महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छः विष्णु रिमाल [अन्तर्वार्ता]

Breaknlinks Nepali
Breaknlinks Nepali

यतिखेर सबैको ध्यान नेकपा (एमाले)को दशौं महाधिवेशनतिर गएको छ। पर्यटकीय नगरी चितवनमा यही मंसिर १०– १२ गते सम्पन्न हुने दशौं महाधिवेशनको खर्च व्यवस्थापन गर्ने जिम्मा नेता विष्णु रिमाललाई छ। आर्थिक कमिटीका संयोजक रिमालले महाधिवेशनमा ७ करोड ५० लाख खर्च लाग्ने अनुमान गर्नु भएको छ। महाधिवेशन तयारीसँगै आर्थिक व्यवस्थापनलगायतका विषयमा केन्द्रित रही पत्रकार मोहन बास्तोलाले गरेको कुराकानी–


एमाले दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ। तपाईं मूल व्यवस्थापन कमिटीको सचिव समेत हुनुहुन्छ, व्यवस्थापनको तयारी के– के भैरहेको छ?

– मूल व्यवस्थापन कमिटीले कुन–कुन काम, कुन–कुन कमिटीले कहिलेसम्म सम्पन्न गर्ने भनेर ‘चेक लिष्ट’ बनाएर महाधिवेशन व्यवस्थापनको पाटोलाई अघि बढाएको छ। ‘चेक लिष्ट’को आधारमा पहिलो प्राथमिकता हामीले प्रतिनिधि छनौटलाई दिएका थियौं। प्रतिनिधि व्यवस्थापन कमिटीले प्रतिनिधिको नाम संकलन गर्ने काम करिब सम्पन्न गरिसकेको छ। अहिले प्रतिनिधि बन्दोबस्तीको काम भैरहेको छ। त्यो चरण सकिने क्रममा छ।

दोस्रोः महाधिवेशनको प्रचारको काम हो। त्यो काम पनि प्रचार कमिटीले केन्द्रमा के गर्ने, महाधिवेशन स्थलमा के गर्ने, प्रदेश, जिल्ला र स्थानीय तहमा के गर्ने भनेर कार्यतालिका बनाएर अघि बढाएको छ।

तेस्रोः महाधिवेशन स्थलको व्यवस्थापन हो। मुख्य गरेर बन्दसत्र र उद्घाटनका लागि हामीले ठाउँ बनाउनु पर्नेछ। महाधिवेशनका लागि उद्घाटन स्थल नयाँ सिर्जना गर्नुपर्ने भएकाले दक्ष प्राविधिक टोली खटाएर काम अघि बढाएका छौं। त्यसका लागि मञ्च व्यवस्थापन कमिटी र स्वयंसेवक टोली त्यसका लागि महाधिवेशन उद्घाटन स्थल चितवन नारायणी किनार र बन्दशत्र स्थल सौराहा पुगेको छ।

त्यो टोलीले मञ्च व्यवस्थापनलगायतको काम द्रुत गतिमा अघि बढाएको छ।पाँच लाख जन समुदाय महाधिवशेन उद्घाटन समारोहमा उपस्थित गराउने भनेर हामीले संख्या नै तोकेका छौं। त्यसैले मञ्च व्यवस्थापन पनि त्यसैलाई ध्यानमा राखेर निर्माण भइरहेको छ।

बन्दशत्रका लागि पनि त केही व्यवस्थापन गर्नुपर्ने होला नि?

– हो, बन्दशत्रका लागि हामीले सौराहाको सेभेन स्टार होटलमा व्यवस्थापन गरेका छौं। उक्त होटलमा करीब १ हजारदेखि १२ सयसम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ। थप प्रतिनिधिका लागि व्यवस्थापन गर्नुपर्ने हुन्छ। हामीले २ हजार भन्दा माथि २५ सय जति प्रतिनिधिको आंकलन गरेका छौं। त्यति प्रतिनिधि अट्ने स्थानको व्यवस्थापन गर्नुपर्ने भएकाले हामीले उक्त होटल परिसरमा पाल प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्दै छौं।

प्रतिनिधिका लागि आवास र खानाका लागि के– कस्तो व्यवस्थापन गर्नुभएको छ?

– प्रतिनिधिका लागि आवास र सांझ\बिहान खानाका लागि सौराहाका विभिन्न होटलमा ३५ सय जति बेडका लागि सम्झौता गरिसकेका छौं। उद्घाटनको भोलिपल्टदेखि दिउँस खानाका लागि सामूहिक व्यवस्था गरेका छौं। ११ गते बेलुका ऐक्यबद्धता साँझको रुपमा त्यहाँका स्थानीय नेताहरुको समेत उपस्थितिमा खानाको व्यवस्थापन गरेका छौं। बाँकी ब्रेकफाष्ट र सांझ खानाका लागि जुन होटलमा प्रतिनिधि राख्छौं, त्यही नै व्यवस्थापन गर्ने तयारी गरेका छौं।

उद्घाटन समारोहमा जन– परिचालनका लागि कस्तो तयारी गर्नुभएको छ?

– यो महाधिवेशनको मुख्य गरेर दुईवटा पाटा छन्। पहिलो शक्ति प्रदर्शन, दोस्रो नयाँ नेतृत्व चुन्ने। हामीले महाधिवेशन उद्घाटनमा न्युनतम पाँच लाख जनसमुदाय जम्मा गर्ने भनेर अंक तोकेका छौं। मेची–महाकालीसम्मका प्रतिनिधि, कार्यकर्ता र सुभेच्छुकलाई चितवनमा उपस्थित गराउन मूल व्यवस्थापन कमिटीका सह– संयोजक कमरेड सुरेन्द्र पाण्डेको नेतृत्वमा जन–परिचालन कमिटी गठन गरेका छौं। उहाँको नेतृत्वका कमिटी त्यो कामका लागि सक्रिय ढंगले लागेको छ। त्यसका लागि वडा, पालिका तहका निर्वाचन गर्ने, प्रतिनिधि छनौट गर्ने, प्रदेश, जिल्ला, पालिका, वडा भेला गर्ने जस्ता काम द्रुत गतिका साथ भैरहेका छन्। यो हिसाबले हामी मंसिर १० गते ठूलो जनसागर नारायणी किनारमा उतार्ने र नेकपा एमालेको १०औं महाधिवेशनको महत्व दर्शाउने तयारीमा छौं।

तपाईं आर्थिक कमिटीको संयोजक पनि हुुनुहुन्छ। आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ?

– आर्थिक पाटोमा हामीले गत तीनवटा महाधिवेशनको खर्चको पाटोलाई सिंहालवकन गर्‍यौं। त्यससँगै केही समयअघि मात्रै गोदावरीमा गरेको विधान महाधिवेशनको खर्चको पाटोलाई पनि हेर्‍यौं। यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले ३ ओटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौं। आठौं महाधिवेशनमा करीब २ करोड २५ लाख खर्च लागेको थियो। त्यो महाधिवेशनमा व्यापक रुपमा जन– परिचालन गरेका थियौं। त्यस्तै नवौं महाधिवेशनमा ४ करोड २५ लाख खर्च भएको थियो।

नवौं महाधिवेशन काठमाडौँ केन्द्रित भएकाले बुटवल जस्तो जन– परिचालन संभव भएन। विधान महाधिवेशनमा हामीले आवासको व्यवस्था गरेका थिएनौं। त्यो महाधिवेशनमा करीब ६ हजार ४ सय ३५ प्रतिनिधिको उपस्थिति रहेको थियो। त्यो महाधिवेशनमा करीब ५ करोड खर्च भएको थियो। यी तीन महाधिवेनको अंकलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग ७ करोड ५० लाख होला भन्ने आँकलन गरेका छौं। त्यसमा केही तलमाथि हुनसक्छ।

वल जस्तो जन– परिचालन संभव भएन। विधान महाधिवेशनमा हामीले आवासको व्यवस्था गरेका थिएनौं। त्यो महाधिवेशनमा करीब ६ हजार ४ सय ३५ प्रतिनिधिको उपस्थिति रहेको थियो। त्यो महाधिवेशनमा करीब ५ करोड खर्च भएको थियो। यी तीन महाधिवेनको अंकलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग ७ करोड ५० लाख होला भन्ने आँकलन गरेका छौं। त्यसमा केही तलमाथि हुनसक्छ।

आर्थिक स्रोतकोे आधार के हो?

– हामीले सबै भन्दा पहिला त प्रत्येक पार्टी सदस्यलाई न्युनतम १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेका छौं। पछिल्लो पटक नविकरण भएका पार्टी सदस्यको संख्या ८ लाख ५५ हजार ४ सय ५३ छ। यति पार्टी सदस्यले न्युनतम १ सय रुपैयाँ मात्रै सहयोग गर्नुभयो भने यो परिणाम ठूलो हुनेछ। त्यसबाट हामीले महाधिवेशन खर्चको व्यवस्थापन गर्ने भनेका छौं। यो नेपालमा रहेका पार्टीहरुका लागि समेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौं। यसले पारदर्शितालई पनि टेवा पुग्ने अपेक्षा गरेका छौं। हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौं, रसिद छापेका छैनौं। यो प्रयोग हामीले नयाँ गरिरहेका छौं।

नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षको इतिहासमा पहिलो पटक विद्युतीय मतदानको व्यवस्था गर्नुभएको छ। यो कत्तिको भरपर्दो र विश्वासिलो होला भन्ने ठान्नु भएको छ?

– एमालेले अहिले आफ्नो सबै काममा प्रविधिको भरपुर प्रयोग गर्दै आएको छ। यो पनि हामीले प्रविधिको प्रयोग गर्न खोजेका हौं। प्रविधिको युगमा हामी पनि प्रविधिमैत्री बन्नुपर्छ भनेर निर्वाचनमा कागजी भोटको प्रयोगलाई निधेष गर्न चोहेका हौं। हामीले नवौं महाधिवेशनमा विद्युतीय मतदान प्रयोग गर्न चाहेका थियौं। तर, विभिन्न कारणले सम्भव भएन, यो पटक हामीले त्यो प्रयोग गर्ने अन्तिम तयारी गरेका छौं। सबै नेताज्यूहरुले यसको प्राविधिक पक्षका बारेमा प्रष्ट हुन चाहनु भएको थियो। परिक्षणपछि उहाँहरु पनि सन्तुष्ट हुनुभयो र हामी ढुक्कका साथ यसको प्रयोगका लागि तयार भयौं।

हामी सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् र हुन्छ भन्नेमा छौं। यद्यपि, निर्वाचनकै प्रक्रियामा जानु पर्ने भयो भने यो प्रविधिको प्रयोग गर्ने भन्ने सम्पूर्ण तयारीमा छौं। यो प्रविधिको प्रयोगसँगै स्वच्छ निर्वाचन र परिणाम पनि छिटो प्राप्त हुनेछ। हामीले प्रविधिको प्रयोगबाट मतदानको व्यवस्थासँगै सबै प्रतिनिधिलाई तालिमको समेत व्यवस्था गरेका छौं। सबै प्रतिनिधि मतदानका लागि पूर्ण तयारी भएपछि मात्रै हामी मतदानका लागि भोटिङ मेसिनमा पठाउँछौं। यदि भोटिङ नै भयो भने करीब ८– १० घण्टामा मतदान प्रक्रिया सम्पन्न गर्ने र १२ गते साँझ नै परिणाम प्राप्त हुने हामीले आँकलन गरेका छौं। १३ गते पत्रकार सम्मेलन गरेर नयाँ नेतृत्वको घोषणासहित महाधिवेशन सम्पन्न गर्ने हाम्रो तयारी छ।

अध्यक्ष केपी शर्मा ओलीज्यू प्रधानमन्त्री रहेकै बेला पेपरलेस क्याविनेटको थालनी गर्नुभएको थियो। अहिले निर्वाचनमा पनि विद्युतीय मतदानमार्फत् पेपरलेसको अभियान अघि बढाउनुभयो। यो सोच त्यही बेलादेखिको हो?

– एमाले नेतृत्वको सरकारका पालामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नेतृत्वको मन्त्रिपरिषद्मा पेपरलेस अभियान चलाइएको थियो, यो सत्य हो। तर, जहाँसम्म महाधिवेशनमा ई– भोटिङको कुरा छ, मैले अघि पनि भने हामीले नवौं महाधिवेशनमै यसको प्रयोग गर्न चाहेका थियौं। पछि कमरेड केपी शर्मा ओली एमाले संसदीय दलको नेता निर्वाचित हुँदा हामीले ई– भोटिङको प्रयोग गरेका थियौं। संभवतः हामी नै पहिलो पार्टी हौं, ई– भोटिङ गर्ने।

सर्वसम्मत नेतृत्व छनोटको सम्भवना कत्तिको छ?

– वडा, पालिका तहका अधिकांश अधिवेशनमा उच्चसहमतिका साथ सर्वसम्मत नेतृत्व छनौट भएको छ। नेकपा एमाले धेरै ठाउंमा हण्डर– ठक्कर खाएर आएको पार्टी हो। त्यसैले अहिलेको महाधिवेशनमा नेकपा एमाले धुलो टकटक्याउंदै पुनर्रोदयको तहमा रहेकाले विगतमा प्यानल बनाएर चुनाव लडेको पिडा एमाले पंक्तिलाई छ। त्यसैले सकेसम्म हाम्रो पहिलो प्राथमिकता भनेको सर्वसम्मत रुपमा नै नेतृत्व छनोट गर्नुपर्छ भन्ने हो। अन्तिममा समझदारी भएन भने सौहार्दपूर्ण वातावरणमा निर्वाचनको प्रक्रिया अघि बढ्छ।

रिमाल आर्थिक कमिटी संयोजक हुन् | नवयुगबाट

प्रकाशित मिति: : 2021-11-18 22:02:00

प्रतिकृया दिनुहोस्