आगलागी: ११ दिनमा ८ जनाको ज्यान गयो, करोडौँको धनमाल खरानी

बितेको ४ महिनामा ३ सय ३७ ठाउँका वन डढेलोले सकेको छ। बस्ती बचाउन हम्मेहम्मे परेको छ। यो विपत्तिको शृङ्खला हरसाल दोहोरिइरहन्छ। तर, डढेलो नियन्त्रणमा सरकारको प्रभावकारी पहलकदमी भने देखिएको छैन। ठुलै परिणाममा सल्किएका आगो निभाउन अरु देशमा आकाशबाटै पानी वर्षाइन्छ तर नेपाल भने स्याउलाले आगो निभाउने हर्कतबाट माथि उठ्न सकेको छैन। 


वर्षा सकिएसँगै सुख्खा भएका वन जंगल अनि खेतबारीमा आगो सल्किएका दृश्य हरेक वर्ष दोहोरिन्छन्। मानिसका सामान्य लाग्ने तर गम्भिर लापरबाहीबाटै हुने यस्ता घटनाहरूबाट भोग्ने परिणामलाई सरकारले जहिल्यै नजर अन्दाज गरिदिन्छ।

खासगरी गर्मीको सुरुवातसँगै कतिपय वनमा सल्किएको डढेलोले बस्तीलाई समेत सखाप पारेका घटनाहरू हरदिन समाचार बनिरहेका छन्। कतै बनको डढेलोले बस्ती सखाप पारिरहेको छ अनि कतै एउटा घर वा खेतबारीमा सल्किएको आगोले सारा बस्ती र कैयौँ ज्यान पनि खरानी बनाइरहेको छ।

चर्किरहेको घामसँगै अचेल वन अनि बस्तीहरूमा आगो नै आगो देख्न सकिन्छ। वन र बस्तीहरूमा सल्किएको यो आगोले यसै वर्षको वैशाख १ गतेदेखि १२ गतेसम्ममा ८ जनाको ज्यान लिइसकेको छ। सयौँ चौपाया मरेका छन् र करोडौँको क्षति भइसकेको छ।

देशभरिका तीन सयभन्दा धेरै वन डढेलोमा ह्वार्ह्वार्ती बलिरहँदा बुधबार दिउँसो महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा गाछीमा सयभन्दा बढी घरहरू आगोले जलेका छन्।

एउटा घरमा राखिएको परालबाट सल्किएको आगोले सारा बस्ती क्षणमै खरानी बनाइदियो। मध्यदिनमा भएका कारण यो आगलागीको घटनामा मानवीय क्षति त हुन पाएन तर हजारौँ मानिस र चौपायाको बिचल्ली भयो र धनमालको क्षति भयो।

गुल्मीको इस्मा गाउँपालिकामा शनिबार (चैत ८ गते) वनको डढेलो बस्तीमा पसेपछि ६७ वटा घरगोठ जलेर नष्ट भए। वडा नम्बर २ को सिदुङखाको रानी सामुदायिक वनको डढेलो गाउँमा पसेको थियो।

गाउँमा डढेलो पसेपछि स्थानीयले भागेर ज्यान त बचाए तर पशुचौपाय निकाल्न पाएनन्। ४० बढी पशुचौपाय एकै दिन गोठमा बाँधिएकै अवस्थामा जले।

जिल्लामा डढेलोको क्षति अझै रोकिएको छैन। सोमबारसम्म जिल्लाको ४६ हजार ९८ हेक्टर वनमध्ये १२ सय ४८ हेक्टर वनलाई डढेलोले सखाप पारिसकेको छ। अझै पनि विभन्न वनमा डढेलो लागिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताए।

डढेलो गाउँमा पसेर घरगोठ जलेपछि स्थानीयको बास त्रिपालमुनि बनेको छ। हाललाई डढेलो पीडितलाई राहत वितरण त भइरहेको छ तर त्यो दीर्घकालीन छैन।

‘गुल्मीका धेरै ठाउँका वन डढेलोले सखाप बनाएको छ। डढेलो गाउँमा पस्दा धेरै घरगोठ जलेको छ’, प्रशासकीय अधिकृत ज्ञावलीले भने, ‘डढेलो पीडितलाई दैविक प्रकोप उद्धार कोष, स्थानीय तह, रेडक्रसलगायतले राहत वितरण गरिरहेका छौँ।’

डढेलोले गुल्मीमा मात्र क्षति गरेको छैन। डढेलोले देशका धेरैजसो वन सखाप बनाइसकेको छ। बनाइरहेको छ। बुधबार यो समाचार तयार पार्दै गर्दा देशभर १ सय ५२ ठाउँमा डढेलो लागिरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले साँझसम्म डढेलो लाग्ने ठाउँको संख्या ४ सय बढी पुग्ने बताए।

बुधबार प्युठान, सिन्धुली, डढेलधुरा, डोटी, सुर्खेतलगायत ३५ जिल्लामा ब्यापक रुपमा डढेलो लागिरहेको छ। मंगलबार (हिजो) प्युठान, दाङ, सुर्खेत, बाँके, गुल्मीलगायत ५३ जिल्लाका ४ सय ३४ ठाउँमा डढेलोबाट प्रभावित बन्यो।

डढेलो लाग्नेक्रम अझै बढ्ने सम्भावना छ। डढेलो नियन्त्रण हुन पानी पर्नुपर्ने हुन्छ। तर, हाललाई पानी पर्ने सम्भाना नरहेको र गर्मीले ‘लु’ लाग्नेसम्मको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिइसकेको छ।

यस्तो अवस्थामा हावा बढी चल्ने र हावा चलेमा डढेलो निभाउन सम्भव नहुने डढेलो विज्ञ शर्माले बताए। उनले अहिले डढेलो निभाउने भन्दा पनि गाउँ र व्यक्ति आफू कसरी सुरक्षित हुने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

डढेलो उच्च विन्दुमा

वैशाखको दोस्रो साता नेपालमा डढेलो उच्च विन्दुमा पुगेको शर्मा बताउँछन्। ‘अहिले डढेलो उच्च विन्दुमा पुगेको छ’, उनी भन्छन्, ‘वैशाखको दोस्रो हप्ता डढेलोको उच्च जोखिमको समय पनि हो।’

पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने यस वर्ष डढेलो निकै बढेको छ। गएको जनवरीदेखि यस अप्रिल २४ सम्म ३३७ ठाउँमा डढेलो लागेको छ। अघिल्लो वर्ष यही समयमा (सन् २०२३ को जनवरीदेखि अप्रिल २४ सम्म) १४७ ठाउँमा डढेलो लागेको थियो। सन् २०२२ को यही समयमा भने ८५२ ठाउँमा डढेलो लागेको थियो।

नेपालमा सबैभन्दा बढी आगलागी सन् २०२१ मा भएको थियो। यस वर्ष ६ हजार ५ सय बढी ठाउँमा डढेलो लागेको थियो। सन् २०२२ र ०२३ मा कम डढेलो लागेको र पातपतिङ्गर जम्मा भएकाले पनि यस वर्ष धेरै ठाउँमा डढेलो लागेको डढेलो विज्ञ शर्माले बताए।

डढेलो नियन्त्रणमा चुकिरहेको छ सरकार

डढेलोले निम्त्याउने विपत्ति वर्षेनिको हुने श्रृङ्खला बनेको छ। हरेक वर्ष वन र बस्ती डढेलोले सखाप पार्छ तर यसबाट जोखिन र डढेलो लाग्न नदिनका लागि सरकारको पहलकदमी प्रभावकारी बन्न सकेको छैन।

नेपालमा डढेलो नियन्त्रणका लागि केही सचेतना जगाउने कोठे बैठकबाहेक बाँकी काम हुन सकेको छैन। जिल्लादेखि पत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति छन्।

यी समितिले विपत्तका समयमा भएको क्षतिको विवरण ल्याउनेबाहेक प्रभावकारी काम गरेको पाइँदैन।

डढेलोको असर कुनै वन सखाप हुनुमात्र होइन। वायु प्रदुषणदेखि जीवजन्तुको विनास हुन्छ। मानिसको स्वासप्रस्वासमा प्रत्यक्ष समस्या समस्या सिर्जना हुन्छ।

तर, सरकारी निकायको प्रभकारिता कतै देखिँदैन। वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठकले डढेलो नियन्त्रणनै भनेर प्रभावकारी काम हुन नसकेको स्वीकारर्छिन्।

‘डढेलो हाम्रो देशमा मात्र होइन। अन्य देशमा पनि हुन्छ। त्यहाँ हेलिकप्टरबाट पानी खन्याउनेसम्मको प्रविधि छ’, उनी भन्छिन्, ‘यहाँ यस्तो प्रविधि त धान्न सकिँदैन। अहिले भएको प्रयासहरु प्रभावकारी हुन सक्दैन।’

डढेलो विपद भएपनि यसलाई नियन्त्रणका लागि धेरै उपायहरु अपनाउन सकिने डढेलो विज्ञ शर्मा बताउँछन्। ‘डढेलो नियन्त्रण गर्न नसकिने होइन। हाम्रा सबै सम्यन्त्रहरुलाई प्रभावकारी रुपमा चलाउने, सोही अनुसारको बजेट व्यवस्थापन गर्ने हो भने डढेलो कमी गर्न सकिन्छ’, उनी भन्छन्।

प्रकाशित मिति: : 2024-04-24 20:38:00

प्रतिकृया दिनुहोस्