विदेश मोह: रहर कि बाध्यता?

भुवन केसी 

काठमाडाैँ
Breaknlinks
Breaknlinks

विदेश माेह रहर कि बाध्यता भनेर कसैलै सोध्यो भने जवाफकर्ताले आफ्नाे अवस्थाअनुसार जवाफ देला!

हाजिरी जवाफ, वादविवादजस्ता प्रतियोगितामा पनि यस्ता प्रश्न सोधिएमा निजले रहर वा बाध्यतामध्ये कुनै एक विकल्पबारे सहजै जवाफ देला।

तर यो प्रश्न माथि प्राप्त हाजिरी जवाफ र वादविवाद प्रतियोगितामा दिने जवाफ जति सजिलो छैन। किनभने यो प्रश्नमा देशको आर्थिक, सामाजिक, राजनैतिक अवस्था र समग्र विकास र चेतनासँग जोडिएको छ।

विदेश माेह रहर कि बाध्यताबारे घण्टौं घोत्लिएर पनि यसको सही जवाफ पाउन मुस्किल पर्ने अवस्था सिर्जना भएको मेरो प्रारम्भिक ठम्याइ छ।

हामीहरू संसारको यस्तो देशमा छौं जहाँका अधिकांश मान्छेहरू विदेश जाने लाइनमा उभिएका छन्। जति सक्दाे छिटो र जसरी हुन्छ– देश छोड्ने मनसायमा छन् नेपालीहरू। 

सायदै हाेलान् देशमा रूचाउने मानिसहरू! तर अहिले म त्यतातिर जान चाहन्नँ।

सहजै अनुमान लगाउन सक्छौं– थोरैलाई विदेश जानु रहर भएता पनि धैरैलाई बाध्यता नै छ। तर धेरैको मनसाय विदेश जानुपर्छ भन्ने छ। यो देशमा बसेर केही पनि हुँदैन। देशमा सम्भावना छैन भन्ने मनोवृत्तीले विदेशिन लागेकाे देखिन्छ। 

अनेकाैं बहानामा विदेशिन खोज्नु फेसन भएको भन्ने कतिपयको बुझाइ छ भने कतिपयको नेपालमा रोजगारीका अवसरहरूमा कमी भएको, रोजगारी भएपनि थप सेवा–सुविधाको भएकाे कारण देखाउँदै परदेशतिर उडिरहेका छन्।

आज राज्यसत्ताको उच्च ओहदामा बसेकाहरूले जतिसुकै ठुला भाषण छाटेपनि, जति नै ठूला कुरा गरेर ढाकछोप गर्न खोजेपनि देशको आर्थिक अवस्था सहज छैन भन्ने कुरा धेरैलाई थाहा भएकै कुरा हो।

अहिलेको अवस्थामा सहर बजारमा बन्द हुँदै गएका सटरहरूबाट पनि धेरै कुरा प्रष्ट देख्न सकिन्छ। कतिपय व्यापारीहरू 'हाइ' काढ्दै ग्राहकको प्रतिक्षा गरिरहेको दृश्यहरू पनि प्रष्टै देखिन्छ।

मध्यमवर्गका व्यक्तिहरूले सहकारीबाट लिएको दुई चार लाख ऋणको किस्ता तिर्न कठिन भैरहेको छ। परिवारको जिम्मेवारी बोकेको घरमुलीको आम्दानी दिन प्रतिदिन कम हुँदै गएको छ भने आधुनिकताका नाममा भित्रिएका विलासिता सामानको देखासिकीले झनै परिवारको दैनिक खर्च बढदै गएको छ ।

दैनिक रूपमा उपभोग गर्ने वस्तुहरूको बजार मूल्य दिनहुँ आकाशिदैं गएको छ। यसका कारण हाम्रो कृषिमा आधारित उत्पादन दिनप्रतिदिन घटदैछ। 

शरीरलाई ढाक्ने लत्ताकपडाको मूल्य ,स्वास्थ्य, शिक्षा जस्ता सेवामुलक क्षेत्रमा  समेत लुटतन्त्र मच्चिएको छ भन्दा खासै फरक नपर्ला! छोराछोरीलाई पढाउनमा पनि उत्तिकै खर्च बढिरहेको छ। 

सरकारी क्षेत्रको शैक्षिक सुधार सन्तोषजनक छैन। प्राइभेट स्कुल–कलेजमा पढ्न महँगाे छ। त्यस्तै कारणहरूले परिवारको खर्च बढदै गइरहेको छ। गाउँका सचेत भनिएका परिवारका छोराछोरीहरू नै अहिले नेपाल बस्न चाहदैनन्। विदेश जाने उनीहरूकै लर्काे छ। त्यतिमात्रै हाेइन प्राविधिक शिक्षा आइटी, ओभरसियर,नर्सिङ, अमिन जस्ता कोर्श अध्ययन गरेर प्राइभेट संघसस्थाहरूमा काम गरिरहेकाहरू पनि विदेश जान इच्छुक देखिन्छन्।

यस्ता धेरै प्रतिनिधि मुलक पात्रहरू छन् जसलाई नेपालको आम्दानी र सेवा सुविधाले पुगेको छैन। यसरी हेर्दा नेपालमा सेवा सुविधाको कमी भएको कारण विदेश रोजेकाे हो वा रोजगारीकाे अवसर नपाएर विदेशिरहेकाे हाे त्याे त समीक्षाकाे विषय हाेला।

यहीं बेलामा मलाई एउटा लोकदोहोरी गीतकाे याद आयो। करिब एक महिना अगाडि बजारमा आएको खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रको स्वरमा रहेको 'रहरले होइन मायालु, यो देशमा त भविष्य छैन मायालु', भन्ने बोलको गीत देश जाने युवाकाे लर्काेलाई देखेर शब्द फुरेर लेखेको जस्तो लाग्यो।

नत्र जन्मिएको जन्मभूमिको ढुङ्गा खेलाउँदै हुर्किएको माटोको माया सबैलाई हुनुपर्छ।

आफ्नो जन्मभूमिको माया कसलाई पो छैन होला र? देशको माया लाग्नु भनेकै देशभक्ति हुनु होइन र? नेपाली युवामा राष्ट्रप्रतिको श्रद्धा र मायामा ह्रास आयो भन्नु परदेशीहरूको अपमान गरेको जस्तो हो भन्दा खासै फरक पर्दैन होला।

घरमा अवाेध छोराछोरी, डाँडाँपारीको घामजस्तै उमेर भएका बाआमा, सयाैं जुनी सँगै बाँच्ने वाचा गरेर गाँसिएका सम्बन्ध र जोडिएका जीवन साथीलाई चटक्क छोडेर प्रदेश एक्लै हिड्नु कसलाई पो रहर होला र?

विदेश जाँदा कटक्क मन त खाइहाल्छ नि होइन र? घरकाे अवस्था राम्राे भएकाे र ७०–८० लाख तिरेर विदेश गइरहेका युवाकाे विदेशिनु रहर हाेला। तर जाेड्न खाेजेकाे कुरा यतिमात्रै हाेकि धेरै युवा बाध्यताले विदेशिरहेका छन्। 

आज हामी यस्तो समाजमा छौं, जहाँ वास्तविकताभन्दा धेरै देखावटी छ। त्यही देखावटीमा नै रमाइरहेकाे छ समाज। भक्कानिएर रूएकाहरूकाे मात्रै आँसु देख्छ याे समाजले। सफल व्यक्तिकाे मात्रै प्रंशसा गर्छ। तर असफल व्यक्तिकाे संघर्षरत जीवनको वास्तविक कथा खाेज्दैन। 

आर्थिक वर्ष २०७९ र २०८० सालमा मात्रै नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृत लिएर देश छोडेको श्रम तथा रोजगार विभागको तथ्याङ्कले देखाएकाे छ। 

प्रतिदिन दुई हजार भन्दा बढी नेपाली युवाशक्तिहरूले विभिन्न बहानामा देश छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको दृश्यबाट प्रष्ट छ। यसरी रोजगारीको लागि विदेशीभुमिमा जाने हामी नेपालीहरूको रहर हो कि बाध्यता हो?

त्यसकाे वास्तविकता खाेजेपछि पक्कै थाहा हुन्छ।

यसैगरी विदेशिएका दाजुभाइ र दिदीबहिनीहरूले पनि विदेशभुमिमा अनेकौं पिडा समस्याहरू भोगिरहेका छन्, त्यतातिर सरकारकले ध्यान दिन जरूरी छ। कतिपय नेपालीहरूले विदेशमा ज्यान गुमाइरहेकाे तिताे सत्य छ। 

कृषिप्रधान भनेर नामकरण गरिएको देशमा न अहिलेसम्म उत्पादनको स्तरमा वृद्धि भएको छ। न त उत्पादकत्व बढाउने रोजगारी सिर्जना गर्ने प्रयास नै भएकाे पाइन्छ। 

त्याे कुरा न हामीजस्ता युवाकाे चासाे छ न त सरकारकाे प्रतिनिधित्व गर्ने सम्बन्धि निकायलाई नै। 

समाजमा बसेका केहि मानिसकाे चेतना स्तर बढेतापनि कसैकाे उस्तै छ। 

पढे–लेखेका व्यक्तिले जागिर नै खानुपर्छ भन्ने सामाजिक मान्यता छ। सरकारले युवाहलाई स्वदेशमा राख्नका लागि राेजगारीकाे सिर्जना नगरेकाे जनगुनासाे छ। 

युवा–जनशक्तिलाई रोजगार बनाउनुपर्ने सरकार अहिले छिमेकी मुलकहरूसँग आत्मनिर्भर छ।

सरकारले कृषि कर्जा र अनुदान दिने कुरा मात्रै गर्छ। त्यहिपनिअनुदान कसले पाउँछ–पाउँछ! वास्तविक किसानहरूको ज्यूँकाज्यूँ छ। 

किसानले वर्षभरी दुख गरेर उत्पादन गर्छ तर बिचौलियालाई कमाउन ठिक्क छ। उत्पादन गर्ने किसानलाई बजार व्यवस्थापन गर्ने कठिन अवस्था देखिन्छ। 

कृषि व्यवसाय गर्नेहरूको स्थिति उस्तै बिजोग छ। राजनीतिक अस्थिरता, सामाजिक भेद तथा जातीय र लैङ्गकि असमानता रहेकोले शैक्षिक बेरोजगार झन बिकराल बनेको छ। 

निजी क्षेत्रमा पढे–लेखेका भन्दा पहुँचवालाको हालिमुहाली छ, लोकसेवा तयारी गरेर सरकारी क्षेत्रमा जागिरे बन्ने सोच बनाएर लागेकाहरूको पनि आ–आफ्नै संघर्ष छ। 

तिनै तहका सरकारलाई आफ्नाे आसेपासेलाई जागिरे बनाउन तछाडमछाड छ।  हुने–खानेहरूका छोराछोरी अहिले अमेरिकामा छन्, अस्ट्रेलियामा छन्। कोही नहुनेहरू छिमेकी मुलुक भारतमा र खाडीमुलकमा छन्। 

यस्तै समस्या उत्पन्न गराउनका लागि ल्याइएको हो त संघीयता? जनजनकाे प्रश्न बनेकाे छ। 

लाखौं खर्चेर परदेश पुगेकाहरूलाई 'तिमी नेपाली रहेछौं कठै' भनेर त्यहाँको सरकार र पूँजीपतिहरूले बसेरै तलब पक्कै पनि दिँदैनन होला? त्यसकाे लागि कडा मेहनत गर्नुपर्छ। बिरामी हुँदा तातो पानी पिलाउने समेत काेही हुँदैनन्। 

विदेशमा कहाँ सुख छ र? तर विदेश जान नमान्ने युवालाई बेग्लै नजरले हेरिन्छ। त्याे त पीडा सहेका युवालाई मात्र थाहा हुन्छ। 

गाउँघरमा छोरा छैनन् बुहारी बजार झरेका छन। बाआमाले पुर्खौले घर सम्पत्ति ढुकेर बसेका छन् तर बारी जोत्ने कोही छैनन्। गाउँघरमा मान्छेको मृत्यु हुँदा मलामी जाने समेत भेट्टिन मुश्किल छ।

सरकारले जमिन बाँझो छोड्नेलाई कारबाही गर्ने नीति ल्याएको छ तर लागु गर्दैन। एक त खेतमा राेपेका धानले खान पुग्दैन। जसाेतसाे भएकाे खेती वन्यजन्तुबाट बचाउन गाह्रो छ।

त्यसकारण पनि युवा विदेशिन बाध्यता छन्। देशलाई प्रेम गरेर मात्र पेट भरिदैंन, त्यसकाे लागि पाँखुरा चलाउनुपर्छ। श्रमलाई जसले बुझ्छ, श्रमिक पनि उत्तै ढल्किदैं जान्छ। 

प्रकाशित मिति: : 2024-04-18 18:27:00

प्रतिकृया दिनुहोस्