काँग्रेस महाधिवेशन: रोल्पा निर्वाचनमा एकलौटी मत गणना गरी भागे अधिकृत

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रोल्पाको ७ औं जिल्ला अधिवेशन विवाद थप चुलिएको छ।

मत गणना चलिरहँदा निर्वाचन अधिकृत सुर्यबहादुर वलीले निष्पक्ष निर्वाचन नगराई जिल्ला पार्टी सभापति, पूर्वराज्यमन्त्री एवं खुल्ला महाधिवेश प्रतिनिधि पदका उम्मेदवार अम्मरसिंह पुनमगरको पक्षधर भई निर्वाचन अधिकृत वलीले धाँधली गरेको भन्दै अर्को पक्षले मत गणना कार्यलाई राक्न माग गरेको थियो।

उक्त मागलाई वेवास्ता गरी निर्वाचन अधिकृत सुर्यबहादुर वलीले जिल्ला कार्य समितीको पदाधिकारी बाहेक अरु पदमा मतगणना नगरी आफू निकट पक्षलाई एकलौटी विजयी घोषणा गरेका छन्।

शुक्रबार बिहान भागेर  जिल्ला सदरमुकाम लिबाङबाट हिँडेको निर्वाचन अधिकृत सूर्यबहादुर वली र सहायक अधिकृत शिवप्रसाद रेग्मीलाई प्रहरीले सुलिचौरबाट फर्काएको थियो।

निर्वाचन अधिकृत सूर्यबहादुर वलीको सुरुदेखिको गतिविधि हेर्दा ‘मतपत्र कब्जा गर्ने नियत’ प्रष्ट देखिएको जिल्ला सभातिका प्रत्यासी मानबहादुर खत्रीले बताए।

उनले मतपेटीकामा खसेको ८४ मत हराएको अवस्थामै सभापति घोषणा गरिएको दावी गरे।

‘सभापतिमा जे भए पनि अन्य पदाधिकारीमा ८४ मत गायव पारेर गन्न सकिन्न भनेर गणना स्थलबाट निस्किएको थिएँ’, खत्री भन्छन्,‘हाम्रो अनुपस्थितिमा ३ घण्टा मतगणना गरेर पदाधिकारी घोषणा गरेपछि हामीले विरोध जनाएका थियौं।’

उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि सुरुदेखि पुनः मतगणना गर्ने सहमति भएको तर मत गणना नै नगरेर एकलौटी विजयी घोषणा गरी निर्वाचन अधिकृत भागेको आरोप लगाए।

उनका अनुसार केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयले केन्द्रीय महाधिवेशन प्रतिनिधिको मत गणना कार्य रोकेर दुवै पक्षको रोहबरमा सिलबन्दी गरी फर्किन पत्राचार गरेको थियो। तर, निर्वाचन अधिकृतले आफ्नो पक्षलाई मात्र भित्र राखेर, प्रहरीलाई समेत भित्र पस्न नदिई मतगणना गरेर भागेको उनले बताए। नीतिविधि मात्र होइन, सिडियोको रोहबरमा भएको सहमति समेत पालना नगरी निर्वाचन अधिकृत भागेको उनको आरोप छ।

यस बिषयमा आफूहरुले केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयलाई सात बुँदै उजुरी पेश गरेको खत्रीले बताए। बिहीबार धाँधलीपूर्ण निर्वाचन र मतगणनाका विषयमा पत्राचार गरिएको देउवा पक्षका सभापति प्रत्यासी मानबहादुर खत्रीले बताए।

निर्वाचन अधिकृतले पक्षपातपूर्ण व्यहार गरेको, धाँधलीपूर्ण र अनैतिक मतगणना गरेको पत्रमा उल्लेख छ। मतगणना प्रक्रियागत नभएकोले गणना बदर वा स्थगित गरी पुनः केन्द्रबाटै अध्ययन, अनुगमन वा आवश्यक प्रक्रिया पुर्याई निर्वाचन गराउन समेत अनुरोध गरिएको छ।

केन्द्रीय निर्वाचन अधिकृतलाई पेश गरिएको सात बुँदे ध्यानाकर्षणमा निर्वाचन प्रकृया सुरु हुनभन्दा अघिदेखि नै दुवै पक्ष (हाम्रो तिरको पक्ष) सँग कुनै समन्वय, सहमति आवश्यक मुचुल्का विना नै कार्य गरेको छ। मतदान स्वच्छ बनाउने क्रममा तय गरिएअनुसार– बृद्ध, अपाङ्ग, असक्तको तर्फबाट निर्वाचन अधिकृत/समूहतर्फ मतदान गर्दा हाम्रो प्रतिनिधिहरुलाई सुजबुझ गर्न नदिई आफूखुसी हाम्रो विपक्षी उम्मेदवारहरुलाई मत संकेत गरेको बुझिएको छ।

'अनुपस्थित मतदाताहरुको नाममा (करिब ३२ जना) पक्षधर बनी विपक्षी तर्फबाट फर्जी मतदान गर्न दिइएको, हाम्रो तर्फको उम्मेदवार/प्रतिनीधिहरुको अनुपस्थितिमा मतदान गरिएको ८४ वटा मतपत्र गायव गरिएको दखिएको', उल्लेख गरेकाे छ। मतगणना गर्दा हाम्रो तर्फको उम्मेदवारको प्रतिनिधिहरुलाई उपस्थित हुन नदिनुको साथै निजहरुको कुनै पनि दावी/जिकिरलाई सुनुवाई नगरिएको, अनुपस्थित समयमा समेत मतगणना गरिएको छ।

विपक्षी उम्मेदवार र निजका प्रतिनीधिहरुले बढाई चढाई गरी गरेको मतगणनाको रेजा, अंकलाई मात्र मान्यता दिएको। उम्मेदवार र हाल एकतर्फी रुपमा घोषणा गरिएको जिल्ला सभापति किशोरकुमार आचार्यको आफ्नै छापाखानामा छपाई गरिएको मतपत्र र निजहरुको तर्फबाट प्रचारमा प्रयोग गरिएको मतपत्र तथा मतदान गरिएको मतपत्र हुबहु रंग आकार/प्रकारमा देखिएको र निर्वाचन तर्फबाट संचित गरिएको मतपत्र पनि सोही अनुसार देखिई अवस्था, परिस्थिति अनुसार मिसावट गरी, अर्धकट्टी र क्रमसंख्या समेतको कुनै रेकर्ड नरहेको लगायतका यावत आवश्यक विषय वस्तुहरुको विद्यमानता रहेको भनिएको छ।

प्रकाशित मिति: : 2021-11-26 17:49:00

प्रतिकृया दिनुहोस्