एमाले अध्यक्ष ओलीले एमसीसी उपाध्यक्षलाई भने, ‘एमसीसी पास गर्न सरकारसँगै पर्याप्त सङ्ख्या भएकाले होला, हामीसँग एप्रोच गरेको छैन’ 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिपक्षमा रहेकाले अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को सम्झौता पारित गर्न सरकारलाई आफूहरुको आवश्यकता नै नपरेको हुनसक्ने बताएका छन्। 

नेपालको चार दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेकी उपाध्यक्ष फातिमा जेड सुमारसँग भएको शिष्टाचार भेटघाटमा यस्तो बताएका हुन्। काठमाडौं उत्रिएपछि सबैभन्दा पहिला ओलीसँग भेटघाटका लागि उनको निजी निवास बालकोट पुगेकी थिइन्। 

भेटघाटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार, ओलीले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता (चार्टर) लाई संसद्बाट पारित गराउन अधिकतम प्रयास गरेको बताए। ‘हिजो हामी सरकारमा हुँदा अधिकतम प्रयत्न गरेका हौँ, सिनसियर प्रयास थियो हाम्रो’, ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ– क–कसले यसलाई रोके ? को–को यो हुँदैन भनेर लागे भन्ने पनि थाहा छ। सारभूत रुपमा तिनै मान्छे अहिलेको सरकारको ‘पोजिसन’ मा छन्।’ 

एमाले अहिले प्रतिपक्षमा पुगेकाले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको भूमिका सीमित हुने स्मरण गराए। ‘सरकारले एमसीसीबारे कुनै ‘पोजिसन’ बनाएको हामीलाई थाहा छैन। एमसीसीबारे के गरेको छ भन्ने हामीसँग छलफल गरेको पनि छैन’, ओलीले भने, ‘सरकारले एप्रोच पनि गरेको छैन। त्यस्तो बेलामा अहिले हामी प्रतिपक्षमा छौँ। लोकतन्त्रमा प्रतिपक्षी दलको भूमिका सीमित हुन्छ।’ 

एमसीसी पास गर्न अमेरिकाले बढायो दबाब : देउवा पास गर्ने पक्षमा, ओलीविरुद्ध गरेको प्रचारवाजी अब प्रचण्ड–नेपाललाई भारी

सरकारको तयारीबारे जानकारी नभएकाले आफूहरुले अहिले नै केही भन्न नसक्ने बताए। ‘पहिला सरकारको पोजिसन आओस्। उसले के भनेर आउँछ ?’, ओलीले भने, ‘शायद् सरकारलाई हाम्रो आवश्यकता नपरेको पनि हुनसक्छ किनभने ऊसँग संसद्मा पर्याप्त संख्या छ पास गर्नलाई।’ 

ओलीले सत्तारुढ दलहरुबीच सहमति भएर सहमति भएर गयो भने त्यो अत्यन्त राम्रो हुने बताएका थिए। ‘त्यसैले सरकारले आफ्नो धारणा नबनाई हामीसँग ‘एप्रोच’ नै नगरी पहिले नै हाम्रो पोजिसन यो हो भन्नु हतारो हुन्छ। अहिले हामी त्यस्तै भूमिकामा छौँ।’

उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता सुरु गरेकी छिन् । एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् । 

एमसीसी परियोजना नेपालबाट फिर्ता लैजाने अमेरिकी तयारी, उपाध्यक्ष फतिमाको भ्रमणमा ‘र्‍यापअप’ गरिने 

 

प्रकाशित मिति: : 2021-09-09 16:50:00

प्रतिकृया दिनुहोस्