सत्ता गठबन्धनमा सहमति: आजै मन्त्रिपरिषद्‍ पूर्णताको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ। नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ। 

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन्। 

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ।

दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।

नेकपा (एस)ले टुङ्गो लगायो मन्त्रीको नाम, रामकुमारी स्वास्थ्यमन्त्री बन्ने

नेकपा (एकीकृत समाजवादी पार्टी)ले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरूसँगको संवादपछि चारैजना मन्त्रीको नाम टुंग्याएकाे हाे।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्रीको नाम पक्का भएको छ।

सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाइने भएको छ। खतिवडाले नै यो पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले बन्दैछन्। माधव नेपालले श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने भएका छन्।

राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको छ। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले यीनै नाममा लगभग सहमति भए पनि भोलि बिहान बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने जानकारी दिएका छन्।

माओवादी केन्द्रबाट मन्त्री बन्दै यी नेताहरू

नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेकाे छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको स्राेतकाे दावी छ।

यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन्।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको थियो।

प्रकाशित मिति: : 2021-10-08 06:54:00

प्रतिकृया दिनुहोस्