आफैंले बनाएको सभाहलमा आवाज नसुनिएपछि ओली असन्तुष्ट, यसरी पोखे आक्रोश…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आफैंले बनाएको सभाहलमा आवाज राम्रो नसुनिएको भन्दै असन्तुष्टि पोखेका छन्।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै ओलीले अगाडिबाट बोलेको पछाडिकाले बुझ्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन्।

‘यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो,’ ओलीले भने, ‘तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुपर्ने यस्तो हल भनेको थिएन।’

त्यस्तै उनले सरकार लुम्बिनी गुरुयोजना अनुसार अगाडि बढिरहेको भन्दै गुरुयोजनाअनुसारका कामहरू छिटै पूरा गर्ने प्रयास रहने बताए।

उनले भाषा अनुवादको पनि सुविधा नरहेको भन्दै आगामी कार्यक्रममा त्यसको पनि व्यवस्थापन गरिने प्रतिवद्धता गरे। 

‘अर्को वर्ष अनुवादको सुविधा आदि सबै प्रबन्ध गर्नु पर्ने मलाई लागेको छ र त्यो प्रबन्ध हुनेछ। लुम्बिनी विकास कोषलाई म यतापट्टि विशेष ध्यानाकर्षण गर्न चाहन्छु कि सम्मेलनको प्रबन्धलाई अझ बढी सुव्यवस्थित गरियोस् र केही प्रमुख भाषाहरूको अनुवादको समेत प्रबन्ध गरियोस्। त्यसका लागि पनि ध्यान दिन जरुरी छ भन्ने म ठान्छु।’

यस्तो छ ओलीको असन्तुष्टि

पहिलो कुरा, म सरकारको तर्फबाट भन्न चाहन्छु, यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो। २०७३ सालमा बुद्धजयन्ती मनाउन यहाँ आउदा कुनै पनि सभा मनाउने संरचना थिएन। हामीले पाल टाँगेका थियौं। बिहानपखको हुरी, बतास र पानीले पाल पनि उडाइदियो, हामीले कार्यक्रम गर्ने भनेको ठाउँ पनि हिलाम्य भयो, सबै सहभागीहरूको जुत्तामोजा भिज्ने नै भयो तर पाइन्ट पनि हिलाम्मे पारेर त्यहाँ गएका थिए। त्यसपछि मैले भनेको थिएँ, अर्को वर्ष हामी कमसेकम तीन हजार जना बस्न मिल्ने अस्थायी हल निर्माण गरेर त्यसभित्र आनन्दले कार्यक्रम गर्नेछौं भनेर। तर, अर्को वर्ष आएन, अलिकति पछाडि म सरकारबाट हटें। त्यसको तीन महिना जति पनि भएको थिएन होला। त्यो काम बाँकी नै थियो र म २०७४ सालमा सरकारमा आएपछि २०७५ को बुद्धजयन्ती मनाउन पर्ने भयो। म २०७४ फागुनमा सरकारमा आएको थिएँ र मैले २०७५ वैशाखमा बुद्धको जन्मजयन्ती मनाउनका लागि तीन हजार क्षमताको एउटा हल तत्काल निर्माण गर्ने प्रबन्ध गरेँ र तीन हजार अट्ने हल निर्माण गर्‍यौं र त्यसमा कार्यक्रम मनायौं। त्यसपछि मैले यो पाँच हजार क्षमताको हलको सुरुवात गरेँ। तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नु पर्ने यस्तो हल भनेको थिएन। त्यसकारण म तपाईंहरूलाई भन्न चाहन्छु, अर्को वर्ष हामी यस ठाउँमा अन्तर्राष्ट्रियस्तरको बुद्धजयन्ती २६५० औं बुद्धजयन्ती मनाउने छौं र त्यति बेला यो इकोसिस्टम नसुन्ने होइन, छर्लङ्ग सुन्ने गरिको इकोसिस्टम विकास गरेर यस ठाउँमा कार्यक्रमको आयोजना गर्ने छौं। म तपाईंहरूलाई त्यो भनेर निवेदन गर्न चाहन्छु। यसपटक नबुझे पनि राम्रै भनेका होलन् भन्ने ठानेर चित्त बुझाउन आग्रह गर्न चाहन्छु। 

प्रकाशित मिति: : 2025-05-12 17:15:00

प्रतिकृया दिनुहोस्