बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको फैसला सर्ने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी भारत प्रस्थान गरेपछि उक्त मुद्दाको फैसला सर्ने पक्का भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश सुवेदीको असोज १८ गतेको इजलाशले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु नेपाल र डा. भट्टराईलाई मुद्दा चलाउनुपर्ने कि नपर्ने भन्नेबारे निर्णय सुनाउने तिथि कात्तिक १५ गतेलाई तोकेको थियो।
सर्वोच्च अदालतसंबद्ध उच्च स्रोतका अनुसार, न्यायाधीश सुवेदी बिदा बसिसकेका छन्। उनी पारिवारिक कामको सिलसिलामा भारतको राजधानी नयाँदिल्ली गएका हुन्। उनी बुधबारै नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, उनी आफ्ना ससुराको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि नयाँ दिल्ली गएका हुन्। ‘अस्ति नै जाने कुरा थियो तर डाक्टरसँग सम्पर्क गर्दा दुई दिन ढिला भएको हो’, स्रोतले भन्यो, ‘उहाँ फर्किन १०–१२ दिन नै लाग्न सक्छ। त्यसैले यो मुद्दाको फैसला पनि सर्ने छ।’
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको जारी अभियानको भित्री सम्बन्ध यसै मुद्दासँग जोडिएको विश्लेषण न्यायिक क्षेत्रमा गरिँदै छ।