बारले भन्योः प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा कोटा खोज्नाले राष्ट्र नै असफल बन्ने खतरा बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डल विस्तारमा कोटा खोज्नुले राष्ट्र नै असफल बन्ने खतरा बढेको बताएको छ। 

जबराले क्याविनेटमा कोटा लिन लागेको भनेर आएका खबरहरुमा गम्भीर ध्यानाकर्षण जनाउँदै बारले यसले राज्यसंयन्त्रमै दखल पुग्ने बताएकाे छ।

बारले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने क्रियाकलापको सधै विरोध र भर्त्सना गर्ने जनाएको छ।

महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गरेर खबरहरुमा उल्लेख भएअनुसार प्रधानन्यायाधीशले कोटा लिने कुरा सत्य हो भने त्यो देशकै लागि चिन्ताको विषय हुने बताएका छन्।

'यदि यो सत्य हो भने अत्यन्तै असंवैधानिक र राज्यसंयन्त्रमै दखल पुग्ने, संविधानको घोर उल्लंघन भई चरम अराजकता बढ्ने र अन्तत असफल राष्ट्र बन्ने, बनाउनेतर्फ राजनीतिक दलका नेता तथा संवैधानिक जिम्मेवारीमा रहेकाहरु नै संलग्न रहनु कानून व्यवसायीहरु मात्र होइन आम नगरिकको पनि चिन्ताको विषय हो,' विज्ञप्तिमा भनिएको छ।

यस्तो संवैधानिक शासन व्यवस्थाको परिकल्पना नेपालको संविधानले मात्र होइन कुनै पनि संवैधानिक, कानूनी एवं राजनीतिक मान्य, सिद्धान्तले पनि नगरेको भन्दै विज्ञप्तिमा यस्तो स्थितिमा मुलकका जिम्मेवार संवैधानिक अंगका प्रमुखहरु नै यसतर्फ उन्मुख हुने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक र खेदजन्य रहेको उल्लेख छ।

प्रधानन्यायाधीशले न्यायपालिका सुधारका कार्यतर्फ उदासिन रही अन्य संवैधानिक निकायमा आफ्नो प्रत्यक्ष चासो र हस्तक्षेप बढाइरहेका कुराहरु यसअघि पनि आइरहेको र सर्वोच्च अदालतमै विवादहरु विचाराधीन रहेको अवस्था कार्यपालिकासँगसमेत आफ्नो भाग वा कोटा खोज्ने र उक्त कोटा दिन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरु तयार रहने कार्यबाट न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न गरेको बारको ठहर छ।

बारले खबरहरुमा आएजस्तो कार्य यदि कहिँ कतैबाट हुन लागेको वा भइरहेको भए तत्काल रोकेर शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राखी सुशासन कायम गर्न अनुरोध गरेको छ।

यो विषयलाई सामान्य रुपमा लिई अगाडि बढ्ने प्रयास भएमा न्यायपालिका र यसको नेतृत्वमात्र होइन सरकारविरुद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बारको चेतावनी छ। आन्दोलनमा साथ दिन कानून व्यवसायी र आम पेशा व्यवसायी, नागरिक समाजलगायत आम नेपाली नागरिकलाई बारले अपिलसमेत गरेको छ। 

प्रकाशित मिति: : 2021-10-04 16:30:00

प्रतिकृया दिनुहोस्