वाईसीएलसामू प्रचण्डको गुनासोः ‘भ्रष्टाचारका फाइल खोल्न लागें, भ्रष्टहरूले सहेनन्, निकाले’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्।

पार्टीको भातृ संगठन वाईसीएल नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाईं सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको उनले बताए। 

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ। ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागें,’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे।’

आफूलाई शेरा दरबारसँग जोड्ने गरिएको उल्लेख गर्दै प्रचण्डले आफूले त्यसको फाइल खोल्न संसदमा पनि चुनौति दिएको बताए। उनले शेरा दरबारमा आफू जोडिएको भए फाइल खोल्न चुनौती दिए।

‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’ उनले भने, ‘तर उनीहरूले हिम्मत गरेनन्। किनकी मेरो केही थिएन। हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौं।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहोर्‍याए। समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाइ छ।

माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी भएको उनले बताए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस-एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे। आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे।

‘अब हामीले जनयुद्ध र जनआन्दोलनमा जस्तै हामी हाम्रै वर्गमा फर्किनु पर्छ भनेर जनतामा फर्किएको छ।’ हुलाकी मार्ग केन्द्रित अभियान र पार्टीका प्रदेश तहका कार्यक्रम त्यसैको प्रतिफल भएको प्रचण्डले बताए।

प्रकाशित मिति: : 2025-05-12 19:55:00

प्रतिकृया दिनुहोस्