नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको २००६ सालमा हो। त्यसयता ७५ वर्ष बितिसकेका छन्। यो अवधिमा विश्व कम्युनिष्ट आन्दोलनमा अनेक उथलपुथल भएका छन्। त्यसको स्वाभाविक प्रभाव नेपालमा पनि परेको छ।
जहानियाँ राणा शासनकालको अत्यन्त प्रतिकूल स्थितिमा एउटा अँध्यारो कोठामा स्थापित भएको थियो, नेपाल कम्युनिष्ट पार्टी। अहिले यो अनेकौँ आरोह अवरोह छिचोल्दै गणतन्त्रको फराकिलो आँगनसम्म आइपुगेको छ। यस बिचमा संख्यात्मक रूपमा कम्युनिष्ट नामका अनेक पार्टी अस्तित्वमा छन्, शुभेच्छुक र सदस्य पनि बढेका छन्। यो देशले कम्युनिष्ट नामकै ६ थान प्रधानमन्त्री र एक थान राष्ट्रपति पनि पाइसकेको छ।
संविधान सभाको अध्यक्ष, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाको अध्यक्षजस्ता राज्यका महत्त्वपूर्ण पदमा पनि कम्युनिष्ट पृष्ठभूमिका व्यक्तित्वहरू पुगिसके। मन्त्री भएका कम्युनिष्ट त सय हैन, प्रदेशतिरका पनि जोड्ने हो भने हजार भइसके होलान्। नेपाली कम्युनिष्टका स्थायी शत्रु भनिने ‘बिस्तारवादी’ भारतदेखि ‘साम्राज्यवादी’ अमेरिकासम्म कम्युनिष्ट पृष्ठभूमिकै नेपाली राजदूत पनि पटकपटक नियुक्त भइसके।
धेरै कम्युनिष्ट नेता र कार्यकर्ताको वर्ग उत्थान भइसक्यो। उनीहरू गरिबबाट धनी भइसके। पहिला उनीहरूले भन्ने गरेका पेटी बुर्जुवा, दलाल पुँजीपतिलगायतमा पदावली अब उनीहरूकै लागि भइसके। नातावाद, कृपावाद के के भन्थे, ती सबै उनीहरूकै घर परिवारमा झ्याङ्गिसके। उनीहरूका ख्याउटे अनुहार पुरिएर सुकिला मुकिला भइसके।
ओली कम्युनिष्ट आन्दोलनको एक दूरदर्शी नेता र वफादार सिपाही हुने हो भने उनले वाम एकताका लागि पहल गर्नैपर्छ। त्यसको पहिलो सर्त भनेकै वाम गठबन्धनलाई जोगाएर अगाडि बढ्नु हो। यदि, यो दुर्घटनामा प¥यो भने त्यो ओलीकै कारणले पर्छ र त्यसपछि वाम एकताको च्याप्टर सधैँका लागि बन्द हुन्छ।
उनीहरूकै भाषामा भन्दा सिद्धान्त, मूल्य, मान्यता सबै स्खलित भए। सांस्कृतिक रूपमा पतित भएर अन्ततः उनीहरू पनि खशीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने पसलका खाँटी साहूजी भए। यी सबैलाई जोडेर समग्रमा भन्दा उनीहरू शासित हैन, शासक भए। एकपटक हैन, पटकपटक भए।
चुनिएका केही कम्युनिष्ट नेता–कार्यकर्ताको यी व्यक्तिगत उपलब्धिलाई नै ‘कम्युनिष्ट–उपलब्धि’ मान्ने हो भने नेपालमा कम्युनिष्टले हासिल गर्न अब केही नै बाँकी छैन। तर, प्रश्न उठ्छ २००६ सालमा यो पार्टी स्थापना गर्दा यसले तय गरेका उद्देश्यहरू हासिल भए त ? गरिब, सर्वहारा, श्रमिक नेपाली जनताका लागि सुनौलो घाम उदायो त ? सबै खालका असमानताका डिलहरू भत्किएर वर्गीय खाडल पुरियो त ? यो पार्टी कम्युनिस्टहरूले दाबी गर्ने गरेका सिद्धान्त, मूल्य र मान्यतामा दह्रो उत्रियो त ?
यी सबै प्रश्नहरूको एकमुष्ट उत्तर खोज्ने हो भने कहीँ कतै सकारात्मक उत्तर भेटिँदैन। र, यही तौरतरिकालाई नै कम्युनिष्ट तौरतरिका भन्ने हो भने त बेग्लै कुरा, हैन यो बुर्जुवा तौरतरिका भयो भन्ने हो भने, अबको केही वर्षपछि साँच्चैका कम्युनिष्ट ओढारतिर वा संग्रहालयतिर खोज्न जानुपर्ने हुन्छ। तर, दुर्भाग्य, यही गति र मति हुने हो भने त्यतातिर पनि कम्युनिष्टको सातोपुत्लो नभेटिने सम्भावना छ।
आज जो जो कम्युनिष्ट पार्टीको नेतृत्वमा छन्, नेपालको सन्दर्भमा भन्ने हो भने यो कम्युनिष्ट नेतृत्वको दोस्रो पुस्ता मात्र हो। तर, एक पुस्ताबाट अर्को पुस्तामा आइपुग्दै नेपाली कम्युनिष्टहरूको रूप मात्रै हैन, सार नै फेरिएको छ। यही पुस्ताले वर्गविहीन समाजको कल्पना कोरा कल्पनामा परिणत गरेको छ। आफू वर्गीय ढिस्को उक्लेर बाँकीलाई क्षेत्रीय, लिंगीय, जातीयलगायतका गैरकम्युनिष्ट वर्गीकरणको भुलभुलाइमा पारिएको छ।
यी तमाम दृश्यहरूलाई हेर्दा अहिलेका कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै नेपाली कम्युनिष्ट आन्दोलनका घाटे हुन् भने कार्यकर्ता खाँटी मलामी। नेतालाई बिगार्ने आलोचनात्मक चेत हराएका कम्युनिष्ट कार्यकर्ता भनाउँदाहरूले अकालमै कम्युनिजम मारेर ‘रातो लास’ घाटतिर लगिरहेका छन्। उता, नेताहरू बाँसका भाला तिखारेर दाहसंस्कारका लागि तम्तयार छन्। यो दृश्य हेरेर गरिब तप्काका नेपालीहरू स्तब्ध छन्। कम्युनिष्ट विरोधीहरू तिघ्रा पड्काउँदै अट्टहास हाँसिरहेका छन्।
हुन त यो एक किसिमको कल्पनातीत दृश्य जस्तो लाग्छ। तर, समय क्रममा यो सपाट दृश्य धेरै टाढा छैन। हामी बाँचेकै समयमा हामी यो दृश्य देख्ने छौं। दुःख यसमा लाग्ने छ कि त्यतिबेला पनि नेपालमा गरिब जनताकै बाहुल्य रहने छ। जबकि, उनीहरूको वर्ग उत्थान गर्ने भनिएको कम्युनिष्ट पार्टीको भने दाहसंस्कार भैसकेको हुने छ।
नेपालमा अझै पनि नेकपा एमाले नै ठूलो कम्युनिष्ट पार्टी हो। यसको मूल नेतृत्व कवाडी भए पनि यस पार्टीको ठूलो कार्यकर्ता पंक्ति र समर्थकहरू अझै पनि साँच्चै नै कम्युनिष्ट मनका असल मानिस छन्। तर, समय क्रममा उनीहरू यति कमजोर मनस्थितिमा पु¥याइ सकिए कि उनीहरूको प्यारो कम्युनिष्ट पार्टी एमाले दक्षिणपन्थी पहिरोले पुर्दै गर्दा पनि केही गर्न सक्ने अवस्थामा छैनन्।
रमिता हेर्नुपरिरहेको कठिनतम् पीडाबोधमा छन्। यस बीचमा कयौँले पार्टी छोडे। कयौँ विदेशतिर लागे। कयौँ नयाँ चटकहरूले पो पार लगाइहाल्लान् कि भनेर त्यतातिर पनि लागे। तर, पनि केही भइरहेको छैन। समग्रमा उनीहरू हतास, निराश र कुण्ठित छन्। एक किसिमले भन्ने हो भने उपायविहीन छन्।
यही एमाले नेपाल कम्युनिष्ट पार्टीको हीरक जयन्ती मनाइरहेको छ। राम्रो कुरा हो यो। तर, के का लागि हीरक जयन्ती ? के को खुसीयालीमा हीरक जयन्ती ? यो उत्सव मनाउनका लागि एमालेसँग बाँड्नका लागि के छन् उपलब्धि ? एकपछि अर्को गरेर अनेक प्रश्नहरू फालिम लागेका छन्। तर, पनि ती सबै प्रश्नहरूको कुनै बस्तुनिष्ठ उत्तर छैन। हो, ओलीसँग अनेक ओठे जवाफ छन् तर ती कुनै पनि सही उत्तरको मापदण्डमा पर्दैनन्।
यही प्रसङ्गमा एमालेले गरेको राष्ट्रिय परिषद् भेलाको चर्चा गरौँ। देशभरका सयौँ अगुवा नेता–कार्यकर्ताको यो जम्बोरीमा पार्टी अध्यक्ष ओलीले वाम एकता र समाजवादी मोर्चाको अवधारणालाई सिधै अस्वीकार गरे। जबकि, नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने अब वाम एकताको विकल्प नै छैन।
भएभरका कम्युनिष्ट सटर बन्द गरेर एउटै कम्युनिष्ट पार्टी बनाउन समाजवादी मोर्चा, वाम मोर्चा जे जे हुन्छ, सबै बनाएर अगाडि बढ्नुपर्ने स्थिति छ। तर, ओली यो भुइँसत्यलाई स्विकार्न तयार छैनन्, बरु उल्टै कालिदास प्रवृत्तिमै रमाउन चाहिरहेका छन्। उनका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त खुलेआम कांग्रेस–एमालेको आलोपालो सरकार बनाउनुपर्ने वाला छन्। अनि, भेलाको अन्त्यमा एउटा पाठ सार्वजनिक गरियो, ‘सरकार टिकाउन गठबन्धनका सबै दल जिम्मेवार हुनुपर्छ।‘
यो घोषणाको सोझो पाठ हो, जसरी भए पनि यो गठबन्धन टिकाइ दिनु पर्छ। किनकि, यो गठबन्धन टिक्यो भने प्रचण्डपछि ओली प्रधानमन्त्री हुने हुन्। उनलाई प्रधानमन्त्रीको कुर्सीमै बसेर २०८४ को चुनाव गराउनु छ र त्यो चुनावमा साम,दाम,दण्ड, भेद जे–जे लगाएर भए पनि मिसन ८४ पूरा गर्नु छ।
तर, त्यसका लागि ओली केही गर्न नपर्ने ठान्छन्। उल्टै, वामपन्थी दलहरूको बाहुल्यतामा बनेको गठबन्धनलाई तुहाउन वाम एकता र समाजवादी मोर्चाको अवधारणा नै ठाडै अस्वीकार गर्छन्। यस्तो अवस्थामा त कसरी गठबन्धन जोगिन्छ र ओली संसद्को यो कार्यकालको अन्तिम दुई वर्ष प्रधानमन्त्री हुन सक्छन् ? जे को बीउ लगाइन्छ, फल्ने त त्यही हो। अहिले फापर छरिरहेका ओली धान फलाउने कुरा गरिरहेका छन्। यस्तो पनि होला र ?
ओलीको यो व्यवहार उनी र उनको बा’माले पार्टीका लागि त अहितकर छ नै, नेपालको कम्युनिष्ट आन्दोलनकै लागि पनि घातक छ। यो सत्य बुझ्न कुनै ठूलो विद्वान वा नेता हुनै पर्दैन।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हे¥यो भने जो कोहीले पनि सजिलै बुझ्न सक्छ। तर, ओली यो तथ्यलाई बुझ्न चाहिरहेकै छैनन् वा बुझेर पनि बुझ पचाइरहेका छन्। नेपालको कम्युनिष्ट आन्दोलनको निर्णायक ठाउँमा रहेका उनले अनेक पटक मौका पाएर पनि गुमाएका छन्।
तर, जे भए पनि ओलीसँगै नेपाली कम्युनिष्ट पार्टीको धुकधुकी छ। यसलाई प्राण प्रतिष्ठा गर्न सक्ने भनेको उनले नै हो। यदि, ओली दूरदर्शी हुने हो र साँच्चैकै कम्युनिष्ट आन्दोलनको एक वफादार सिपाही हुने हो भने उनले वाम एकताका लागि मार्ग प्रशस्त गर्नैपर्छ।
त्यसका लागि अहिले सरकार बनाएको वाम गठबन्धनलाई जसरी भए पनि जोगाएर अगाडि बढ्नुपर्छ। यदि, यो दुर्घटनामा प¥यो भने त्यो ओलीकै कारणले हुन्छ र त्यसपछि नेपालमा वाम एकताको च्याप्टर सधैँका लागि बन्द हुन्छ। यसपछि कसैले त्यो प्रयास ग¥यो भने पनि त्यो धेरै ढिलो भैसकेको हुनेछ।
नेपालमा वाम एकता कम्युनिष्टको अस्तित्व बचाएर उनीहरूलाई दह्रो बनाउन मात्र आवश्यक छैन, यो देशलाई वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा लैजान पनि त्यतिकै जरुरी छ। यदि वामपन्थी ध्रुवीकरण भयो भने दक्षिणपन्थी ध्रुवीकरण पनि स्वतः हुन्छ। त्यसो भयो भने नेपाल वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा जान्छ। नेपाल समृद्ध र नेपाली सुखी हुने यही राजनीतिक बाटो मात्रै हो।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको यो बेला यो दिशामा देशलाई लैजान आआफ्नो ठाउँबाट सत्कर्म गर्न सबै कम्युनिष्ट नेता–कार्यकर्तालाई सद्बुद्धि प्राप्त होस्। त्यसमा पनि ओलीलाई त ‘सद्बुद्धि’को बुट्टी अनिवार्य मात्र हैन, अपरिहार्य नै छ।
त्यसो भयो भने एकातिर नेपालमा कम्युनिष्ट पनि केही समयका लागि ‘वामपन्थी’ भएर बाँच्न पाउँछन्, अर्कोतिर कांग्रेस नामको दक्षिणपन्थी शक्ति बन्ने बाध्यता पनि सिर्जना हुन्छ। त्यो परिस्थितिले अन्ततः देशलाई नयाँ नामका ऐजेरू फाल्दै वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा लैजान्छ। नेपाल र नेपालीको समृद्धिको राजमार्ग नै यही हो, योभन्दा अरू कुनै हुनै सक्दैन।