पचहत्तर वर्षमा उछिट्टिएका कम्युनिस्ट टुक्राहरू

मिल्ने त छाँटकाट नै छैन

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५औँ वर्ष पार गरेको अवसरमा हीरक जयन्ती मनाइएको छ। सोमबार ललितपुरको गोदावरीमा भव्य कार्यक्रम गरी नेकपा एमालेले हीरक जयन्ती मनाएको हो। 

२००६ सालमा भारतमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। उनको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हाल अस्तित्व छैन। 

पुष्पलालले नेतृत्व गरेको पार्टी हाल विभाजनको अनेक ठक्कर खाँदै नेकपा (एमाले) बनेको छ। यद्यपि ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता भने छ। यो पार्टी आम रुपमा अस्तित्वमा देखिँदैन।

नेताहरू टुक्रे पार्टी पसलमा मस्त

कम्युनिस्ट पार्टीले हीरक जयन्ती मनाउँदै गर्दा नेपालमा कम्युनिस्ट नेताहरू टुक्रे पार्टी बनाउनमा मस्त छन्। संसदीय राजनीतिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी छन्। यी सबै दल कुनै समय एउटै पार्टी (नेकपा कम्युनिस्ट पार्टी)मा थिए।

तर विधि र विचारभन्दा व्यक्ति स्वार्थमा लागेर नेताहरूले पार्टी टुक्र्याउँदै कम्युनिस्ट पार्टीको दोकान नै बनाएका छन्। यति धेरै नेपालमा कम्युनिस्ट पार्टी छन् कि जसको हिसाब गर्न समय खर्चनुपर्छ। 

७५ वर्षमा नेपालका कम्युनिस्ट पार्टीले निकै आरोह–अवरोह भोगे। त्यो झापा विद्रोह होस् वा १० वर्षे सशस्त्र युद्ध। मुलुकको व्यवस्था परिवर्तनमा कम्युनिस्ट पार्टीले नेतृत्व गरे। 

कयौँ पटक टुटफुट र एक ठाउँ पनि भए। तर सबै कम्युनिस्टमा आस्था राख्नेहरू अझै पनि आफै लडिरहेका छन्। उनीहरू बेलाबेला एक ठाउँ हुनुपर्ने भन्छन् पनि तर एक ठाउँ हुने भन्दा नेतापिच्छै पार्टी बनाउने क्रम बढ्दो छ। 

सशस्त्र युद्धको नेतृत्व गरेको नेकपा माओवादी पार्टी हाल नेकपा माओवादी केन्द्रका रुपमा अस्तित्वमा छ। जुन टुटफुट र मिलनबाट बनेको हो। माओवादीबाटै छुट्टिएर मोहन वैद्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपाको नेतृत्व गरेका छन्। 

यी बाहेक पनि अन्य साना–साना समूहमा माओवादीबाट छुट्टिएर पार्टी बनाउने नेताहरू छन्। जसले कम्युनिस्ट पार्टी जुट्ने भन्दा बढी छुट्नेमा उद्धत भएको प्रष्ट पार्छ।

कम्युनिस्ट नेताहरू मिल्ने छाँट छैन

नेपालमा दुई ठुला कम्युनिस्ट पार्टी एक नभएका पनि होइनन्। २०७४ सालमा गठबन्धन गरेर निर्वाचनमा गएका एमाले र माओवादी २०७५ जेठ ३ मा एक भएर नेपाल कम्युनिस्ट पार्टी बनाए। 

तर यो पार्टी मिलेको तीन वर्ष (विस २०७८)मा तीन टुक्रा बन्यो। माओवादी र एमाले आफ्नै ठाउँमा आए। अदालतले उनीहरूलाई २०७८ फागुन २३ मा अलग गरिदियो।

जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। र उनले असंवैधानिक रुपमा संसद भंग गरिदिएपछि पार्टी तीन टुक्रा बनेको थियो। 

फागुन २३ मा माओवादी अगल भएपछि माधव नेपालले २०७८ भदौ २ मा एमालेबाट छुट्टिदै नेकपा एकीकृत समाजवादी पार्टी बनाए। 

एउटा पार्टी तीन टुक्रा बनाएका नेताहरू बेलाबेलामा पार्टी एकीकरण वा कम्युनिस्ट एक हुनुपर्ने भन्दै आइरहेका छन्। तर उनीहरू मिल्ने भन्दा एकले अर्कोमाथि रोष प्रकट गरिरहेका छन्।

जसले सोमबार एमालेले आयोजना गरेको हीरक जयन्तीमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी बन्न सकेनन्।

हीरक जयन्तीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नै कम्युनिस्ट पार्टी एक हुन सक्ने अवस्था नरहेको बताए। 

‘हामीले विभाजनको तितो अनुभव गरेका छौँ। अहिले नै हौसिएर, हतारिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ’, प्रचण्डले भने। उनले २०७४ मा एमाले–माओवादीको मिलनबाट झण्डै दुईतिहाइ मत ल्याएको स्मरण गर्दै कम्युनिस्टहरू एकताको बाटोमा हिडेको दनमा देशमा उत्साह, उमंगको वातावरण बनेको बताए। 

तर उनले अब कम्युनिस्ट पार्टीले १०० (सताब्दी) वर्ष मनाउने क्रममा पार्टीलाई नयाँ चरणमा लैजानुपर्ने बताए। ‘अबको २५ वर्षपछि हामी १००औँ वर्षमा पुग्ने छौँ। हामीले यो बिचमा धेरै प्रयोगहरू गरेका छौँ। सफलता पनि हात पारेका छौँ। धेरै असफलताको तितो अनुभव गरेका छौँ’, उनले भने ‘सफलता र असफलताको वस्तुवादी समिक्षा गरी आउने १०० वर्षमा समाजवादको नयाँ चरणमा पार्टीलाई पुर्याउने संकल्प गर्नुपर्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अहिले कम्युनिस्ट पार्टी एक हुने अवस्था नरहेको बताउँछन्। ‘विभिन्न समयमा अनुचित हानिकारक विभाजनहरू भए। विभाजनबाट फेरि हामी उठेका छौँ’, उनले भने, ‘अहिले तत्काल पार्टी एकीकरण गरिहाल्ने अवस्था छैन।’

अहिले नै पार्टी एकता गरे ब्यक्तिगत आकांक्षा मात्र हुने उनको भनाइ छ। अहिले विचार मिल्ने पार्टीहरूबीच सहकार्यका माध्यमबाट अगाडी बढ्ने बताउँदै उनले वामपन्थीहरू एक हुने अवस्था देशमा नरहेको बताए। 

प्रकाशित मिति: : 2024-04-22 20:00:00

प्रतिकृया दिनुहोस्