‘मेरा लागि रात किन पर्दो हो? सधैँ दिन मात्र भए पनि हाइसन्चो हुन्थ्यो। कस्तो जीवन साथी पाएछु? ज्यानै जोगाउन गाह्रो भो।’
एउटी महिलाले हिंस्रक श्रीमानको प्रताडना सहन नसकेर दिएका अभिव्यक्तिले कथा सुन्नेको मन छिया–छिया हुन्छ।
द्वन्द्वले १० वर्ष थिलथिलो भएको बस्तीमा अनायास थपिएको भूकम्पको धक्काले तनसँगै मन पनि हल्लिएको छ। द्वन्द्वले बचाएको थोरै खुसी भूकम्पले खोसेको छ।
गत कार्तिक १७ गते मध्यरातमा जाजरकोट रामिडाडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बस्तीसँगै यहाँका स्थानीयको मनसमेत ढलेका छन्।
चरम गरिबी र अभावले महिला भएकै कारण धेरैले थप पीडा झेल्नु परिरहेको छ। टेन्टमुनिको असुरक्षित बसाइ बाहिर मात्र नभएर घरभित्रैका आफन्तबाट समेत उत्तिकै असहज छ।
विपन्नताले घेरा हालेको परिवारमा भूकम्पले थपेको रित्तोपनपछि परिवारमा बढेको बेमेल, मानसिक तनावका कारण उजाडिएका बस्तीमा बस्नेहरूको मन दुख्न थालेको ६ महिना बढी भएको छ।
अभियान र राहतका नाममा लोगो बोकेर बस्ती छिर्नेहरूदेखि निश्वार्थ मन भएकासम्मले नजिकबाट नियालेका निराश बस्तीभित्रका अवाेधहरूका दुखेकाे तन र मनमा मलम लगाउन ढिला भएको छ।
सुख-दुखमा साथ दिने र जीवनभर एक भएर जिउने सपना बोकेर १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी शिला (नाम परिवर्तन) केही महिनापछि श्रीमानले देखाएको दानवीय व्यवहारले हैरान छिन्।
वर्षभरि खेतीपाती गरेपनि चार सन्तानसमेतको परिवारलाई मुस्किलले ६ महिना मात्र खाना पुग्छ। वर्षदिन खाना जुटाउनलाई अर्काेकाे घरमा काम गर्नुपर्छ।
दिनभरि मजदुरी गरेर ल्याएको पैसा बेलुका श्रीमानले खोसेर लान्छन् अनि त्यही पैसाले रक्सी खाएर उनलाई कुटपिट गर्छन्।
‘मेरो लागि राति किन पर्दो हो। बिहान उठेदेखि घरको कामसँगै बिहान–बेलुका के खाने? परिवार कसरी पाल्ने? भन्ने पीडासँगै आजको रात कसरी बाँच्ने भन्ने कुराले पिरोलिन्छ। श्रीमान हरेक दिन रक्सी खाएर आउने र कुटपिट गर्ने गर्छन्।’
जाजरकोट केन्द्रबिन्दु पारेर गएको भूकम्पले शिलाको घर पनि भत्कायो। अलिकति भएको अन्नपातसमेत पुरियो। विस्तारै उनका दिन झनै पीडादायक बने।
हिजो रक्सी खाएर श्रीमान आउँदा अरूकाे कोठामा गएर ज्यान जोगाउने उनी अब घर भत्किएपछि टेन्टको बसाइमा हरेक रात चोट सहेर बाँचिरहेकी छन्।
यसैबीच एकदिन उनका श्रीमान रक्सी खाएर आए। रातको ११ बजेको थियो। श्रीमानले अनाहकमा लाठ्ठीले कुटे। शिलाकाे निदारमा चाेट लाग्याे। रगताम्य भएकी शिलाकाे टेन्टमा सुतेका छिमेकीले मध्यरातमा उद्दार गरे।
बिहान उठेर मर्ने योजना बनाउँदै जंगल निस्केकी उनलाई चार सन्तानको यादले अस्पताल हुँदै पुनः घर पुर्यायाे।
०००
राधा (नाम परिवर्तन) विवाहकाे शब्द थाहा नपाउँदै १४ वर्षकाे उमेरमा विवाह गरेर घरजम सम्हाल्नुपर्याे।
शारीरिक र मानसिक रुपले पूर्ण तयार नहुँदै गरेको विवाहले ६ जना सन्तान जन्मिए अनि अटसमटसको दैनिकी सुरु भयो।
आर्थिक अवस्था कमजोर भएको कारणले पर्याप्त पोषिलो खानेकुरा र आराम सम्भव थिएन। अभावका बीचमा जसोतसो चलेको राधाको दैनिकी भूकम्पसँगै हल्लिएकाे छ। ६ सन्तानसँगै टेन्टमुनिकाे बास।
श्रीमानको मादक पदार्थ सँगैको मादकतापूर्ण व्यवहारले परिवार विक्षिप्त छ। उमेर पुगेका छोराछोरी सँगै रहँदा श्रीमानको व्यवहारले आजित राधा यतिबेला जीवनदेखि नै हारेजस्ती भएकी छन्।
यतिबेला रुकुम जाजरकोटमा भुइँमान्छेका कथा लेख्न र सुनिन छोडिएका छन्। केन्द्रदेखि प्रदेशसम्म सत्ताकै गठबन्धनको गठजोड अनि स्थानीय तहले थेग्नै नसक्ने भारले राता भनिएका मान्छेका काला कथा यत्रतत्र छरपस्ट छन्।
हरेक विपद वा युद्धमा सबैभन्दा बढी मारमा पर्ने महिला र बालबालिका हुन् भन्ने तथ्य भुलेका राज्य सञ्चालकले भुल्ने गरेका कारण हरपल हिंसाले प्रशय पाएको हो।
माथिका प्रतिनिधि पात्रका कथाले समग्र दुर्गमको प्रतिनिधित्व गर्छ। भूकम्पले तङ्ग्रिन नसकेका बस्तीको मात्र नभएर समग्र महिलाको अवस्था हो।
चेतनास्तर कमजोर भएका गाउँहरूमा हरपल हुने हिंसा अनि त्यसको प्रभावले दीर्घकालीन असर गरिरहेको छ। मानसिक तनावले सुरु हुने डिप्रेशन हुँदै आत्महत्याका घटना बढ्नुकाे मुख्य कारण नै हिंसा हाे।
मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने हाम्रो समाजले महिला हिंसालाई अपराध स्वीकार गर्न नसकेको कारण समस्या समाधान हुनुको साटो बढिरहेको छ।
तीन तहका सरकारले देशमा रहेका विद्यमान कानुन कार्यान्वयन गरी हिंसा न्यूनीकरणमा चासो दिएमा आगामी दिन सुखद् हुनेछन्।
केन्द्र, प्रदेश र स्थानीय सरकारले मानवीय विकासमा ध्यान नदिँदा महिलामाथि हिंसा र यातना घटन सकेको छैन। कागजमा लेखिएका मौलिक हक कागजमै सीमित हुनुको परिणाम हिंसाले प्रशय पाएको छ।
अबका दिनमा देशमा रहेका तीनै तहका सरकारले महिलामाथि हुने हिंसालाई न्यूनीकरण गर्न ध्यान दिन जरुरी छ।