झर्नुको मुख्य काराण हो। तर समाजले महिलालाई पापसँग जोडिदिएको छ। जसले गर्दा महिलाहरु नारकीय जीवन जिउन बाध्य छन्।
दुर्गम जिल्ला रुकुम घर भएकी सिमाको (नाम परिवर्तन) १४ वर्षको उमेरमा मागी विवाह हुन्छ। ठुलो परिवार, सबै काम बुहारीले गर्नुपर्ने मान्यता रहेको समाजमा उनी गर्भवती हुन्छिन्। १६ वर्षमा नै बच्चा जन्मिन्छ। बच्चा जन्मेको एक साता नहुँदै पँधेरोबाट पानीको गाग्री ल्याउँदै गर्दा उनको पाठेघर बाहिर आउँछ। तर पनि बर्सेनि उनले ५ वटा सन्तान जन्माउँछिन्। परिपक्व उमेर नहुँदै पाठेघर बाहिर झुण्डिँदा खुट्टा र कपडाले रगडिएर भएको घाउबाट झम चुहाउँदै दैनिकी चलाउनुको पीडा उनलाई मात्र थाहा छ।
उनका लागि औषधि उपचार एकादेशको कथा जस्तै छ। न जीवनसाथी भनिएका श्रीमानले उपचार गर्न जाउ भन्छन्, न त आफैँ आँट गरी स्वास्थ्य संस्थामा देखाउन जान्छिन्। आर्थिक अभावमा दुई दशक नारकीय जीवन बिताएकी उनले २१ वर्षपछि गत साल गाउँमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचार गर्ने अवसर पाइन्।
शिविरमा सञ्चालनका लागि पुगेका स्वास्थ्यकर्मीसमेत आश्चर्य पर्ने गरी बनेको घाउले उनीहरूलाई सोच्न बाध्य बनाउँछ। पाठेघर बाहिर छ। त्यसमा घाउ भएर भित्र नै पस्दैन। उनको उपचार भनेको मात्र शल्यक्रिया थियो। शल्यक्रिया गर्नलाई २ दिन गाडीमा यात्रा गर्नुपर्ने तर उनीसँग भाडासमेत थिएन। केही समय उपचार नभए क्यान्सर हुन सक्ने डाक्टरको सल्लाहका कारण यताउती गरेर पाठेघर फालेकी सिमालाई यतिबेला सहज भएको छ।
रुकुमकै ७५ वर्षीया शीला (नाम परिवर्तन) २८ वर्षको उमेरमा तेस्रो बच्चा जन्मेपछि झरेको पाठेघर वर्षौँसम्म यौनी बाहिर झुण्ड्याएर जीवन जिउन बाध्य भइन्। अर्की श्रीमती ल्याउँछन् भन्ने डरले आफ्नो श्रीमानलाई कयौँ वर्ष समस्या लुकाएर राखिन्। दैनिक गरिने घरायसी कामले च्याप्दै गर्दा सबै पाठेघर बाहिर आउन थाल्यो। यसको उपचार हुन्छ भन्ने थाहा नपाएकी उनी न स्वास्थ्य संस्थामा जचाउन गइन्, न त समस्या कसैलाई सुनाइन्।
जीवनको ४७ वर्ष पाठेघर झुण्डाएर नारकीय जीवन बिताइन्। गएको वर्ष स्थानीय तहले सञ्चालन गरेको स्वास्थ्य शिविरमा जचाउँदा पाठेघर संक्रमण भएको औषधिसँगै ‘रिङ प्रेसरी’ लगाएपछि यतिबेला नयाँ जीवन पाएको अनुभूति गरेकी छिन्।
माथिका घटना प्रतिनिधि पात्रमात्र हुन्। यस्ता खालका पीडा भोगेका हजारौँ महिलाहरु आज पनि ग्रामीण बस्तीहरुमा थुप्रै छन्। यस्ता पीडालाई सम्बोधन गर्न नीति तथा कानुन छन् तर व्यवहारिक पाटो बलियो नहुँदा र घरछेउमा रहेको स्वास्थ्य संस्थामा उक्त सेवा उपलब्धता नहुँदा धेरै महिलाको जीवन अधकल्चाे बनेको छ।
विद्यमान नीति कार्यान्वयन र स्वास्थ्य पनि विकासको पाटो हो भन्ने बुझाइ नहुँदासम्म आमाका पाठेघरहरु असुरक्षित हुने छन्। जुन दिन हामी बसेको पाठेघर हाम्रो भन्ने सोचको विकास हुन्छ, त्यो दिन मात्र आमाहरुका पाठेघर सुरक्षित हुनेछन्।
हाम्रो समाजमा परिवर्तन नभएको हैन, धेरै परिवर्तन भएको छ। पटकपटक जबर्जस्त व्यवस्था परिवर्तन भएका छन्। जनआन्दोलन र युद्धपछिको आमुल परिवर्तन भन्दै घरछेउमा आएका सिंहदरबारमा विराजमान दरबारबिनाका सिंहहरु भौतिक सुधारलाई विकास भन्ने मान्यता बोकेर अगाडि बढिरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगार र कृषिला देखाउने नाराका रुपमा प्रयोग गरिए पनि व्यक्तिका मानव अधिकार र मौलिक हकका बारेमा सबै मौन छन्।
जिल्ला अस्पतालमा समेत विशेषज्ञ चिकित्सक नभेटिने, दुर्गमका अस्पतालमा सेवा गतिलो नहुँदा समस्या बल्झेको बुझेका तीन तहका सरकारले समय समयमा गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चाल गर्न सके मात्र पनि धेरै समस्या समाधान हुने देखिन्छ। संविधानमै लेखिएका मौलिक हक गाउँमा छिर्न सकेन भने आमाहरुलाई कहिल्यै न्याय हुने छैन।
(लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुम (पूर्व)की जिल्ला संयोजक हुन्।)