घर-परिवारको चाहना तात्कालीन पारिवारिक विरासतको ठिकविपरीत १६ वर्षे उमेरको बहाबले मलाई राजनीतिमा प्रवेश गरायो। जतिबेला म डोल्पा जिल्लामा बुबाको जागिरे जीवनसँगै म पनि उतै गएको थिएँ।
तत्कालीन शासकले तीनजना क्रान्तिकारीलाई जेलमा ल्याएको छ भन्ने हल्ला सुनेँ। बुबा अदालतमा काम गर्ने हुनाले पनि छिटो थाहा पाइयो। तर, को क्रान्तिकारी हुन भन्ने थाहाँ थिएन। उहाँहरुलाई भेट्ने तीव्र इच्छा भयो र भेट्न गएँ। हिरासतमा क्रान्तिकारी भेट्न पाउने कुराले मलाई त्यसदिन अतिनै खुसी लाग्यो। भेटमा सानो प्वालबाट उहाँहरु भित्र र म बाहिरबाट कैदी र हामी मेरोबीच कुरा भयो। उहाँहरुले आफ्नो नाम ठेगाना बताउनुभएन, त्यही भित्रको एक जनाले मलाई सोध्नुभयो, तिम्रो घर कहाँ हो? मैले भनेँ जुम्ला। त्यसपछि पूर्ण प्रश्न आयो यहाँ के गर्दैछौ?
मैले भने बुबासँग यतै बसेर पढ्दैछु। भनेपछि खै कसले भन्नुभयोर? मलाई एकिन छैन त्यस मध्येको एक जनाले, ‘हामी तिमीहरुजस्तै आफ्नै घर आँगनमा बसेर पढ्न पाउने गरिब किसानको व्यवस्था ल्याउनका लागि लडेका हौँ। न कि हामी चोर डाँका ज्यान मारेर यहाँ थुनुवा भएका हैनौँ। तिमीहरू पनि यस्तै काममा लाग्नु पर्छ’ लगायत अरु थुप्रै कुराहरु भन्नु भयो। तर, पनि उहाँहरुको परिचय मैले थाहा पाइसकेको थिइनँ।
साँझपख बुबालाई ‘बुबा ती जेलमा थुनेका थुनवाहरु हिरासतमा राखेको छ ती को हुन?’ भनेर सोध्दा हाम्रै जुम्लाको डिल्ली महत, रामकृष्ण बुड्थापा प्रधान र कालीकोट डिल्लिकोटका प्रेमबहादुर सिंह हुन भन्नू भयो। त्यसपछि जुम्लाको भन्ने भएपछि झन् माया लाग्यो।
त्यो कुरा २०४१ सालको थियो र त्यही डोल्पा हिरासतमा भेटिएको मान्छे हाम्रै पार्टीको नेता स्व. डिल्लीबहादुर महत हुनुहुन्थ्यो। उहाँसँगको सम्पर्क सम्वादको निरन्तरताले मलाई वाम समर्थक बनायो।
मेरो जीवनको यो भेट नै मलाई वर्तमानसम्म डोर्याइरहेको छ। त्यसैले पनि त्यो दिन त्यो हिरासतमा भेट्न गएको कैदी र त्यसपछिका दिनमा लामो समय सँगसँगै सहयात्री बन्ने अवसर मिल्यो। भूमिगत राजनीतिक उत्कर्षको बिन्दुमा पुगेको र खुल्ला राजनीतिमा विचार र बहसको तथा सङ्गठनहरुको भूमिकामा जोडिएको छु। मैले मेरा व्यक्तिगत इच्छा चाहना भन्दा पार्टीलाई नै सर्वेसर्वा मान्दै निरन्तर आजसम्म जस्तासुकै चुनौतिको सामना गर्दै जोडएर २०४६ सालको जनआन्दोलनमा पर्चा पोस्टर टास्ने र बाँड्ने गतिविधिमा लागेँ। आन्दोलनको फल भनौँ वा क्रान्तिकारीहरुको सपना साकार भएको आन्दोलन ०४६को परिवर्तनपछि तत्कालीन कात्तिक स्वामी गाउँ कमिटीको अध्यक्ष हुने अवसर पाएँ। त्यतिबेला हामी सबै नेमकिपाका थियौँ।
यो सँगै क्रियाशील राजनीतिक जीवनमा प्रवेश भैयोँ। २०४७ सालमा नेकपा माले तत्कालीन नेमकिपाबाट विद्रोह गरेर छुट्टिएको मध्ये एक जना म पनि पर्दछु। त्यसपछि २०४७-२०४९सम्म भेरी कर्णाली सम्पर्क कमिटीको कार्यालय, अनेरास्ववियुको नवौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि, २०४७-२०६९सम्म नेकपा माले एमालेको जुम्ला जिल्ला कमिटीको सदस्य, सचिवालय सदस्य, कार्यालय सचिव, २०४९ मा प्ररायुसंघको प्रथम केन्द्रीय कमिटीको सदस्य, तीन कार्यकालसम्म यसरी युवा विद्यार्थी र पार्टी कमिटी रहेर काम गर्ने अवसर प्राप्त भयो।
नेकपा एमालेको आन्तरिक पार्टी जीवनलाई सैद्धान्तिक र सङ्गठनात्मक जीवन दिन हुने अधिवेशन पाँचौँ, आठौं, नवौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा छैटौं महाधिवेशनमा स्वयंसेवकको भूमिका नेकपा एमाले जिल्लाका साथीहरुको सहयोग र सद्भाव रह्यो।
प्ररायुसंघ जुम्लाको प्रथम संस्थापक अध्यक्ष हुँदै पार्टीको तल्लो कमिटी हुँदै २०६९देखि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, कर्णाली अञ्चल समन्वय समिति सदस्य, २०७१देखि नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य, सचिवालय सदस्यसम्म भएर काम गर्ने अवसर पार्टीले प्रदान गर्यो। साथै पार्टी विभिन्न समयमा विभाजनको दुष्चक्रमा पड्दा पनि सधैं पार्टीको मूलधारलाई पक्षमा आफू उभिँदै आएको छु।
त्यसैगरी पार्टीको प्रतिनिधित्व गर्दै संसदीय क्षेत्रमा पनि २०५४ मा जिविस सदस्यमा निर्वाचित र त्यसपछि पनि विभिन्न पटक जिविस बोर्ड सदस्यको रूपमा जिल्लाको विकास निर्माणमा भूमिका खेलेँ।
२०७४को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसहमत छनौट हुँदा पनि तत्कालीन वाम गठबन्धनका कारणले माओवादीको भागमा परेको हुँदा छोड्नु परेको थियो भने गएको निर्वाचनमा प्रदेशसभा (क) क्षेत्र अन्तर्गत चुनावी मैदानमा शसक्त उम्मेदवारको रूपमा उभिएँ। त्यस अवस्थाको बारेमा आम जुम्ली जनता र पार्टी कार्यकर्तालाई अवगत नै छ म आफैँले केही बताइरहनु पर्दैन।
भूमी व्यवस्था तथा सुकुम्बासी समस्या समाधान आयोग अध्यक्षको रूपमा छोटो समयमा काम गरेँ। यो छोटो अवधिमा थुप्रै काम गरेको थिएँ। त्यसको बेलिबिस्तार अहिले गरेर पुग्दैन।
क्रान्तिकारीहरुको त्यो भेटले मलाई पनि क्रान्तकारी बनायो र त्यसपछिका सबै आन्दोलनमा नेतृत्वदायी भुमिकामा उभिदै २०४६को जनआन्दोलनमा सहभागी मात्र भएँ भने २०५८ र ०५९ र ०६२र०६३को जनआन्दोलनमा आन्दोलन रथ दलहरुको आन्दोलन परिचालन कमिटीको सचिव भएर जिम्मेवारी बहन गर्नुका साथै तत्कालीन माओवादी र सात राजनीतिक दलको जिल्ला तहमा वार्ता टोलीमा रहेर आन्दोलन सफल पार्नुका साथै माओवादीलाई शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी गराउन वार्ता संवाद गर्ने गतिविधि समेत गरेको थिएँ।
यस्ता प्रकारका आन्दोलनका क्रममा २०५८र०५९ र ०६२र०६३मा प्रहरीहरुबाट पटक-पटक धरपकट र पक्राउ हुनुका साथै तत्कालीन नेकपा माओवादीबाट समेत तीन तीनपटक अपहरण परेको थिएँ।
यसका अलावा पार्टीले मेरो भूमिका र कामको मूल्यांकन गर्दै विभिन्न पटक जिल्ला खेलकुद विकास समिति, कर्णाली अञ्चल अस्पताल व्यवस्थापन समिति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पहल कमिटी, धौलीगाड बृहत् खानेपानी परियोजनामा समेत मैले जाने-बुझेको योग्यता क्षमता प्रदर्शन गरेँ।
यो राजनीतिक जीवनको लामो अवधिमा मैले जुम्लाको पार्टी निर्माण र एकतालाई सधै जोड दिन लागिपरेको थिएँ। आगामी दिनमा पनि यो काममा कुनै कन्जुसाइँ हुने छैन। अहिलेसम्मका भूमिका आलङ्कारिक छन्। भने, अब कार्यकारी भूमिकामा रहेर सङ्गठन, कमिटी कसरी चलाउने भन्ने कुराको उदाहरणा नै बन्नेछु भन्ने आत्मविश्वास मभित्र छ।