राजा त राजै हुन् 

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्नतिर काठमाडौँ ओर्लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘अति विशिष्ट’ पाहुनाका रुपमा स्वागत गरे।

एउटा राष्ट्र प्रमुखको हैसियतमा उनले समकक्षीलाई ‘राजकीय’ सम्मानका साथ स्वागत गर्न पुगेका थिए। अघिल्लो वर्ष राष्ट्रपति भएपछि राष्ट्रप्रमुखका हैसियतले पौडेलले पहिलोचोटी कतारका राजालाई विशिष्ट स्वागत गरे।

भ्रमणले एउटा ‘राजकीय’ भ्रमणका रुपमा नेपाल राष्ट्रबाट जति सम्मान पाए त्योभन्दा बढी उनको भ्रमण ‘राजा’ र राजनीतिमा केन्द्रित भएर टीका टिप्पणी पनि भइरहेको छ।

सरकारले उनको भ्रमणलाई विशिष्ट राजकीय भ्रमणको दर्जा दिएको छ। त्यसको तामझाम र चाँजोपाँजोले नेपालीलाई करिब सन् २०१९को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको याद दिलायो। तर, यसपालि भने कुनै राष्ट्र प्रमुखको हैसियतमा कुनै देशको राष्ट्रपति होइन ‘राजा’ नेपाल आएका छन्।

नेपालीको प्रमुख श्रम गन्तव्य राष्ट्र(खाडी)हरूमध्ये नेपाल भ्रमणमा आएका यी ‘राजा’ सम्भवत: पहिलो अतिविशिष्ट व्यक्ति हुन्। तर, अहिलेसम्म खाडीका कुनै पनि राष्ट्रमा नेपालको ‘राजकीय’ भ्रमण हुन सकेको छैन।

सम्भवत: राजतन्त्रको अन्त्यपछि नेपालको भ्रमणमा आएका यी पहिलो ‘राजा’ हुन्। सरकारले यिनको भ्रमणका अवसरमा मंगलबार देशभरि सार्वजनिक बिदा नै घोषणा गर्‍यो। राष्ट्रपति र प्रधानमन्त्रीसहित सरकारका सबैजसो मन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि यी ‘राजा’को स्वागतमा लामवद्ध भएका थिए। काठमाडौंले फेरि एकपटक सिङ्गारपटार पायो।

विश्वव्यापी ‘नेट जीरो’को लक्ष्यलाई पछ्याउनका लागि कतारको मरुभूमिलाई ‘हरित’ सहर बनाउन लागिपरेको कतारलाई अहिले विश्वका धेरै राष्ट्रहरूले उसको हावापानीमा हुर्किनेखालका बिरुवा दिएर ‘हरित कूटनीति’ अपनाइरहेका छन्। कतारी राजाको यो विशिष्टिकृत भ्रमणमा नेपालले उसलाई एकजोडा ‘हात्ती’ दिएर यो भ्रमणलाई अझ रोचक बनायो।

केही रोचक पनि बनेको कतारी राजाको यो भ्रमणलाई केही पार्टीहरू र नेताहरूले राजनीतिको अर्को रोचकतासँग पनि गाँसिदिए। गणतन्त्रपछि नेपालमा राजा मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कतारी राजाको यो भ्रमणलाई आफ्नो राजनीतिक गर्भसिद्धान्तसँग जोडेर टिकाटिप्पणी गर्नसमेत भ्यायो।

‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ’, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘…यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो। त्यसैले हिनता बोध नगरौँ! नवीन समझदारी गरौं! नेपालको हिँजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ…।’

यही पार्टीका अर्का नेता रवीन्द्र मिश्रले यही सन्दर्भमा एउटा आफ्नो ‘राजकीय’ कल्पना पनि गर्न भ्याए ‘अन्य माग र सम्झौताका अलावा कतारका राजालाई नेपालमा ‘दक्षिण एसियाकै’ सबैभन्दा उत्कृष्ट/विशाल/कलात्मक मस्जिद (इस्लामावादको फैजल मस्जिदभन्दा पनि भव्य) बनाइदिन आग्रह गर्ने थिएँ।’


अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी सवार भिडियो–


को हुन् शेख तमिम बिन हमाद अल थानी?

सन् २०१३मा बुबा शेख हम्माद बिन खलिफाले तमिम बिन हमाद अल थानीलाई कतारको राजा घोषणा गर्न उनी मात्रै ३३ वर्षका थिए। सम्भवत: खाडीका राजामध्ये यी सबैभन्दा कान्छा राजा पनि हुन्।

पारिवारिक कोपभाजनका कारण उनका जेठा दाजुले राजसिंहासनमाथि आफ्नो दाबी छोडेपछि राज खानदानका यी साँहिला छोरा तमिम बिन हमाद अल थानीले राजा हुने मौका पाएका हुन्।

आफ्नो औपचारिक शिक्षापछि कतारी सेनामा भर्ती भएका उनी सेनाको लेफ्टिनेन्टसम्म भएका थिए। अरब देशका सबैहरूमा सबैभन्दा धेरै धनी व्यक्तिसमेत रहेका उनका तीनवटी ‘रानी’ छन्। सबैभन्दा कान्छी रानीलाई उनले आफू राजा घोषणा भएपछि सन् २०१४मा भित्र्याएका थिए। यी तीन रानीबाट उनले १३ सन्तान जन्माइसकेका छन्। 

कतारी शाही परिवारसँग भएको करिब ३३५ अर्ब डलर सम्पत्तिमध्ये उनी एक्लसँग १.६ बिलियन पाउण्ड बराबरको चलअचल सम्पत्ति छ। दोहाको राजदरबारमा बस्ने उनी समुद्रमा बनेको एउटा बिलासी महलमा पनि बस्छन्। समुद्रमा तैरिएकोजस्तै देखियो यो भव्य र बिलासी महलका धेरैजसो देखिने भागहरू सुनजडित छन्।

नेपाल-कतार सम्बन्ध

करिब ४७ वर्षअघि नेपाल र कतारबीच औपचारिकरुपमा कूटनीतिक सम्बन्ध नगाँसिदै ‘कमाउन’का लागि केही नेपाली कतारमा पुगिसकेको थियो। दुई देशबीच सन् १९७७मा मात्रै कूटनीतिक सम्बन्ध स्थापित भएको थियो।

त्यसको करिब २३ वर्षपछिमात्रै अर्थात् सन् २०००मा नेपालले कतारमा राजदूतावास खोल्यो भने त्यसको करिब ११ वर्षपछि अर्थात् २०११मा कतारले काठमाडौँमा दूतावास खोल्यो। त्यतिञ्जेल कतारले नेपाल मामिला हेर्नका लागि दिल्लीस्थित आफ्नो दूतावासमा ‘नेपाल डेस्क’ बनाएको थियो।

यो बेलासम्म नेपाली धेरै युवाको धेरै पसिनाले कतारी मरुभूमि सिञ्चित भइसकेको थियो। सन् २०२२ मा कतारले फुटबलको विश्वकप प्रतियोगिता आयोजना गरेको थियो। त्यसका लागि उसले करिब एक दशक तयारी गरेको थियो। यो विश्वकपका लागि कतारले निर्माण क्षेत्रमा लाखौँ नेपाली कामदार भित्र्याएको थियो।

अन्तराष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकारवादी संघसंगठनहरूले यो क्रममा कतारले अन्तर्राष्ट्रिय श्रमिकहरूमाथि ब्यापक अत्याचार गरेको र उनीहरूको मृत्युको खबरलाई लुकाएको भन्दै ब्यापक आलोचना पनि भएको थियो।

ब्रिटिस साम्राज्यबाट मुक्त नहुञ्जेल कतार अहिलेको जस्तो कतार थिएन। खासगरी विश्वका कैयौँ शक्ति राष्ट्रसँगै खाडीका समेत कतिपय मुलुकले उसमाथि ‘प्रतिबन्ध’ लगाएपछि कतार आफ्नै बुँतामा उभिने प्रयास गर्‍यो।

करिब-करिब ३१ लाख १९ हजार पाँच सय ८९ जति जनसंख्या भएको कतारमा कानुनीरुपमा पाँच लाखको आसपासमा नेपाली बस्छन्। कानुनीरुपमा कुनै निकायमा ‘हिसाबकिताब’ नराखिएका अरु हजारौं नेपाली पनि कतारमा छन्। सामान्य मजदूरी गर्न छिरेका धेरै नेपाली अहिले कतारमा गन्यमान्य ब्यापारी भइसकेका छन्।

नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन्। शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रुपमा छन्।

नेपाल-कतारबीच अहिलेसम्म भएका सम्झौताहरू

दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन्। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो।

यद्यपि, हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन। दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो। सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो। त्यस्तै दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो।

दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ। नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसैगरी कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौँमा सम्पर्क कार्यालय खोलेको थियो। नेपालका उद्यमीहरु कतारमा सङ्गठितसमेत भएका छन्। सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु सङ्गठित भएर संस्था दर्ता भएको थियो।


थानीको स्वगतमा सजाइएको काठमाडौँ (भिडियो)–


कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो। स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो। कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो। कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो। यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रुपमा कतारले लिँदै आएको छ।

विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन्। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेका थियो।

सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए। त्यसैगरी, सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए।

तत्कालनी सभामुख कृष्णबहादुर महरा सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए। तत्कालीन उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थिए। त्यसअघि तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए।

कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरूमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमण आएका थिए।

कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधीले सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए। कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए।

कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ। कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ।

नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा रु. एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र नौ करोड १९ लाख बराबरको निर्यात भएको छ।

नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैँची, कतारमा निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ।

- (राससको सहयोगमा)

प्रकाशित मिति: : 2024-04-23 18:18:00

प्रतिकृया दिनुहोस्