सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोतका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध मुद्धा दायर

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले १० जनाविरुद्ध शुक्रबार विशेष अदालत मुद्धा दायर गरेकाे हाे।

अख्तियारले मालपोत कार्यालयका तत्कालीन खरिदार पौडेल, नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ।

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ।

यस्ताे छ अख्तियारकाे आरोपपत्र

जिल्ला सोलुखुम्बु, साविक जुभिङ्ग गा.वि.स. वडा नं. ५ को कि.नं. 579 र 581 जग्गाहरु नक्कली श्रेष्ता खडा गरी/गराई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलले तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको जिल्ला सोलुखुम्बु, जुभिङ्ग गा.वि.स. वडा नं. ५ को कि.नं. ५७९, ५८१ र १५२ बाट कित्ताकाट भई कि.नं. ६२०, क्षेत्रफल 3100.00 व.मि., कि.नं. ६२२, क्षेत्रफल 2500.00 व.मि. र कि.नं. 624, क्षेत्रफल 4700.00 व.मि. जग्गा वदनियतपूर्वक बुद्धमाया थापा मगरको जग्गाधनी दर्ता प्रमाण पूर्जामा गैरकानूनी तरिकाले थप गरी/गराई र सोही जग्गाधनी प्रमाण पूर्जाको आधारमा जग्गाधनी दर्ता श्रेष्तासमेत कायम गरी नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको देखिँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा ११ बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रु.6,18,000।- (छ लाख अठार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय गरी बिगो असुल उपर हुन र सोही ऐनको दफा ११ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ।
नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलाले तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको जिल्ला सोलुखुम्बु, जुभिङ्ग गा.वि.स. वडा नं. ५ को कि.नं. ५७९, ५८१ र १५२ बाट कित्ताकाट गरी कि.नं. ६२०, ६२२ र 624 को जग्गा बदनियतपूर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानूनी तरिकाले प्लटरजिष्टर कायम गरी/गराई नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको देखिँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा ११ बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रु.6,18,000।- (छ लाख अठार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवानाको सजाय गरी बिगो असुल उपर हुन र सोही ऐनको दफा ११ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।
जिल्ला सोलुखुम्वु, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं 1, बस्ने बुद्धमाया थापा मगर र निजको नाती राम कृष्ण थापा मगरले तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको जिल्ला सोलुखुम्बु, जुभिङ्ग गा.वि.स. वडा नं. ५ को किनं. ५७९, ५८१ र १५२ बाट कित्ताकाट भई कि.नं. ६२०, ६२२, र 624 को जग्गा निज बुद्धमाया थापा मगरले आफ्नो जग्गाधनी प्रमाण पुर्जामा र प्लटरजिष्टरमा थप गरी/गराई सरकारी निकायको कागजातमा गैरकानूनी तरिकाले थपघट गरी नेपाल सरकारको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिँदा निज बुद्धमाया थापा मगरले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा ११ बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा ११ वमोजिम हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मूख्य कसुरदारहरुलाई हुने सरह सजाय गरी बिगो रु.6,18,000।- असुलउपर हुन मागदावी लिनुपर्ने देखिए तापनि निजको मृत्यु भएको देखिएकोले फौजदारी न्यायको मान्य सिद्धान्तबमोजिम मृत्यु भएकाहरुको हकमा फौजदारी कसुरमा सजाय मागदावी लिनुपर्ने अवस्था नरहे तापनि मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा 133 को उपदफा (२) तथा दफा 158 को उपदफा (२), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29क. र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 46 बमोजिम मृत्यु भएको व्यक्तिको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजि विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले मत्यु भएको प्रतिवादी बुद्धमाया थापा मगरको हकमा निजले नेपाल सरकारलाई हानि पुर्‍याएको बिगो रु.6,18,000।- निजको नाती राम कृष्ण थापा मगरबाट असुल उपर हुन साथै निज राम कृष्ण थापा मगरको नाममा जग्गाधनी दर्ता श्रेष्ता कायम भएको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ समेतको कानूनी प्रावधान बमोजिम नेपाल सरकारको नाममा फिर्ता हुन समेतको मागदावी लिइएको छ।
साथै प्रतिवादीहरु फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमा ल्हमू शेर्पाको नाममा हाल कायम रहेका कित्ताहरु तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको जिल्ला सोलुखुम्बु, जुभिङ्ग गा.वि.स. वडा नं. ५ को किनं. ५७९, ५८१ र १५२ बाट तहतह कित्ताकाट हुँदै निजहरुको नाममा कायम भएको हालको जग्गाधनी दर्ता श्रेस्ताबाट देखिँदा उक्त सरकारी जग्गाहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ समेतको कानूनी प्रावधान बमोजिम नेपाल सरकारको नाममा जग्गा फिर्ता ल्याउने प्रयोजनको लागि मात्र प्रतिवादी बनाई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे

प्रकाशित मिति: : 2024-04-26 15:42:00

प्रतिकृया दिनुहोस्